घोष र विष्ट दुवैका बयान दुर्भाग्यपूर्णः भुवन पी. खनाल

0
1136
भुवन पी. खनाल।

कालेबुङ, 17 जनवरीः विनयपन्थी गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) प्रवक्ता भुवन पी. खनालले पछिल्लो गोर्खाल्याण्ड आन्दोलनमा प्राणको आहुति दिने शहीदहरूप्रति आपत्तिजनक बयान दिने भाजपा बङ्गाल प्रदेश अध्यक्ष दिलीप घोष र घोषको बयानको बचाउ गर्ने सांसद राजु विष्टको तीखो शब्दमा आलोचना गर्दै दुवै भाजपा नेताको बयानलाई दुर्भाग्यपूर्ण बताएका छन्।

पश्चिम बङ्गाल राज्य भाजपा अध्यक्ष दिलीप घोषले गोर्खाहरूप्रति जुन अपमानजनक बयान दिएका छ्न्, त्यसको म तीव्र निन्दा गर्छु।

“आफ्नो जातीय अस्तित्व र अस्मिताका लागि प्राणको बलिदान दिने 11 गोर्खा शहीदप्रति जुन प्रकारको भाजपा अध्यक्ष घोषले टिप्पणी गरेका छन्, त्यो अत्यन्त निन्दनीय छ”, खनाले थप भनेका छन्, “राज्य अध्यक्षजस्तो पदमा बसेका व्यक्तिले यस प्रकारको बयान दिनु अशोभनीय हो। यस बयानबाट स्पष्ट हुन्छ भाजपा-को गोर्खाहरूप्रति हेर्ने नजर ठीक छैन। गोर्खाहरूलाई सम्मानको नजरले हेर्न नसक्ने भारतीय जनता पार्टीले जहिले पनि गोर्खाहरूको भावनासँग खेलवाड़ गर्ने काम गरिरहेको छ।”

यसैबीच, उनले दिलीप घोषले यथाशीघ्र आफ्नो बयान फिर्ता लिनुपर्ने माग पनि गरेका छन्। साथै गोर्खाहरूका त्याग, बलिदान अनि गोर्खाल्याण्डको आन्दोलनलाई दिलीप घोषहरूले गहिरो अध्ययन र चिन्तन गर्न आवश्यक रहेको बताएका छन्।

अर्कोतिर विनयपन्थी मोर्चा नेता खनालले सांसद राजु विष्टको पनि आलोचना गरेका छन्। उनले भनेका छन्, “भाजपा अध्यक्षले दिएको बयानको विरोध गर्नुको सट्टा उनको बचाउ र मिडियामाथि दोष लगाएर गोर्खा पुत्र सांसद राजु विष्टले जुन बयान जारी गरेका छन्, यसबाट स्पष्ट हुन्छ सांसद बिष्ट पनि पहाड़का जनता, गोर्खा र जनभावनासित अहिले पनि परिचित छैनन्। उनको बयानले एकजना जिम्मेवार सांसदको सोच पनि आफ्नै गोर्खा दाजु-भाइहरूप्रति कस्तो रहेछ भन्ने कुरा स्पष्ट रूपमा झल्किन्छ।”

उनले भाजपाले जनभावनाको नाममा भोट हत्याउने कार्य मात्र गरेको र गोर्खाहरूप्रति कहिले इमानदार नरहेको कुरालाई पहाड़वासीले बुझ्नुपर्ने बताएका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here