पोस्टरमा सुवास घिसिङको प्रसङ्गले बिच्कियो गोरामुमो, नीरज जिम्बाले भने – जनताको नाम गरेर सुवास घिसिङको नामलाई कसैले दुरुपयोग नगरून्

0
2616
गोरामुमो नेता नीरज जिम्बा (फाइल फोटो)।
खरसाङ, १५ नोभेम्बर :  खरसाङ र कालेबुङमा जनताको नाममा टाँसिएको पोस्टरमा आफ्नो पार्टीका संस्थापक प्रमुख स्व. सुवास घिसिङ घिसिङको प्रसङ्ग उल्लेख भएकोले यसप्रति गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो) -ले तीखो शब्दमा भर्त्सना र आपत्ति जनाएको छ। साथै जनताको नाम गरेर सुवास घिसिङको नामलाई कसैले दुरुपयोग नगर्ने गोरामुमोले सुझाएको छ।
सोमवार जनसंवादसँग विशेष कुराकानी गर्दै गोरामुमोका नेता नीरज जिम्बाले यस्तो कार्यको विरोध तथा आपत्ति जनाएका हुन्। उनले भने, पोस्टर जीएनएलएफले टाँसेको होइन। यसरी अरूले जनताको नाम लगाएर टाँसेको पोस्टरमा गोरामुमो पार्टी र गोर्खाल्याण्डका जन्मदाता सुवास घिसिङको नाम र प्रसङ्ग उल्लेख गर्नु उनको र गोरामुमो पार्टीको बदमान गर्नु खोज्नु हो। हामी यस्ता कार्यको तीखो शब्दमा विरोध गर्दछौं। आपत्ति जनाउँदछौं।’’
जिम्बाले यसरी जनताको काँधमा बन्दुक राखेर पड़्काउन खोज्ने र भ्रान्ति सिर्जना गरेर जनतालाई अन्योलमा पारी राजनीतिक फाइदा उठाउन खोज्नेहरूबाट सबै सतर्क हुनुपर्ने पनि बताए।
“गोरामुमोले प्रतिशोधको राजनीतिमा विश्वास गर्दैन। गोरामुमोको राजनीति लक्ष्य भनेको गोर्खाहरूको सुरक्षा र सुन्दर भविष्य हो। न त गोरामुमोले यसरी जनताको नाममा पोस्टर टाँसेर भ्रम सिर्जना गर्छ न यस्ता कार्यको समर्थन नै गर्छ’’, उनले थपे, “गोरामुमो जनताको आवाज बोकेको पार्टी हो। जनता अघि गएर आफ्नै नाममा कार्य गर्छ। लुकेर गर्दैन।’’
‘सुवास घिसिङलाई पहाड़बाट खेदिएको’ भन्ने प्रसङ्गप्रति पनि जिम्बाले आपत्तिले जनाएका छन्। उनले भने, “सुवास घिसिङ कसैले खेदाउँदा खेदिने व्यक्ति थिएनन्। उनलाई कसैले खेद्नसक्ने पनि होइन। उनले त पहाड़मा शान्ति चाहेकोले झैझगड़ा नहोस् भनी पहाड़ छोड़ेका थिए। सुवास घिसिङ गोर्खाको हित र सुरक्षाका लागि कतिसम्म इमानदार र चिन्तित थिए भन्ने कुरा अहिले पहाड़वासी बुझिरहेका छन्।’’
एक प्रश्नको उत्तरमा जिम्बाले पहाड़वासी भ्रम सिर्जना गर्ने, अफवाह फैलाएर आफ्नो रोटी सेक्ने राजनीतिक पार्टीहरूसँग सतर्क रहनुपर्ने बताएका छन्। “प्रोपगाण्डा फैलाउने पार्टीहरूकै कारण दार्जीलिङको यो अवस्था भएको हो’’, उनले भने।
“दार्जीलिङमा कसको जनाधार बलियो चुनाउले देखाउनेछ’’
एक प्रश्नको उत्तरमा जिम्बाले पहाड़मा कसको जनाधार त्यो आगामी चुनाउले स्पष्ट पार्ने बताएका छन्। ‘गोरामुमो गोजमुमोका लागि फ्याक्टर होइन’ भन्ने विनय तामाङपन्थी गोर्खा जनमुक्ति मोर्चाको बयानप्रति प्रतिक्रिया व्यक्त गर्दै यस्तो बयान दिएका हुन्।
उल्लेखनीय छ, केही दिनअघि विनयपन्थी गोजमुमो दार्जीलिङ महकुमा समितिका प्रचार प्रसार सचिव सन्दीप छेत्रीले पत्रकारहरूलाई सम्बोधन गर्दै गोजमुमोका लागि आगामी चुनाउमा गोरामुमो कुनै फ्याक्टर नहुने बयान दिएका थिए। यसै बयानमाथि प्रतिक्रिया व्यक्त गर्दै कुन पार्टीसँग कति जनाधार छ त्यो कुरा आगामी चुनाउमा दूधको दूध, पानीको पानी हुने जिम्बाले बताएका छन्।
चुनाउअघि भाजपाले गोर्खा हितमा ठोस कार्यपर्ने माग
भारतीय जनता पार्टी (भाजपा)-ले गोर्खा हितमा ठोस कार्य गरेर मात्र दार्जीलिङ लोकसभा सीटमा चुनाउ जित्ने सपना देख्नुपर्ने गोरामुमो नेता नीरज जिम्बाको सुझाउ छ। उनले भने, “भाजपाले दुईपटक गोर्खालाई सपना देखाएर चुनाउ जित्यो, तर देखाएको सपना दुईपटकै पूरा गरेन। सन् २००९ –मा भाजपा सरकारमा आएन, त्यतिबेला केही भन्नु थिएन। तर २०१४ मा पूर्ण बहुमतमा आउँदा पनि यसले गोर्खाहरूका लागि केही गरेन। देखाएको सपना पनि आजसम्म बिर्सेको छ।
उनका अनुसार यदि भाजपाले आफूलाई गोर्खाहरूको हितैषी ठान्छ भने चुनाउ अघि नै गोर्खाहरूका लागि केही राम्रो गर्नुपर्छ। “भाजपासँग अझै समय छ, यो समयभित्रै गोर्खाका लागि केही गर्नुपर्छ’’, उनले थपे, “भाजपा विमलमय मात्र भएर हुँदैन गोर्खामय हुनुपर्छ। दुईपटक धोका दिइसकेको भाजपाले पुनः गोर्खाहरूलाई छक्याउन खोजे दार्जीलिङबाट प्रधानमन्त्री नरेन्द्र मोदीले चुनाउ लड़े पनि हार्नेछन्। किनभने गोर्खाहरू त्यतिसाह्रो मूर्ख छैनन्।’’

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here