विमल गुरुङलाई पहाड़ फर्काउने व्यवस्था भारत सरकारले चाँड़ै गर्नेछः राजु बिष्ट

0
1039

सिलगढ़ी, 16 अक्टोबरः पछिल्लो गोर्खाल्याण्ड आन्दोलनदेखि भूमिगत अवस्थामा रहेका विमल गुरुङलाई पहाड़ फर्काउने व्यवस्था भारत सरकारले चाँड़ै गर्ने दावी सांसद राजु बिष्टले गरेका छन्।

आज तराईका विभिन्न स्थान र चियाकमानको भ्रमणावधि उनले निरपानीमा यस्तो दावी गरेका हुन्।

निरपानीका जनतालाई सम्बोधन गर्दै बिष्टले भने, “हामी सबै चाहन्छौँ, विमल दाजु चाँड़ै फर्किऊन्। त्यसको पनि व्यवस्था भारत सरकारले चाँड़ै गर्नेछ।”

यसका साथै उनले गोर्खा समुदायका 11 जातगोष्ठीलाई जनजातिको मान्यताको प्रक्रिया पनि चलिरहेको र त्यसको घोषणा कहिले हुन्छ, त्यसबारे अहिले नै भन्नचाहेनन्।

यद्यपि आउने दिनमा पक्कै जनजातिको मान्यता भने पाउने सांसदको ठोकुवा छ।

त्यसैगरी उनले स्थायी राजनीतिक समाधान अवश्यै हुने र गोर्खाले पक्कै न्याय पाउने आश्वासन दिए।

“एक सय वर्षको समय लागिसकेको छ। आजको भोलि नै ले भन्दा हुँदैन। यो कुरा बुझ्नुपर्छ। यहाँ पनि राजनीति हुँदैछ। राजनीति गर्ने व्यक्तिहरूले आजको भोलि नै ले भन्दै आफ्नो राजनीतिक रोटी सेक्ने कोशिश गर्दैछन्”, राजु बिष्टले थपे, “हो, भाजपालाई सघाएको धेरै वर्ष भइसक्यो। तर आज जति पनि नेताहरू स्थायी राजनीतिक समाधानका बारेमा बोल्दैछन्, उनीहरू आफ्नो राजनीतिक रोटी सेक्नका लागि बोल्दैछन्।”

उनका अनुसार एक सयभन्दा बढ़ी भएको गोर्खाहरूको मागको समाधानका लागि भाजपालाई दोष्याउनु अन्याय हो। किनभने केन्द्रमा भाजपा सरकार आएको 7 वर्ष मात्र भएको छ।

यद्यपि भाजपा सरकार गोर्खाहरूका प्रमुख मुद्दाहरूको समाधान गर्न प्रतिबद्ध रहेको ठोकुवा पनि दोहोऱ्याए। साथै बङ्गालका अन्य दलहरूप्रति कटाक्ष गर्दै ‘गोर्खाहरूलाई विदेशी भनेर केन्द्रमा पत्र लेख्ने यी दलहरू नै रहेको’ बताए।

अर्कोतिर, आफू सांसद बनेको डेढ़ वर्ष मात्र भए पनि पहिलो दिनदेखि गोर्खाहरूका सबै प्रकारका मुद्दाहरूलाई संसदमा उठाइरहेको पनि राजु बिष्टले बताए।

“आज आफ्नो राजनीतिक फाइदा र व्यक्तिगत स्वार्थपूर्तिका लागि जातिलाई बाँड्ने कार्य हुँदैछ’’, उनले थपे।

यसैबीच, उनले गोर्खा समाजमा फाटो रहेको बताउँदै जब जब गोर्खा हितको कुरा आउँछ, तब सबै एकबद्ध हुनुपर्ने कुरामा पनि जोड़ दिए।

आज सांसद राजु बिष्टले तराईका विभिन्न स्थान र चियाकमानहरूको भ्रमण गरे। यस अवसरमा अलिपुरद्वारका सांसद जोन बारला पनि उपस्थित थिए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here