गान्तोक, 17 जनवरी : एसडीएफ पार्टीले आगामी सरकार सिक्किमे जनताको इच्छा र सपनाअनुसार बनाउने प्रतिबद्धता व्यक्त गरेको छ। बिहीवार पूर्व सिक्किमको रोड़ाथाङमा आयोजित जनता मेला समारोहलाई सम्बोधन गर्दै एसडीएफ पार्टी अध्यक्ष तथा राज्यका मुख्यमन्त्री पवन चामलिङले भने, “एसडीएफ पार्टीले आगामी सरकार सिक्किमे जनताको इच्छा र सपनाअनुसार बनाउनेछ। हामी जनतालाई न्याय दिने सरकार बनाउनेछौं। तपाईंहरूले मलाई विश्वास गर्नुहोस्।”
मुख्यमन्त्री चामलिङले कुन ठीक र कुन बेठीक भन्ने कुरालाई जनताले समयमै बुझ्नुपर्ने बताए। सरकार जनताको भोटले गठन हुने भएकोले जनताले राम्रो तथा सिक्किम र सिक्किमे जनताको हित र भलाई चाहने पार्टीलाई भोट हाल्नुपर्ने उनको भनाइ थियो।
“सरकार सिक्किमे जनताको भोटले बनिन्छ। मेरो भोटले होइन। कुनै नेता-मन्त्रीको भोटले सरकार बनिने होइन। त्यसैले असली मालिक जनता हुन्। यो कुरा सबै जनताले बुझ्नुपर्छ। सिक्किमलाई सपार्नेको हातमा सत्ता दिने कि बिगार्नेको हातमा दिने, यो जनताको हातमा छ। एसडीएफ सरकारले गत 24 वर्षदेखि सिक्किमलाई सपार्ने काम गरेको छ। सिक्किमे जनताको भलाई हुने काम गरेको छ” -उनले भने।
सरकारद्वारा प्रदान गरिने सहुलियत थाप्न पाँचवटा निर्वाचन क्षेत्रबाट बाक्लो सङ्ख्यामा उपस्थित जनतालाई सम्बोधन गर्दै चामलिङले एकातिर आज परोक्ष रूपमा विपक्षी दल सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम)-को खोइरो खने भने अर्कोतिर एसडीएफ सरकारले गत 24 वर्षमा गरेको विकासका कार्यहरूको संक्षिप्त नालीबेली पनि केलाए।
विपक्षी एसकेएम पार्टीप्रति आक्रामक देखिएका मुख्यमन्त्रीले ‘सिक्किम बिगार्न उद्दत एसकेएम पार्टी’-सँग जनतालाई सतर्क बन्ने आह्वान गरे। साथै एसडीएफ सरकारले गरेका विकास कार्यबारे मन्थन गर्नुपर्ने सुझाए। मुख्यमन्त्रीले यसअवधि गत 12 जनवरी एक परिवार एक नोकरी योजनाअन्तर्गत नोकरी पाएकाहरूको नोकरी पाँच वर्षपछि स्वतः स्थायी हुने आज दोहोर्याए। उनले पाँच वर्षपछि स्थायी हुने नीति बनाएरै रोजगार दिएको र एक परिवार एक नोकरीअन्तर्गतका रहल नोकरीको नियुक्ति आगामी चुनाउअघि दिने बताए।
जनतालाई अन्यायको विरोध गर्ने मुख्यमन्त्रीको आह्वान
मुख्यमन्त्री चामलिङले जनता मेलालाई सम्बोधन गर्दै सिक्किमे जनतालाई अन्याय सहन नगर्ने तथा सबैखाले अन्यायको विरोध गर्ने आह्वान गरे। उनले भने, “सिक्किमे जनताले कसैको पनि अन्याय सहनु हुँदैन। अन्यायको विरोध जनताले गर्नुपर्छ। पञ्चायत, एमएलए र मन्त्रीहरूले अन्याय गरे तपाईंले विरोध गर्नुहोस्। अन्याय गरे जनताले मुख्यमन्त्रीको पनि विरोध गर्नुपर्छ।”
जनताले चुपचाप अन्याय सहिबस्दा र विरोध नगर्दा अझ हेपाइमा पर्ने हुनाले जनताले अब अन्याय सहन गर्न नहुने बताए। यसअवधि उनले दिग्भ्रमित पार्ने राजनीतिक पार्टी र सधैँ जनतालाई छल्ने र ढाँट्ने ‘शोषक’-हरूबाट होशियार बस्न सुझाए।
एसडीएफको विकल्प नरहेको दाबी
राज्यका विपक्षी राजनीतिक दलहरू सिक्किम र सिक्किमे जनताको हित र सुरक्षाविरुद्ध रहेको मुख्यमन्त्रीले आरोप लगाए। उनले एसडीएफबाहेक सिक्किम र सिक्किमे जनताको हित, सुरक्षा र समृद्धिका लागि अर्को विकल्प राजनीतिक दल नरहेको दाबी गरे।
“चुनाउअघि सपना देखाएर ढाँट्दै हिँड़्ने, परिवर्तन भन्ने पार्टीहरू चुनाउपछि हराउनेछन्। सिक्किमका अन्य जति पनि राजनीतिक पार्टी छन्, ती सबै गुण्डागर्दी फैलाउने, आतङ्क मच्चाउने पार्टीहरू हुन्” -उनले भने। यस अवसरमा उनले परोक्ष रूपमा घरीघरी एसकेएमको खोइरो खने भने एसकेएम-एचएसपीको गठनबन्धनको पहलमाथि पनि कटाक्ष गरे।
मुख्यमन्त्रीले भने, “गुण्डा पार्टीको हातमा सरकार गयो भने कस्तो हुन्छ, त्यो जनताले बुझ्नुपर्छ। सरकारमा नआइकनै काट्ने-मार्ने कुरा गर्दैछ। राज्यका कर्मचारीहरूलाई बेइज्जत गर्दैछ। यस्ता गुण्डा र भ्रष्टाचारी पार्टीबाट जनता होशियार बस्नुपर्छ।”
एसकेएम पार्टीप्रति परोक्ष रूपमा कटाक्ष गर्दै भने, “त्यो पार्टीमा राज्यका गुण्डा र भ्रष्टाचारीमात्र छन्। त्यो पार्टीका नेता नै एक वर्ष जेल बसेर आएका हुन्।” उनले एसकेएमका नेताहरूको ट्र्याक रेकर्ड आफूसँग रहेको बताए। “गुण्डा पार्टीका सबैको हिसाब-किताब मसँग छ। उनीहरूको चिट्ठा मेरो मुट्ठीमा छ”-मुख्यमन्त्रीले भने।
“जनता भन्छन्, मुख्यमन्त्री ठीक छन्”
आफ्नो पाँच वर्षको कार्यकाल सिक्किम र सिक्किमे जनताको सुरक्षा र समृद्धिका लागि बिताएको चामलिङको दाबी छ। आज जनता मेलालाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन्। आफ्नो सम्बोधनमा चामलिङले भने, “मुख्यमन्त्री र सरकार ठीक छन्, तर अन्य कामदारहरू ठीक छैनन् भन्ने कुरा जनताले गर्दैछन्। यो समस्त सिक्किमे जनताको मत हो। उनीहरूलाई थाहा छ मुख्यमन्त्री र सरकारको तलका केही कामदारले ठीक काम गरेका छैनन्।”
यस अवसरमा चामलिङले आफूले सिक्किमे जनताले जस्तो काम गर्न लगाए, त्यस्तै काम गरेको दाबी गरे। “मैले पाँच वर्षको कार्यकालमा नोक्सान हुने काम गरेको छुइनँ। नाफा हुने काम नै गरेको छु। सिक्किमलाई बिगारेको छुइनँ, सपारेर माथि पुर्याउने काम गरेको छु। मैले सिक्किम र सिक्किमे जनताको सेवा गरेको छु। हित र भलाई हुने काम गरेको छ। 24 वर्षमा जनताको जीवन कस्तो भयो, त्यो तपाईंहरूले सोच्नुहोस्। मलाई तपाईंहरूले जस्तो काम गर्न लगाउनुभयो, त्यस्तै काम गरेको छु”-उनले भने।
यसअवधि अहिलेसम्म एसडीएफले गरेका कार्यहरू नै यसको सन्देश रहेको बताए। साथै उनले पार्टीभित्र हुने चुनावी चलखेल र गुटबाजीका लागि परोक्ष रूपमा पार्टी कार्यकर्ता र नेताहरूलाई खबरदारी पनि गरे। “हाम्रो पार्टीका कार्यकर्ता र नेताहरूले सिक्किमे जनतालाई माथि उठाउनका लागि एसडीएफ पार्टीमा छौं भन्ने सोच्नुपर्छ, चुनाउमा उठ्नका लागि होइन”-उनले भने।
पार्टीका संस्थापक सदस्यहरूलाई सक्रिय बन्न अपील
रोड़ाथाङमा सम्पन्न जनता मेलाको मञ्चबाट मुख्यमन्त्रीले आफ्नो पार्टीका संस्थापक सदस्यहरूलाई पुनः पार्टीमा सक्रिय बनेर खट्ने अपील गरे। उनले भने, “हाम्रो पार्टी पुरानो र ठूलो पार्टी हो। कतिजना पुराना साथीलाई अन्याय भएको होला। हाम्रो सरकारसँग मनदुख नगर्नुहोला। तपाईंहरू पुनः पार्टीमा सक्रिय भएर खटिदिनुहोला।”
चामलिङले यो अपील विशेषगरी रिनाक क्षेत्रका संस्थापक सदस्यहरूलाई गरेका थिए। यो अपील एसडीएफ पार्टीका ती संस्थापक सदस्यहरूलाई थियो, जो अहिले मौन बसेका छन्। रिनाकमा एसडीएफ पार्टीको हारका कारणहरूमध्ये एक संस्थापक सदस्यहरूको निष्क्रियता पनि रहेको चामलिङको भनाइको सङ्केत थियो।
आफ्नो सम्बोधनमा मुख्यमन्त्रीले एसडीएफ सरकारको शासनकालमा सिक्किमले गरेको उन्नतिका लागि आफू अत्यधिक खुशी रहेको र यो उन्नतिलाई अझ उँचाइमा पुर्याएर विश्वमै सिक्किमलाई नमुनाको रूपमा दहर्याउनु आफ्नो लक्ष्य रहेको बताए।
उनले सिक्किम 100 वर्षको शैक्षिक इतिहासमा शतप्रतिशत साक्षर राज्य बन्ने विश्वकै पहिलो राज्य भएको तथा सरकारको आगामी लक्ष्य सिक्किमको शैक्षिक स्तरलाई विश्वमै अब्बल बनाउनु रहेको पनि बताए। यस अवसरमा पाँचै क्षेत्रका लाभार्थीहरूलाई मुख्यमन्त्री चामलिङले हात हातमा सहुलियत वितरण गरे।
यसैअवसरमा मुख्यमन्त्रीले रम्फूको चानाटार विद्यालय र रोड़ाथाङ विद्यालयको बढ़ोत्तरीको घोषणा पनि गरे।