बोनस बैठक विफल, भोलिदेखि श्रमिक सङ्गठनहरूले गेट मिटिङ गर्ने

0
813

दार्जिलिङ, १६ सेप्टेम्बरः पहाडका चियाकमानहरूका लागि आज दार्जिलिङमा बसिएको बोनस बैठक मालिकवर्गको लेँडे ढिप्पीका कारण विफल बनेको छ ।

मालिकवर्गले पहाडका चियाकमानहरूमा केवल १३.३३ प्रतिशतको दरले मात्र बोनस दिनसक्ने लेँडे ढिप्पी गरेपछि बोनस बैठक विफल बनेको हो ।

पहाडका चियाकमानहरूमा पनि तराई-डुवर्सका चियाकमानहरूमा जस्तै एकैपटकमा २० प्रतिशतको दरले बोनस दिनुपर्ने माग श्रमिक सङ्गठनहरूको छ । तर मालिकवर्ग भने २० प्रतिशतको दरले बोनस दिन इच्छुक देखिएको छैन ।

आजको बैठक विफल बनेपछि अब अर्को बैठक कहिले बसिने, त्यो पनि निश्चित छैन ।

अर्कोतर्फ बोनस बैठक विफल बनेपछि मालिकवर्गमाथि चाप सृष्टि गर्न श्रमिक सङ्गठनहरूले आन्दोलनमा ओर्लिने मुड बनाएका छन् ।

श्रमिक नेता समन पाठकका अनुसार २० प्रतिशत बोनस दरको मागमा भोलिदेखि श्रमिक सङ्गठनहरूले पहाडका चियाकमानहरूमा गेट मिटिङ गर्नेछन् ।

यसैबिच, तराई-डुवर्सका चियाकमानहरूमा २० प्रतिशतको बोनस तर पहाडका चियाकमानहरूमा केवल १३.३३ दिने मालिकवर्गको यो कस्तो व्यवहार भन्दै माकपा नेता समन पाठकले एउटै उद्योगका श्रमिकहरूलाई बोनसमा यस्तो भेदभाव किन भन्ने प्रश्न पनि गरेका छन् ।

स्मरणरहोस्, पछिल्लो साता नै तराई-डुवर्सका चियाकमानहरूमा २० प्रतिशतको दरले बोनस दिन मालिकवर्ग राजी भइसकेको छ ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here