शहीदको सालिक छेल्नगरी गाड़िएको फलामे संरचनालाई यथाशीघ्र हटाउने माग

0
1210
ज्ञापन चढाउँदै च्याँगा नारी सेवा समितिकी अध्यक्षा।

सिलगढ़ी, 16 नोभेम्बर: कारगिल युद्धमा देशका लागि प्राणको बलिदान दिने शहीद सुरेश छेत्रीको सालिकलाई उपेक्षा र अवहेलना गरी लगाएको विज्ञापन होर्डिङ हटाए तापनि विज्ञापन होर्डिङ लगाउनका लागि गाड़िएको फलामे खुट्टी (संरचना) भने आजसम्म हटाइएको छैन। जसको कारण शहीद छेत्रीको सालिकलाई ओझेलमा पर्ने होर्डिङ फेरि टाँगिने आशङ्का छ।

यस विषयमा शुक्रवार गैरसरकारी सङ्गठन च्याँगा नारी सेवा समितिले नक्सलबारीका खण्ड विकास अधिकारीलाई एक ज्ञापन चढ़ाएको छ। शहीदको सालिकअघि रहेको फलामे खुट्टी (संरचना)-लाई चाँड़ोभन्दा चाँड़ो हटाएर उक्त क्षेत्रमा विज्ञापनका होर्डिङहरू टाँग्न कठोर रूपमा प्रतिबन्ध लगाइनुपर्ने समितिले ज्ञापनमा माग गरेको छ।

उल्लेखनीय छ, देशका लागि प्राणको आहुति दिने वीर जवान शहीद सुरेश छेत्रीको सालिकलाई छल्ने गरी सड़क किनारमा ठूलो आकारको होर्डिङ लगाइएको थियो। यद्यपि  परिवारपक्ष, नागरिक समाज र सङ्घ-संस्थाहरूले यस्तो कार्यको तीव्र रूपमा विरोध जनाएका थिए।

वास्तवमा शहीदको सालिकलाई छल्नेगरी टाँगिएको उक्त होर्डिङबारे जनसंवादले 2 सेप्टेम्बरको दिन समाचार छापेर सम्बन्धित निकाय र प्रशासनको ध्यानार्कषण गराएको थियो। यसपछि उक्त विज्ञापनको होर्डिङलाई 4 सेप्टेम्बरको दिन हटाइएको थियो। तर होर्डिङ टाँग्नका लागि गाड़िएकअ फलामे संरचना भने त्यसबेला हटाउन सकिएको थियो।

यसैले 76-77 दिन बितिसक्दा पनि उक्त फलामे खुट्टी जस्तोको त्यस्तै रहेपछि यसप्रति सम्बन्धित निकाय र प्रशासनको ध्यानाकर्षण गराउँदै च्याँगा नारी सेवा समितिले पुनः नक्लबारी खण्डविकास अधिकारीलाई ज्ञापन चढ़ाएको हो।

यसबारे बोल्दै समितिकी अध्यक्षा दिवाकरी छेत्रीले भनिन्, “उक्त फलामे संरचना सम्बन्धित निकायले हटाउन्छ भनेर दुई महिनाभन्दा धेरै समयसम्म पर्खियौं। तर, आजका दिनसम्म यसबारे कुनै पहल भएन। यसैले हामीले यसबारे पुनः ज्ञापन चढ़ाएका हौं। हामीलाई खण्ड विकास अधिकारीले यसलाई शीघ्रै हटाउने आश्वासन दिएका छन्। यसैले आउँदा 15 दिनसम्म पर्खिने निर्णय गरेका छौं।”

छेत्रीका अनुसार समितिका सदस्यहरूले यो कार्यका लागि खण्ड विकास अधिकारीलाई 15 दिनको समय दिएका छन्। यसैले यो समयावधिभित्र पनि उक्त फलामे संरचना नहटाएको खण्डमा प्रतिवादस्वरूप र्‍याली र आन्दोलन शुरु गर्ने चेताउनी सदस्यहरूले दिएका छन्।

अर्कोतिर, यससम्बन्धमा बोल्दै खण्ड विकास अधिकारी बापी धरले यो विषयलाई गम्भीरतापूर्वक लिएको बताए। साथै फलामको उक्त संरचना हटाउनका लागि ग्राम पञ्चायत प्रधानलाई कठोर निर्देश दिने बताएका छन्।

“सालिकअघि होर्डिङ लगाइनु गैरकानुनी हो। कसले यस्तो कार्य गरेको हो, त्यसको हामी खोजी गर्नेछौं”, खण्ड विकास अधिकारीले भने।

उल्लेखनीय छ, नक्सलबारीस्थित ताराबारीनिवासी नागा रेजिमेन्टका जवान सुरेश छेत्री कारगिल युद्धअवधि जुलाई 1999 को दिन शहीद भएका थिए। यसपछि उनकी श्रीमती र परिवारपक्षद्वारा नक्सलबारी खण्ड विकासअघि साथभैया मोड़मा शहीद छेत्रीको सालिक स्थापित गरिएको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here