फर्स्ट फ्लशको समयमै बोनस बैठक राखिनुपर्छः एचपीडब्ल्यूयू

0
993

दार्जीलिङ, 17 मार्चः गोर्खा राष्ट्रिय मुक्ति मोर्चाको श्रमिक सङ्गठन एचपीडब्ल्यूयूले फर्स्ट फ्लश (पहिलो टिपाइ)-कै समयमा चियाश्रमिकहरूको बोनस छिनाफानो गर्नुपर्ने माग उठाएको छ।

पछिल्लोपटक चियाश्रमिकहरूको बोनस दरलाई लिएर मालिकपक्षकै ठूलो झमेला लगाएपछि दशैंमा उनीहरूले बोनस पाउन सकेका थिएनन्। अहिले पनि दुई-तीनवटा चियाकमानहरूले सम्झौताअनुसार रहल 8 प्रतिशतको बोनस पाएका छैनन्।

यसैले पनि जोइन्ट फोरमले शुरुदेखि नै अबउसो प्रतिवर्ष बोनस दर फर्स्ट फ्लशकै समयमा छिनोफानो गर्नुपर्ने माग गर्दै आएको छ। यसैक्रममा जोइन्ट फोरमकै घटक एचपीडब्ल्यूयूले आज बेनेकबोन चियाबारीमा गेटसभा आयोजन गरी उल्लिखित मागलाई दोहोर्‍यायो।

गेटसभापछि पत्रकारहरूलाई सम्बोधन गर्दै एचपीडब्ल्यूयूका कार्यकारी अध्यक्ष डीके गुरुङका अनुसार बोनस बैठक चाँड़ोभन्दा चाँड़ो बोनस बैठक तय गरिनुपर्छ भन्ने मागमा सबै चियाकमानमा गेटसभा आयोजन गरेका बताए।

यसअवसरमा उनले कतिपय चियाकमानमा श्रमिकहरूले आउनुपर्ने वेतनलगायत अन्य सुविधाहरू वितरण गर्नुको सट्टा उल्टै सुक्खा मौसम हेरेर मालिकपक्षले चियाश्रमिकहरूलाई दुःख दिइरहेको पनि बताए।

अर्कोतिर, गुरुङले चियाश्रमिकहरूका लागि न्यूनतम रोज लागू गर्नुपर्ने विषयमा सरकार आँखा चिम्लेर बसेको आरोप लगाउँदा न्यूनतम रोज यथाशीघ्र लागू गर्नुपर्ने माग गरेका छन्।

“पहाड़का चियाकमानहरूका लागि अप्रेलयता कुनै समय मिलेर चाँड़ोभन्दा चाँड़ो मिति तय गरिनुपर्छ”, एचपीडब्ल्यूयूका कार्यकारी अध्यक्ष डीके गुरुङले थपे, “यदि बैठक तय नगरेकोमा भोलिका दिनमा कहींकतै बाधा सिर्जना भएमा हामी श्रमिक सङ्गठन दायी हुनेछैनौं।”

गेटसभामा महासचिव एसके लामालगायत अन्य पदाधिकारीहरू पनि उपस्थित रहेको बताइएको छ।

अर्कोतिर, आजै पाण्डम, मारेबुङ, सालु, लिङ्गे, सिङ्बुली आदि चियाकमानमा पनि गेटसभा आयोजन गरिएको बताइएको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here