दार्जीलिङ, 17 मार्च : सन् 2017 –को गोर्खाल्याण्ड आन्दोलनपछि भूमिगत भएका विमल गुरुङ आगामी लोकसभा चुनाउअघि पहाड़ फर्किनसक्ने भाजपाले बताएको छ। गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) प्रमुख विमल गुरुङले बेल भएमा आगामी लोकसभा चुनाउमा उनी ‘की फ्याक्टर’ हुने भाजपाको भनाइ छ।
उल्लेखनीय छ, आगामी लोकसभा चुनाउमा दार्जीलिङ संसदीय क्षेत्रका लागि तृणमूल कङ्ग्रेसले विनयपन्थी गोर्खा जनमुक्ति मोर्चासँग गठबन्धन गरी अमरसिंह राईलाई उम्मेद्वार बनाएपछि भाजपाका लागि विमल आवश्यकता बनेको छ।
भाजपाले सन् 2009 र 2014 –मा भाजपाले विमल गुरुङकै समर्थनमा चुनाउ जितेको थियो। यसपालिको चुनाउमा मोर्चा दुई भङ्गालोमा छुट्टिए तापनि पहाड़मा विमलकै प्रभुत्व रहेको भाजपा ठान्छ।
शनिबार आईएएनएससँग कुराकानी गर्दै दिलीप घोषले गुरुङलाई पहाड़का नेता बताएका छन्। “विमल गुरुङ अहिले पनि पहाड़का नेता हुन्, तर कानुनी मुद्दाको कारण उनी अहिले पहाड़को राजनीतिबाट टाढ़ा छन्। यी मुद्दाहरू सर्वोच्च न्यायालयमा चलिरहेको छ। यदि सर्वोच्च न्यायालयले उनलाई बेल दिए, निश्चयै पहाड़ फर्किनेछन्”, घोषले भने।
प्रदेश भाजपाका अध्यक्षका अनुसार विमल गुरुङमाथि अत्यधिक मुद्दा लगाइएको छ, जसमध्ये अधिकतर मुद्दा राजनीतिप्रेरित छन्।
घोषले भने, “चुनाउ आयोग छ। आयोगले नै यस सम्बन्धमा केही गर्नेछ। यदि गुरुङ पहाड़ फर्के धेरै राजनीतिक समीकरण परिवर्तन हुनेछ।’’
यसका साथै उनले पहाड़मा चाँड़ै ठूलो राजनीतिक परिवर्तन हुने दाबी पनि गरे। घोषको दाबीका अनुसार धेरै राजनीतिक पार्टी अहिले भाजपाको सम्पर्कमा छन्। भाजपाले मात्र स्थायी शासन दिनसक्ने कुरा ती राजनीतिक पार्टीहरूलाई विश्वास छ।
“ती दलहरूले पहाड़मा राजनीतिक हिंसा चाहँदैनन्’’, प्रदेश भाजपा अध्यक्षले भने।
उल्लेखनीय छ, पछिल्लो गोर्खाल्याण्ड आन्दोलनमा भएको हिंसक झड़पपछि मोर्चा प्रमुख विमल गुरुङमाथि अनलफुल एक्टिभिटिज (प्रिभेनशन) एक्ट (यूएपीए) लगायत अन्य दर्जनौं मुद्दा लगाइएको छ, जुन मुद्दाको सुनवाइ अहिले सर्वोच्च न्यायालयमा चलिरहेको छ।
स्मरणरहोस्, हिजै मात्र तृणमूल कङ्ग्रेस र गोजमुमोको संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै दार्जीलिङ तृणमूल कङ्ग्रेस अध्यक्ष एवं राज्यका पर्यटन मन्त्री गौतम देवले पहाड़मा विमल गुरुङको कुनै अस्तित्व नरहेको दाबी गरेका थिए।