सिलगढ़ी, 16 जनवरीः जाँगर र इच्छा भए जुनै कार्यमा पनि सफलता हात पार्न सकिने कुरालाई कृषक मनोज सरकारले प्रमाणित गरेका छन्। जलपाइगढ़ी जिल्लास्थित राजगञ्ज ब्लकको अमबारीनिवासी सरकार पेशाले कृषक हुन्।
पछिल्ला केही समयता जैविक खेतीमा लागिपरेका उनले जुन परिणाम र आकारका फूलकोपी उब्जाइरहेका छन्, त्यो देखेर अन्य कृषकहरू दङ्ग परिरहेका छन्। आफ्नो जैविक खेतीको परिणाम देखेर स्वयं मनोज पनि दङ्ग छन्।
उनको जैविक खेतीमा फूलकोपी 10-12 किलोग्रामको फलेका छन्।
उनले उब्जनी गरेका फूलकोपीको आकार र ओजन हामीले बजार हुँदी देख्नगरेका फूलकोपीभन्दा धेरै ठूलो छ। मनोज पछिल्ला 8 वर्षदेखि यो पेशामा एकचित्त भएर खटिरहेका छन्।
उचित पद्धतिअनुसार कृषिकार्य गर्नैका लागि उनले उत्तर बङ्ग विश्वविद्यालयस्थित सेन्टर अफ फ्लोरिकल्चर एण्ड एग्री-बिजनेस म्यानेजमेन्ट (सीओएफएएम)-बाट प्राविधिक र अन्य ज्ञान लिइरहेका छन्, जुन ज्ञानलाई उनले जैविक खेतीमा राम्रोगरी प्रयोग गरिरहेका छन्।
बिहीवार मनोजले केही अर्ग्यानिक सब्जीहरू उत्तर बङ्ग विश्वविद्यालयमा रहेको ‘कोफाम’-को कार्यालयमा ल्याएका थिए, जहाँ उनले फलाएको फूलकोपीले सबैलाई आकर्षित गरेको थियो।
उल्लेखनीय कुरा के छ भने उनले फलाएका जैविक फूलकोपी 8 किलोग्रामभन्दा एउटै कम ओजनका थिएन। ठूलो आकारको फूलकोपीको ओजन 12 किलोग्राम थियो।
यसैबीच, सिलगढ़ीमा शुद्ध जैविक सब्जी, फल र अन्य पारम्परिक सामग्रीहरू बेच्ने राखिने आइतावारे हाटका मुख्य संयोजक राज बसुले आज सीएएफएएमको कार्यालय भ्रमण गरेका थिए।
उनी पनि मनोज सरकारलगायत अन्य कृषकहरूले फलाएका सब्जीहरू देखेर छक्क परेका थिए।
बसुका अनुसार उनले ती कृषकहरूलाई आफ्नो उत्पादन आइतवारे हाट ल्याउने आग्रह गरेका छन्। ताकि यी सब्जीहरू सोझै ग्राहकहरूलाई बिक्री गर्न पाउँदा कृषकहरूले बढ़ी पैसा कमाउन सक्नेछन्।
अहिले खुद्रा बिक्रेता र थोक बिक्रेताहरूलाई बिक्री गर्दा यी कृषकहरूले आफ्नो उत्पादनको भनेजस्तो पैसा पाउन नसकिरहेको उनको भनाइ छ।
अर्कोतिर, सीओएफएएमको बायोटेक्नोलजी शाखाका प्राविधिक अधिकारी अमरेन्द्र पाण्डेले आफूहरूले इच्छुक कृषकहरूलाई जैविक खेतीसम्बन्धी तालिम र सहयोग प्रदान गर्दै आएको बताए।
उनका अनुसार कृषकहरूलाई सबै प्रकार तालिम र सहयोग गरिँदै आइरहेको छ।