दार्जिलिङ, १६ नोभेम्बरः दार्जिलिङ शहरदेखि करिब ३ किलोमिटर टाढ़ा रहेको कञ्चनभ्यु चियाकमानका प्रबन्धकको बङ्ग्लो जलेर खरानी भएको छ।
हिजो (सोमबार) मध्यराति लागेको आगोले उक्त बङ्ग्लो जलेर खरानी भएको यसै चियाकमानका सहप्रबन्धक पासङ लामाले जानकारी गराएका छन्।
आगो के कारण लागेको हो, त्यसबारे भने आफू अनभिज्ञ रहेको पनि उनले बताएका छन्।
उल्लेखनीय छ, करिब दुई महिनादेखि कञ्चनभ्यु चियाकमान अचल अवस्थामा छ। यसैले यस चियाकमानका कारखानामा कोही पनि बस्दैन थिए।
सहप्रबन्धक लामाका अनुसार तिहार अघिसम्म यस बङ्ग्लोमा चौकीदार बस्दै थिए, तर तिहारपछि ती चौकीदारले पनि बङ्ग्लोको चौकीदारी गर्न छाड़ेका थिए।
जानकारीका अनुसार घटनाको जानकारी पाएपछि हिजै राति दार्जिलिङ अग्निशमन विभागका कर्मीहरू आगो निभाउन गएका थिए, तर उनीहरू घटनास्थलमा पुग्दा बङ्ग्लो जलेर खरानी भइसकेको थियो।