दार्जीलिङ, १७ फरवरीः पछिल्लोपटक ट्वीटमार्फत गोर्खाल्याण्ड युनियन टेरिटोरीको वकालती गर्ने भारतीय जनता पार्टीका वरिष्ठ नेता एवं राज्यसभा सांसद सुब्रमण्यम स्वामीले संसदमा छुट्टै राज्य गोर्खाल्याण्डको मुद्दा उठाउने वचनबद्धता जाहेर गरेका छन्।
सोमवार विमलपन्थी गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो)-का कार्यकारी अध्यक्ष डा. लोप्साङ लामा र नारी मोर्चा नेतृ उर्मिला रूम्बाले स्वामीसँग भेटवार्ता गरेका थिए।
यसै भेटवार्ताअवधि स्वामीले गोर्खाल्याण्डको मुद्दालाई सदनमा राख्ने वचन दिएको लोप्साङ लामाले बताएका छन्। यी भाजपा नेताले गोर्खाल्याण्ड मुद्दाप्रति लगातार सक्रियता देखाइदिएकोमा उनलाई टोलीले आभार प्रकट पनि गरेको छ।
विमलपन्थी मोर्चाका कार्यकारी अध्यक्ष लामाका अनुसार भेटवार्ताअवधि सुब्रमण्यम स्वामीले आफू गोर्खाल्याण्डको मुद्दाप्रति अवगत रहेको र यस मुद्दालाई हृदयबाटै समर्थन गरेको पनि जनाए।
बजेट सत्रको रहल सत्रमा गोर्खाल्याण्ड मुद्दाबारे संसदमा कुरा राख्ने वचन उनले टोलीलाई दिएको बताइएको छ।
यसका साथै आउँदो मई महिनामा उनको संस्थाद्वारा दार्जीलिङमा एक सभा राख्ने तथा छुट्टै राज्य गोर्खाल्याण्डको मुद्दा पार नलागेसम्म आफू पछि नहट्ने वचन दिएको लामाको दाबी छ।
उल्लेखनीय छ, समय समयमा गोर्खाल्याण्डको समर्थनमा आफ्नो पक्ष राख्दै आएका सुब्रमण्यम स्वामीले पछिल्लो मङ्गलवारका दिन ट्वीट गरी भाजपाले गोर्खाहरूलाई दिएको वाचा पूरा गरी गोर्खाल्याण्ड युनियन टेरिटोरी गठन गर्नुपर्ने मत व्यक्त गर्नका साथै गोर्खाल्याण्डको मुद्दालाई उच्च प्राथमिकता बताएका थिए।