लाङ्पीका गोर्खाहरूलाई “नेपाल जा” भन्ने विधायकले मागी माग्नुपर्ने विनय तामाङको माग, भने- माफी नमागे हामी न्यायालय जान पनि हिच्किचाउने छैनौं

0
1300
विनय तामाङ (फाइल फोटो)

दार्जीलिङ, 17 फरवरी : मेघालयको लाङ्पी क्षेत्रका विधायक किम्फा मार्बनियाङले उक्त क्षेत्रका गोर्खाहरूसँग सँगै भारतभरिका गोर्खाहरूसँग माफी माग्नुपर्ने माग गोर्खा जनमुक्ति मोर्चा (दोस्रो खेमा)-का अध्यक्ष विनय तामाङले गरेका छन्।

लाङ्पी क्षेत्रका गोर्खाहरूलाई “नेपाल जा” भन्ने ती विधायकले माफी नमागे उनीविरुद्ध न्यायालय जानसमेत नहिच्किनाउने चेताउनी पनि दिएका छन्।

आइतवार एक प्रेस विज्ञप्ति जारी गरी विनय तामाङले भनेका छन्, “विधायक किम्फा मार्बनियाङको गोर्खाहरूप्रतिको उक्त तिरस्कारपूर्ण एवं गैर-जिम्मेवारपूर्ण वक्तव्यको हामी घोर विरोध गर्दछौं। देशप्रति निष्ठा, भक्ति अनि इमानदारिता राख्ने भारतीय गोर्खाहरूप्रति यति गैर-जिम्मेवारपूर्ण धम्की दिनु उनलाई कदापि सुहाउँदैन। यसैले लाङपी, मेघालय अनि असम क्षेत्रमा सैयौं वर्षदेखि बसोबासो गर्दै आइरहेका ती गोर्खाहरूसितै समग्र भारतभरिका गोर्खाहरूलाई माफ माग्दै विधायक किम्फा मार्बनियाङले आफ्नो उक्त वक्तव्य तुरून्तै फिर्ता लिनुपर्ने हामी माग गर्दछौं।”

केही दिनअघि असम र मेघालयको सीमान्त लाङ्पी क्षेत्रका गोर्खाहरूलाई त्यहाँका विधायकले “नेपाल जा” भनेको भिडियो सोशल मिडियामा भाइरल भइरहेको छ। भारतीय गोर्खाहरूलाई नेपाल नागरिक भनेर “नेपाल जा” भन्ने ती विधायकको उक्त लाञ्छनार तिरस्कारपूर्ण व्यवहारप्रति विनय तामाङले तीखो शब्दमा निन्दा गर्दै माफी माग्नुपर्ने माग गरेका हुन्।

भिडियोमा स्थानीय गोर्खाहरूले ती विधायकको बयानप्रति तीखो शब्दमा आपत्ति जनाउँदै आफूहरू नेपाल नागरिक नरहेर भारतीय गोर्खाहरू रहेको ओठे जवाफ फर्काएका छन्। एकजुट भएर विरोध गर्ने ती गोर्खा युवाहरूको ती विधायकले चर्को विरोध सहेका छन्।

“मेघालयका गोर्खाहरूको त्यहाँका अन्य रैथानेहरूको जत्तिकै योगदान रहेको छ। आफ्नो माटोलाई आमा सम्झेर गोर्खाहरूले खून-पसीना बहाएर त्यहाँको भूमि सिँचेका छन्। यसैले त्यहाँका गोर्खाहरूलाई पनि अन्य नागरिकहरूलाई जत्तिकै उनीहरूलाई अधिकार छ। यो उनीहरूको संवैधानिक अधिकार पनि हो। एकजना विधायकले भारतको संविधानभन्दा माथि उक्लेर गोर्खाहरूलाई नेपालको नागरिक बताउँदै नेपाल जा भन्ने कुनै नैतिक अधिकार रहेको छैन”, विनय तामाङले विज्ञप्तिमा थप भनेका छन्, “गोर्खा जनमुक्ति मोर्चा सम्पूर्ण भारतेली गोर्खाहरूको पक्षमा विधायक किम्फा मार्बनियाङको उक्त धम्कीपूर्ण वक्तव्यको घोर प्रतिवाद जनाउँदै तुरून्तै आफ्नो वक्तव्य फिर्ता लिनुपर्ने माग गर्दछ। यसो नगरिएको खण्डमा देशभरिका गोर्खाहरू उनको विरोधमा सड़कमा ओर्लिनेछ।”

तामाङले गोर्खाहरू स्वाधीन भारतको निर्माण हुनअघि नै बसोबास गर्दै आएको बताएका  छन्। साथै भारत मातालाई आफ्नो मातृभूमि सम्झिएर स्वाधीनता सङ्ग्राममा धेरै गोर्खाहरूले रगतको बलिदान दिएका छन्।

विज्ञप्तिका अनुसार देशको सुरक्षाका लागि हरेक सीमा क्षेत्रमा अहिले पनि गोर्खाहरू इमानदारपूर्वक तैनाथ छन्। अझै पनि देशका लागि गोर्खाहरू शहीद भइरहेका छन्। गोर्खाहरूमाथि विदेशी अथवा अन्य लाञ्छना लगाउनु अघि यो कुराको ध्यान राख्नु आवश्यक छ।

“यस्तै प्रकारका लाञ्छनाहरूबाट बाँच्न गोर्खाहरूले दीर्घकालदेखि राष्ट्रिय चिह्नारी अनि राष्ट्रिय सुरक्षाका लागि आन्दोलन गर्दै आइरहेका छन्। भारतभित्रका गोर्खा नागरिकहरूको राष्ट्रिय चिह्नारी, अधिकार अनि नागरिकताको सुरक्षा गरिनुपर्छ भन्ने गोर्खा जनमुक्ति मोर्चाको पनि माग रहेको छ। आफ्नो स्थापनाकालदेखि नै लगातार रूपमा गोजमुमोले यो माग उठाउँदै आइरहेको छ”, उनले भनेका छन्, “केन्द्रमा सत्तासीन भाजपा सरकारलाई त धेरै अघिदेखि नै यस विषयमा अनेकौं ज्ञापन सुम्पिसकेका छौं भने हालैमा तेस्रो मोर्चा गठबन्धनमा सामेल हुनअघि गोजमुमोको तर्फबाट चढ़ाइएको प्रस्ताव-पत्रमा समेत पहिलो नम्बरमै प्राथमिकताको साथमा गोर्खाहरूको राष्ट्रिय सुरक्षा अनि चिह्नारीको कुरा उल्लेख गरेका छौं।”

भारतको कुनै पनि प्रान्तमा गोर्खाहरूमाथि यस प्रकारको व्यवहार गरिएमा गोर्खा जनमुक्ति मोर्चाले कदापि सहन नगर्ने विनयको दाबी छ। यसैले लाङपीको उक्त घटनाको घोर भर्त्सना जनाउँदै विधायक किम्फा मार्बनियाङले स्थानीय गोर्खाहरूप्रति गरेको उक्त दुर्व्यवहारका लागि तत्कालै माफी नमागे उनीहरू विधायक मार्बनियाङविरूद्ध न्यायालय जान पनि नहिच्किचाउने विनय तामाङले चेताउनी दिएका छन्।

यसका साथै उक्त घटनाको विरोधमा सम्पूर्ण देशभरिका गोर्खाहरू एकबद्ध भइ आवाज उठाउनुपर्ने तथा गोर्खाहरूको आत्मसम्मानमा चोट पुऱ्याउने ती विधायकविरुद्ध कारबाही गर्ने मेघालय सरकारलाई विनय तामाङले अपील गरेका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here