सिलगढ़ी, 16 अक्टोबर : बाघको छाला, हड्डी र खोपड़ीसहित दुई भूटानी नागरिक पक्रा परेका छन्। जानकारीका अनुसार उनीहरूलाई बेलाकोबा फरेस्ट रेञ्जका अधिकारीहरूले भारत-भूटान सीमा हासीमाराबाट पक्राउ गरेका हुन्।
बेलाकोबा फरेस्ट रेञ्जका रेञ्जर सञ्जय दत्तका अनुसार गोप्य सूचनाको आधार तथा उत्तरी क्षेत्रका मुख्य संरक्षक जेबी छेत्रीको अनुमतिमा एक टीमले अभियान लगाएर बाघका छाला, हड्डी र खोपड़ीसहित दुई भूटानी नागरिकलाई मङ्गलवार बेलुकी करिब 5 बजे पक्राउ गरिएको हो। करिब 6 घण्टा ढुकेर बसेपछि उक्त टीमले यो सफलता प्राप्त गरेको हो।
दत्तले थप बताएअनुसार करिब 5 बजे महिलासहितको एक समूहलाई बेलाकोबा फरेस्ट रेञ्जका अधिकारीहरूको टीमले देखे तापनि महिला र दुई अन्य भाग्न सफल भए। यद्यपि उक्त टीमले दुई अन्यलाई भने पक्राउ गर्यो।
उनीहरूबाट करिब 14 फुट लामो बाघको छाला, थुप्रै हड्डी र खोपड़ी बरामद भएको छ। पक्रा परेका यी दुई भूटानी नागरिकको नाम योङ्बा नानङ्ग र नामगे वाङ्दी रहेका छन्।
जानकारीका अनुसार उनीहरूले यसलाई बिक्रीका लागि काठमाडौंतर्फ लगिरहेका थिए। बेलाकोबा फरेस्ट रेञ्जका अधिकारी सञ्जय दत्तका अनुसार असमबाट ल्याइएको उक्त बाघको छाला, हड्डी र खोपड़ी काठमाडौंनिवासी कुमारलाई 32 लाख बेच्नका लागि लगिरहेका थिए। बाघको छालामा दुई ठाउँमा गोलीको निशान पनि देखिएको छ।
उल्लेखनीय छ, उत्तर बङ्गालमा वन्य जीवहरूको तस्करी बढ़ेपछि अहिले वन विभागका अधिकारीहरू यसतर्फ सतर्क बनेका छन्। उनीहरूले यस्ता तस्करीका घटनाहरूमाथि गिद्दे दृष्टि राखेका छन्।