दार्जीलिङ, 16 अक्टोबर : वरिष्ठ साहित्यकार इन्द्रबहादुर राईको स्मृतिमा प्रकाशित ‘इन्द्राख्यान स्मृतिविम्बमा’-को सार्वजनिकरण गर्न मङ्गलवार दार्जीलिङ आइपुगेका साहित्यकार कृष्ण धरावासीले नेपाली साहित्यमा दार्जीलिङको महत्त्व ठूलो रहेको बताए।
तेस्रो आयाम र लीला लेखनजस्ता दुई साहित्यिक सिद्धान्तको जन्मस्थान रहेकोले समग्र नेपाली साहित्यमा दार्जीलिङको महत्त्व एकदमै ठूलो रहेको उनले भनाइ थियो।
यसका साथै उनले इन्द्र ट्रस्टमार्फत् साहित्यकार इन्द्रबहादुर राईलाई अमर राख्नुपर्ने पनि परिवारपक्षसमक्ष सुझाउ राखे। इन्द्रट्रस्टमार्फत एउटा छुट्टै स्मृति कक्ष निर्माण गरी त्यहाँ राईका कृति र प्रतिमासहित राखिएको खण्डमा उनलाई अध्ययन गर्नचाहने साहित्यकार र विद्यार्थीहरू लाभान्वित हुने साहित्यकार धरावासीले बताए।
888 पृष्ठको इन्द्राख्यानको हिजो वरिष्ठ कवि एवं तेस्रो आयामका तीन प्रणेतामध्ये एक वैरागी काइँलाको हातबाट लोकार्पण गरियो। लोकार्पण कार्यक्रम दार्जीलिङको लोचनगरस्थित स्व. राईकै घरमा आयोजन गरिएको थियो।
कार्यक्रममा नेपालबाट साहित्यकारद्वय वैरागी काइँला र कृष्ण धरावासीलगायत कृष्ण बराल, रत्नमणि नेपाल मुनाराज सेरमा, कुमार भट्टाराई, पर्वत पोर्तेल, मञ्जु विमाली तथा दार्जीलिङबाट मनप्रसाद सुब्बा, गोकुल सिन्हा, एम पथिक, टेकध्वज जिम्बा ‘आशा’, मिलन बान्तवा र योगिता राई उपस्थित थिए।
कार्यक्रममा राईका परिवारका सदस्यहरू पनि उपस्थित थिए भने परिवारको पक्षमा चन्द्र प्रकाश राईले उपस्थित साहित्यकारहरूलाई स्वागत जनाउँदै कृति प्रकाशनबारे आफ्नो मन्त्व्य राखेका थिए।
प्रमुख अतिथि वैरागी काइँलाले साहित्यकार स्व. राईमाथि बोल्दै संक्षिप्त रूपमा विचार राखे। यसअवधि उनी केही भावुक देखिए।
उनले तेस्रो आयामअघि र यसपछिका इन्द्रबहादुर राईको लेखनबारे बोल्दै भने, ‘तेस्रो आयामभन्दा अघि लेखिएको उपन्यास ‘आज रमिता छ’-मा उनले (राईले) प्रयोग गर्नु भएको भाषा, तरिका, वाक्य संरचनाका रूपहरू विचित्रका छन्।’
काइँलाले राईका समालोचक व्यक्ति र नेपाली साहित्यको अध्ययन तथा तेस्रो आयाम लेखनको मुख्य ध्येयबारे बुझाएका छन्। कार्यक्रममा साहित्यकार डा. गोकुल सिन्हाले पनि आफ्नो विचार राखेका थिए। कार्यक्रमलाई मणिकुमार प्रधानले अध्यक्षता गरेका थिए भने सबिता सङ्कल्पले सञ्चालन गरेकी थिइन्।
स्मरण रहोस्, ‘इन्द्राख्यान स्मृतिविम्ब’-लाई नेपालका साहित्यकार रत्नमणि नेपालले सम्पादन गरेका छन्।