जनजाति मान्यतामा मुख्य बाधा टीएमसी र ममता : कल्याण देवान

0
873

सिलगढी, १६ सेप्टेम्बर : भाजपा दार्जिलिङ जिल्ला समितिका अध्यक्ष कल्याण देवानले गोर्खा समुदायका ११ जातगोष्ठीले जनजातिको मान्यता नपाउनुमा राज्य सरकारलाई दोष्याएका छन् ।

उनको आरोपका अनुसार गोर्खाका ११ जातगोष्ठीले जनजाति मान्यता पाउनुमा मुख्य बाधा तृणमूल कङ्ग्रेस र राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी हुन् ।

आफ्नो आधिकारिक फेसबुक अकाउन्टमा एक पोस्ट लेख्दै देवानले दावी गरेका छन्- ‘पश्चिम बङ्गालको तृणमूल सरकारले भारतको रेजिस्ट्रार जनरल अव् इन्डियालाई नियमानुसार गोर्खाहरूलाई जनजातिको मान्यताका लागि चाहिएको एन्थ्रोपोलोजिकल रिपोर्ट नबुझाइएका कारण नै भारत सरकारलाई गोर्खाहरूलाई जनजातिको मान्यता दिनमा वैधानिक अडचन भइरहेको छ ।’

कल्याण देवानले फेसबुक पोस्टमा थप लेखेका छन् – ‘त्रिपक्षीय वार्तामा केन्द्र सरकारले आरजीआईलाई निम्त्याउनुको उद्देश्य पनि यही अपुरो दस्तावेज बारेमा छलफल गरेर अडचन हटाउनु थियो। यसरी छुटेका गोर्खाहरूलाई जनजातिको मान्यता नपाउनुका मूल कारण राज्य सरकारको गोर्खाहरूप्रतिको कप्टी नीति हो। तृणमूल सरकारले न त्रिपक्षीय वार्तामा नै भाग लियो न त २०१४ मा आरजीआईको सुझाउ अनुसार हाम्रो एन्थ्रोपोलोजिकल रिपोर्ट नै बुझायो । यसकारण जनजातिको विषयमा मुख्य बाधा पनि तृणमूल र ममता ब्यानर्जी हो भन्ने सबैले बुझ्नुपर्छ ।’

अर्कोतर्फ भारत सरकारले छुटेका गोर्खाहरूलाई जनजातिको मान्यता प्रदान गर्ने प्रक्रिया जारी राखेको दावी देवानको छ ।

‘अरूलाई दियो भन्दैमा हामीलाई नदिने रहेछ भन्नु युक्तिका कुरा होइन’, उनको दावी छ, ‘यसरी जनजाति दिँदै जाँदा एकदिन अवश्य गोर्खाको पनि पालो आउँछ । तर नकारात्मक विचारले त दुश्मनलाई नै बल र फाइदा हुन्छ ।’

स्मरणरहोस्, मोदी मन्त्रिमण्डलले पाँच राज्यका १५ जातिलाई जनजातिको मान्यता दिएपछि भाजपाको गोर्खाहरूप्रतिको नियतलाई लिएर अहिले विभिन्न प्रश्न उठिरहेका छन् ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here