दार्जिलिङ, १६ सेप्टेम्बरः हिमालयन ट्रान्सपोर्ट कोअर्डिनेसन कमिटीका अध्यक्ष एसएन प्रधानले वाहन चालक एवं सिन्डिकेट सञ्चालकहरूलाई आज अर्थात १६ सेप्टेम्बरदेखि दोब्बर भाड़ा नलिएर पहिलेकै दरमा भाड़ा लिने अपील गरेका छन्।
हिजो भोइस क्लिपमार्फत हिमालयन ट्रान्सपोर्ट कोअर्डिनेसन कमिटीअन्तर्गतका सम्पूर्ण सिन्डिकेट सञ्चालक र चालकहरूलाई वाहनमा पूर्ण क्षमताअनुसार यात्री बोक्ने तथा भाड़ा पहिलेकै दरमा लिने अपील गरेका हुन्।
भाड़ा दोब्बर नलिएर पहिलेकै दरमा लिने भएपछि यात्रीहरूलाई धेरै सञ्च भएको छ।
दोब्बर भाड़ालाई लिएर मानिसहरूका गुनासो प्रतिदिन चुलिँदै गइरहेको थियो।
उल्लेखनीय छ, कोरोना सङ्क्रमणका कारण कोविड प्रोटोकल्सलाई पालन गरी दार्जिलिङमा वाहनहरूले क्षमताको ५० प्रतिशत यात्री बोकेर दोब्बर भाड़ा लिइरहेका थिए।
बिस्तारै यो कोविड प्रोटोकल्स बजार, सरकारी वाहन र राजनीतिक कार्यक्रमहरूलाई पालन नगरिए पनि वाहनहरूमा यो नियम यथावत रहेको थियो, जसका कारण विशेष स्थानीय यात्रीहरूले चर्को समस्या भोग्दै आइरहेका थिए।
यसैले यस विषयलाई ध्यानमा राखेर हिमालयन ट्रान्सपोर्ट कोअर्डिनेसन कमिटीले पुलिस प्रशासनसँग कुराकानी गरी वाहनहरूमा पूर्ण क्षमताअनुसार यात्री बोक्ने र भाड़ा पहिलेकै दरअनुसार लिने निर्णय गरिएको एसएन प्रधानले जानकारी गराएका छन्।