पोस्टर टाँस्नेहरूलाई विमलले दिए धन्यवाद, भने – म आउने खबरले उनीहरू भयभित हुन्छन्, आएको दिन अवस्था के हुन्छ ?

0
1963

गोजमुमो प्रमुख विमल गुरुङ (फाइल फोटो)।
दार्जीलिङ, १६ नोभेम्बर : कालेबुङ र खरसाङमा आफूहरूविरुद्ध जनताको नाममा टाँसिएको पोस्टरको पछि जीटीए -२ को हात रहेको गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो)–का प्रमुख विमल गुरुङले बताएका छन्। आफ्नो दललाई पोस्टर एउटै टाँस्न पुलिसले नदिइरहेको बताउँदै यस्तो बेला यसरी जीटीए -२ ले पोस्टर टाँसेर आफ्नो, रोशन गिरी र मुकुल रोयको विज्ञापन गरिदिएको भन्दै गुरुङले धन्यवाद दिएका हुन्।
उनले भनेका छन्, “हामीलाई एउटा पोस्टर टाँस्न पनि दिँदैन। पुलिसले पक्राउ गरिहाल्छ। मुकुल रोय, म र रोशनविरुद्ध पोस्टरिङ भएछ। खुशी लाग्यो, पोस्टरिङ गरेर हाम्रो विज्ञापन गरिदिएछ। जसले पनि पोस्टरिङ गरेका हुन्, उनीहरूलाई धेरै धेरै धन्यवाद।’’
सोमवार पोस्टरमाथि प्रक्रिया व्यक्त गर्दै उनले जनसंवादलाई भोइस क्लिप पठाएका छन्, जुन भोइस क्लिपमा उनले भनेका छन्, “म आउँछु भन्ने कुरा सुन्दैमा उनीहरूलाई यति पीर मर्का हुँदो रहेछ। म व्यावहारिक र शारीरिक रूपमा  साँच्चै पहाड़ आएपछि उनीहरूको अवस्था, दिन के कस्तो हुन्छ भन्ने कुरा समयमा नै चाल पाउनेछ। किनभने खाएको विष लाग्छ, नखाएको विष लाग्दैन। हामीले कुनै प्रकारको नराम्रो गरेका छैनौं। हामीले राम्रै काम गरेर अघि बढ़िरहेका छौं।’’
गुरुङले भोइस क्लिपमा आफूहरू जाति उन्मुक्तिका लागि लड़ाइँ लड़िरहेको दाबी गरेका छन्। “जाति उन्मुक्तिका लागि लड़ाइँ आज हामी त्यसै लड़ेका होइनौं। भात खानु र गोजी भर्नका लागि राजनीति गरेका होइनौं। र कसैलाई मारेर राजनीति गरेका छैनौं’’, उनले भने।
गुरुङका अनुसार मदन तामाङ हत्याकाण्ड र सुवास घिसिङलाई पहाड़बाट खेदुवा लगाउने कार्य उनीहरूले गरेको दाबी गरेर त्यो पोस्टरिङ जीएनएलएफले गरेकोजस्तो देखाएको छ। “तर त्यो पोस्टर जीएनएलएफले गरेको होइन’’, उनले भनेका छन्, “हामीलाई थाहा यो जीएनएलएफले पोस्टरिङ गरेको होइन, यो पोस्टरिङ जीटीए -2, विनय-अनितले गर्नु लगाएको हो।’’
विमल गुरुङले समयले सबै कुराको छिनाफिना गर्ने विश्वास पनि व्यक्त गरेका छन्। साथै मदन तामाङको हत्याकाण्डमा नाम परेका युवाहरू विनय-अनितसँग हिँड़िरहेको तथा विनय खेमाको महकुमा र समष्टि कमिटीका अध्यक्ष पदहरूमा बसिरहेको दाबी गरेका छन्।
“मदन तामाङ हत्याकाण्डमा कसले माऱ्यो? कसले निर्देश दियो? कसले बतायो? कसले के गऱ्यो? भन्ने सबै कुरा उनीहरूकै गुटलाई सोध्दा हुन्छ। त्यहीं वरिपरि छ त। विमल गुरुङलाई आज सोध्ने कुरै छैन’’, उनले थपे, “यदि  मैले निर्देश दिएको हो भन्ने उनीहरूले पक्का रूपमा भनोस्। मैले निर्देश दिएको टाइमटेबल, रेकर्ड सबै प्रस्तुत गरोस्। म त्यसको लागि हाजिर हुन्छु। म त्यसका लागि फाँसी चढ़न पनि तयार छु। मैले त्यसै सीबीआई जाँच मागेको होइन। सीबीआई जाँच माग्ने म हुँ। अरूले मागेको होइन।’’
गुरुङले आफू जीटीएको पदमा हुँदा पनि  मदन तामाङ हत्याकाण्डको सीबीआई जाँच हुनुपर्ने माग गरेको पनि भोइस क्लिपमा दाबी गरेका छन्। मदन तामाङ हत्याकाण्डमा संलग्न र लिप्त रहेका मानिसहरूले आज जीटीए -2 मा रहेको विमलको आरोप छ। उनले सीबीआईको दण्डमा को को पर्छन्, त्यो समयमा नै थाहा पनि बताएका छन्।
“ढिलो छिट्टो मात्र हो, अहिले उनीहरू निक्कै कराउँदैछ, चिच्चाउँदैछ। मलाई मदन तामाङ हत्याकाण्डमा फाँसी चढ़ाउँछ भने पनि चढ़ाओस्, तर म यो हत्याकाण्डमा एक सिता पनि संलग्न छुइनँ’’, गुरुङले भनेका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here