कालेबुङ, 16 अक्टोबर : सोचनीय अवस्थामा पुगेको चिया उद्योगलाई बचाउनका लागि केन्द्र सरकारले सहयोग प्रदान गर्नुपर्ने माग मार्क्सवादी कम्युनिस्ट पार्टी (माकपा) नेता तारा सुन्दासले गरेका छन्। उनका अनुसार जसरी अटो मोबाइल इण्डस्ट्रिजलाई बचाउनका लागि केन्द्र सरकारले सहयोग गर्यो, त्यस्तै सहयोग चिया उद्योगलाई बचाउनका लागि पनि गर्नुपर्छ।
“हरेक चियाकमानको अवस्था दयनीय छ”, माकपा नेता सुन्दासले भने। उनले चिया उद्योगलाई बचाउनका लागि केन्द्र सरकारले अहिलेसम्म कुनै प्रकारको पहल नगरेको पनि बताए।
“अटो मोबाइल इण्डस्ट्रिजमा मन्दी आउँदा वित्त मन्त्रालयले मानिसहरूलाई वाहन किन्नका लागि सत्तो दरमा लोन दिनु भनेर ब्याङ्कहरूलाई कड़ा आदेश दिन्छ। तर, बन्द भएका चियाकमानहरूलाई चलाउनका लागि केन्द्र सरकारले अहिलेसम्म कुनै प्रकारको कदम चालेको छैन”, बुधवार कालेबुङमा पत्रकारहरूलाई सम्बोधन गर्दै सुन्दासले थपे, “हाम्रो प्रश्न छ, 8 लाख 40 हजार मानिस आश्रित उत्तर बङ्गालका चियाकमानहरूमा 12 सय मानिस खानु नपाएर मरेको विषयमा केन्द्र सरकारले कुनै प्रकारको कदम नचाल्नु दुःखको कुरा हो।”
अर्कोतिर, उनले दार्जीलिङ पहाड़का नेताहरूले सही तथ्य नजानीकनै जे पायो त्यो बोलेर आफ्नो राजनीतिक चेतनाको स्तर देखाइरहेको पनि बताए। यसका साथै सांसदहरूले (लोकसभा र राज्यसभा दुवै)-ले आरोप-प्रत्यारोपपूर्ण बयानबाजीलाई त्यागेर ‘केन्द्र सरकारले आर्थिक समस्याको सामना गरिरहेका उद्योगहरूलाई सहयोग गर्ने’ कुराको सोधीखोजी गरी चिया उद्योग बचाउनका लागि पहल गर्नुपर्ने कुरामा जोड़ दिए।
यसैगरी तारा सुन्दासले पत्रकार सम्मेलनअवधि बीएसएनएलका कर्मचारीहरूले भोगिरहेका समस्यालाई पनि उठाएका छन्।
उनका अनुसार बीएसएनएलका कर्मचारीहरूले जनवरी 2019 देखि अहिलेसम्म वेतन नपाएको पनि बताए। “तरै पनि बीएसएनएलका कर्मचारीहरूले आजसम्म पनि काम गरिरहेका छन्”, उनले थपे, “यद्यपि यसका लागि कसैले बोलेका छैनन्। के बीएसएनएलमा तृणमूल कङ्ग्रेसको सङ्गठन छ भनेरै नबोलेका हुन् त?”
यो मुद्दामा उनले भाजपा र दार्जीलिङका सांसद राजु विष्टलाई सुन्दासले घेरेका छन्। 9 महिनासम्म बीएसएनएलका कर्मचारीहरूले वेतन नपाउँदा पनि राजु विष्टले एक शब्द नबोलेकोमा सुन्दासले कटाक्ष गरे।