– खुसेन्द्र राई
त्यो आङदेम्बे थरकी लिम्बुनी बहिनीलाई मैले अझै भुलेको छुइनँ। भुलेको छुइनँ यो अर्थमा कि म कहिलेकाहीँ उसलाई सपनामा देख्नेगर्छु, झलक्क भीड़मा कहीँ देखेर खुशी भएको हुन्छु या कहीँ नचिनेको ठाउँमा असिनपसिन भएर पच्छाइरहेको हुन्छु या ठेगाना, फोन नम्बर सोध्न भुलेकोमा थकथक मानिरहेको हुन्छु। अनि सपना पूरा हुन नपाई ऐंठन परेको अवस्थामा ब्यूँझेको हुन्छु।
कति अधुरा सम्बन्धले जीवनभर यसरी सपनीमा पनि सताउँदो रहेछ! ऊ कहाँ होली ! हामीलाई सम्झना गर्छे के? साथीहरूलाई बटुलेर हाम्रो कथा भन्दी हो अनि चट्की लिँदी हो, सोचेर हाँस्छु आफै!
त्यो आङदेम्बे बहिनीसँगको सानो भेट र लामो सम्झनाको कुरा शुरू गर्नअघि केही सम्बन्धित घटना, संस्मरणलाई थप बल दिने उपघटनाहरू थप्छु।
मैले २०१०-देखि यता बर्सेनि एउटा ट्रेकिङ जाने सेड्युल बनाएको थिएँ। ११,९३० फिट उँचाइमा अवस्थित सन्दकफू-फालुट ट्रेकिङ सिरी खोला, गुर्दुम रूट भएर सम्पन्न गरेपछि १२,४४८ फिट उँचाइमा अवस्थित पाथीभरा मन्दिर जाने योजना बन्यो।
त्यो पाथीभरा जाने योजना बनेको पनि आफनै कथा छ। मेरी छोरी २०१०-देखि खर्साङको सेन्ट हेलेन्स स्कुल पढ्न शुरू गरेकी हो। म जुलाई महिनाको कुनै बर्षादी दिनमा छोरीलाई भेट्न स्कुल गएको थिएँ।
छोरीलाई भेटेर वर्षा छल्न त्यो सधैँ गइरहेको टुरिस्ट लजको बारमा छिरेको थिएँ। त्यहीं लजको बारमा तीनचारजना नेपालका मान्छेहरू पनि थिए, जसका मुखबाट मैले प्रथमचोटि पाथीभरा मन्दिरको नाम सुनेको थिएँ।
उनीहरूको गफबीच आएको वाक्य ‘पाथीभरा जाने बाटोमा जङ्गलै ढाकेर छत्तीस किसिमका गुराँस फुलेका हुन्छन्’-ले मलाई आकर्षित गरेको थियो।
मैले घर आएर गोबिन्दा, अशोक, रबिन साथीहरूलाई भनेँ। यूट्युबमा भिडियोहरू पनि हेरेँ।
अर्को साल अप्रेलमा वित्तीय वर्षको हरहिसाब सरकारलाई बुझाएर हामी बिर्तामोडबाट ताप्लेजुङको लागि बसमा चढ़्यौँ।
त्यसरी नेपालको ताप्लेजुङ जिल्लामा अवस्थित पाथीभरा देवी दर्शन शुरू भएको क्रम लगातार चार वर्षसम्म कायम रह्यो। तर पाथीभराको दर्शनयात्रा सुगम चैं होइन।
हामीलाई चार वर्षसम्म पाथीभरा गइरहँदा काफ्लेपाटीदेखि पाँच किलोमिटर नाक छुने उकालो हिँड़ेर पाथीभरा मन्दिर पुग्नुभन्दा ताप्लेजुङ बजारदेखि गाड़ेमा चढ़ेर काफ्लेपाटी पुग्न जतिको कष्टकर लाग्यो, त्यतिकै अरू दर्शनार्थी पनि लागेको होला।
त्यो फोरह्विल गाड़ी मात्र गुड्नसक्ने ढुङ्गे बाटोमा कहीँ गाड़ी डुब्ने दलदल त कहीँ उकालो चढ़ाइ, चढ़्दा गाड़ी दुई चक्काको भरमा करमरले मात्र हिँड्न सक्थ्यो!
यसो साइडबाट हेऱ्यो, जिप्ट्यो भने हड्डीखुड्डी नपाउने भीर छ! हामी गएको साल मात्र पाँचजाना तिर्थालु पाथीभराबाट फर्कँदा ट्रयाक्टर दुर्घटनामा परेर ठहरै भएका थिए। तर हामी कुनै बिघ्नबाधा निस्फिक्री हाँसखेल गर्दै, किसिमकिसिमका गुराँसको रङ्गमा चोबलिँदै, नयाँ साथीभाइ बनाउँदै, बाटोबाटो मात्दै, जोरपोखरीको बानियाँ दिदीबहिनीसँग इत्रिँदै चारपल्ट देवी पाथीभराको दर्शन गऱ्यौं।
तर, तीनपल्टसम्म गइरहँदा कहिले पानी परेर, कहिले दिन धुम्मरे, कहिले हिउँ परेर पाथीभरा मन्दिरपारि छेउमै दिखिने कुम्भकर्ण हिमाल वा लिम्बू भाषामा ‘फोक्ताङलुङ’-को दर्शन भएन।
त्यसैले चौथोपटक हामी जाँदा अप्रेल महिनामा नगएर अक्टोबर महिनामा गएका थियौं। त्यो महिना बढ़ो शुभ महिना हुँदोरहेछ, हामीले फोक्ताङलुङ हिमालको दर्शन मज्जाले गऱ्यौं। तर चौथोपटक जाँदा आधाबोटोमै गाउट बल्झेर मान्छेले बोकेर जाने परिस्थिति सिर्जना भएपछि मेरो पाथीभरा मन्दिर जानु पनि पूर्णविराम लाग्यो।
तर अहिले फर्केर हेर्दा मेरो चौथो वा अन्तिमपटकको पाथीभरा मन्दिरको यात्रा घटनापूर्ण थिएछ। त्यही वर्ष मैले आफूलाई आधाबाटोदेखि कुल्लीलाई पचास रुपे प्रतिकिलो बोक्न लगाएर पाथीभरा मन्दिर पुगेको थिएँ।
त्यही समय आङदेम्बे थर भएकी लिम्बुनी बहिनीलाई भेटेको पनि हो।
हामी पाथीभराबाट फर्केर आउँदा फिदिम बजारमा बसेर हिँड़ेको राँके आउनअघि सानो बस्तीको बजारमा हिज रातिको धङ्धङ्गी मेट्न उत्रेका थियौं।
त्योबेला मेरो मामाको छोरा भीम निजी गाड़ीको चालक बनेर गएको थियो। भीमले बाटो छेवैको एउटा दोकानमा गुराँसको रक्सी र भैंसीको सेकुवा जोगाड़ गरेको थियो। त्यहाँबाट पारि क्षितिजमा फोक्ताङलुङ झलमल्ल देखिन्थ्यो।
त्यहीं फिदिमबाट देखिने फोक्ताङ्लुङको उपेन्द्र सुब्बाले आफ्नो कथा सङ्ग्रह ‘लाटो पहाड’-मा लिम्बू समाजका कथाहरूमा वर्णन गर्दा उल्लेख गरेका छन्।
वास्तवमा, मलाई वर्षैपिच्छे पाथीभरा गइरहनु बाध्य पार्ने पनि तिनै फोक्ताङलुङ हिमाल, फिक्कल-इलामका चियाबारीका स्निग्ध हरियाली, फिदिमदेखि ताप्लेजुङसम्मै माथि डाँडादेखि तल खोलाको गड़तिर, तल खोलाको गड़तिरदेखि माथि डाँड़ा गर्दै चाकालचुकुल खेल्ने बाटा, पार्श्वमा अजीब आकारमा उभ्भेका डाँड़ाकाँड़ाहरू, पाथीभराका जङ्गलका किसिमकिसिमका गुँरासका फूलहरू हुन् जस्तो लाग्छ।
अर्को कुरा, इलामदेखि तल माई खोला झर्दा कथाकार पूर्ण राईको मनमा सम्झना सजीव भइउठ्थ्यो। म त्यहाँ आइपुग्दा उनको यात्रा सङ्ग्रह ‘टिस्टादेखि माईवेणीसम्म’ हो कि भन्छु, मलाई पढ्न दिँदा ‘यो मेरो दिल छेउको किताब हो नहराई फर्काउनु है’ भनेको झल्झली सम्झन्थेँ।
उनले सङ्ग्रहकै शीर्षक संस्मरणमा कविसाथी मोहन ठकुरी सरहरूसँग कालेबुङदेखि हिँड़ेर माईवेनी मेला भर्न आएको रोचक कथा वर्णन गरेका छन्।
माई खोला भएर गाड़ी गुड्दा विशेष, उनले त्यो संस्मरणलाई रोमाञ्चक मोड़मा पुऱ्याएर मोहन ठकुरी सरलाई इङ्गित गर्दै लेखेको – ‘क्या त ठकुरी, वेणी मेलामा हगि!’ अन्तिम वाक्यले वर्षौंदेखि मनमा बसिराखेको कौतुहलता अनायासै बल्झाइदिन्थ्यो।
कथाकार पूर्ण राईसँग उनको जीवनको अन्ततिर मेरो प्रगाड़ सम्बन्ध बसेको थियो। उनलाई शिक्षा विभागको अफिसमा भेट्न म गइरहरन्थेँ। उनी घोष्ट सम्पादक भएको ‘अर्चना’ पत्रिकामा मेरो कथा ‘रूपकुमारको असफल प्रेम कथा’ प्रकाशित भएको थियो। तर मेरो पछुतो यही रह्यो कि त्यो किताब नफर्काइ उनको दुःखान्त मृत्यु भइहाल्यो।
कुरा अघाडि बढ़ाउँ। हामी दुई बोतल गुराँसको लोकल रक्सी खाएर शेष यात्राको लागि तयार भयौं। गाड़ीमा चढ़्नलाग्दा दुईवटा झोला बोकेर गाडी पर्खिरहेकी एउटी बहिनीले हामीलाई भनी – ‘दाइ, म पनि जान्छु नि।‘
‘कता जाने ?’ भीमले गाड़ी स्टार्ट गरेर सोध्यो।
‘इटहरी जाने दाइ।‘ उसले भनी।
‘हामी त सिलगढ़ी जाने हो। बिर्तामोड़सम्म जाने?’ मैले भनेँ।
जाने भनेर बहिनी सेकेन्ड सिटमा झोलासँग चढ़ी। बाटामा भीमले नाम सोध्दा यस्तै कुनै साधारण नाम भनेकी थिई, जसलाई म उसको गोपनीयताको मौलिक अधिकारलाई आदर गर्दै सार्वजनिक गर्न चाहन्नँ।
उसले थप भनेकी थिई – ‘म आङदेम्बे थरकी लिम्बुनी।‘
भीमले पनि रवाफको साथ भनेको थियो – ‘हामी कुलुङ थरका राई।‘
वास्तवमा, हामी दुवैजना एउटी राम्री केटी सहयात्री पाएकोमा हुनुसम्मको खुशी थियौं। ऊ साधारण लिम्बुनीजस्ती मोटी, पुड्की थिइन। सलवार कुर्ता लगाएकी ऊ जीउडाल मिलेको पाँच फिट छः इन्च अग्ली कुनै लिम्बू फिल्ममा नायिका बन्न सक्ने हैसियत राख्ने सुन्दरी थिई।
गालामा प्राकृतिक लाली चढ़ेको थियो। ओंठ ऐंसेलुको दानाजस्तो भरिएको थियो। नाम पनि कुनै रसबेरीभन्दा कम थिएन।
राँके पुगेर हामी चिया खान ओरालोका थियौं। राँके निकै जाड़ो थियो। भीमले बिस्कुट, भुजा, लेज यस्तै केके किनेर दियो। मैले डल्ले खोर्सानीको अचार, सुकाएको माछा परदेशमा खानु भनेर किनिदिएँ।
भीम र मेरो त्यहाँदेखि नै आङदेम्बे बहिनीलाई सेवा गर्ने होड़ अघोषित रूपमा शुरू भएको थियो। राँकेबाट म सेकेन्ड सिटमा चढ़ेपछि हाम्रो बेबाक बातचित शुरू भएको थियो।
हालमा ऊ इटहरीमा बिउटी पार्लरमा कामगर्दै थिई। घरमा आमाबाबा थिए। भाइ स्कुल पढ्दै थियो। ऊ घरको आर्थिक अवस्थालाई टेवा दिन घर छोड़ेर काम गर्न जान बाध्य भएकी थिई।
घर छोड़ेकी सबै केटीहरूका कथा एउटैएउटै हो। त्यसपछि गर्ल फ्रेन्ड, ब्वाई फ्रेन्डका कुरा भए, प्रेमका कुरा भए, नोकरी, पैसा रुपियाँ, जिन्दगीको अनिश्चितताबारे चिन्तन मनन भए। प्लस टू पढ़ेकी उसको व्यावहारिक ज्ञान साधारण केटीहरूभन्दा बेसी थियो।
इलाम आइपुग्दासम्म हामी धेरै पुराना चिनजानजस्ता भइसकेका थियौं, नारायण गोपालको गीतको भाकाजस्तो – चिनारी हाम्रो धेरै पुरानो भएझैं लाग्दछ ………….
इलाममा खाना खानु झर्दा मैले भीमदेखि छलिएर उसको नम्बर लिएँ। म त्यसबेलासम्म बूढ़ीसँग छुट्टिसकेका थिएँ।
नम्बर लिँदैगर्दा यो पनि भने कि म तिमीलाई भेट्न कल गरेर एक्लै इटहरी आउँछु। यो कुरा भीमदेखि गोपनीय राख्नु है! त्यतिबेलासम्म हामीबीच अव्यक्त प्रेमजस्तो केही अङ्कुरित भइसकेको थियो।
ऊ मलाई हेर्दा अर्थपूर्ण हाँस्ने भइसकेकी थिई। कन्याममा गाड़ी रोकेर भीमले एक पोका खाने कुरा किनिदियो। त्यहाँ एकक्षण यताउता घुमेपछि चारआली झर्दा उसले मेरो हातमा उसको नामको प्रथम अङ्ग्रेजी अक्षर ‘बी’ डट्पेनले लेखेकी थिई।
बिर्तामोडमा झरेपछि ऊ इटहरी जाने भई। छुट्टिने बेलामा भीमले एउटा ठूलो क्याडबरी अनि मैले उसलाई हातमा गाड़ी भाड़ा भनेर केही भारु राखिदिएको थिएँ।
भरै सिलगढ़ी आएर राती मातेको भीमले आफ्नो सेलफोन स्विच-अन गर्दै कागजको सानो टुक्रा निकालेर भन्यो – ‘खै, त्यो मेरो आङदेम्बे गर्ल फ्रेन्डसँग बात मारूम त।‘
म झसङ्ग भएँ। त्यो आङ्देम्बे बहिनीले भीमलाई पनि आफ्नो नम्बर दिएको थिइछ। सायद भीमले पनि मदेखि छलेर मागेको थियो होला! यो कन्याममा हुनुपर्छ– मैले लख काटेँ।
उसले कागजको टुक्रा हेर्दै कल लगायो। रिङ्ग लागेको धेरैबेरमा कल उठ्यो। कल कुनै हिन्दी बोल्ने आइमाइले उठाई।
‘हेलो, कौन बोल रहे हैं?’… उताबाट भन्दै थियो भीमले नम्बर थिच्न गल्ती भयो होला भनेर कल अफ गरेर फेरि राम्ररी नम्बर हेर्दै कल गऱ्यो।
फेरि पनि त्यही हिन्दी बोल्ने आइमाइले कल उठाई।
‘हेलो …कौन बोल रहे हैं? किसको चाहिए?’ त्यो आइमाइले कर्कश आवाजमा सोधी।
‘आङ्देम्बे बहिनको फोन दीजिए ना।‘ भीमले मुलायम स्वरमा भन्यो।
‘कौन बहन? क्या नाम बोला?’ त्यो आइमाइ चिच्चाई।
चिच्चाएरै भीमले पनि भन्यो – ‘आङदेम्बे। आङदेम्बे बहिन।‘
रङ्ग नम्बर भनेर उतापट्टिबाट फोन राखी।
भीमले सेलफोन बन्द गरेर नमीठोसँग भन्यो – ‘साला खुब् लभमा परेकोजस्तो कुरा गर्थी जा…! साला उल्टा नम्बर दिएर मोरेछ।‘
मैले पनि भीमको त्यो कागजको टुक्रामा भएको नम्बरसँग मेरो सेलफोनमा भएको नम्बर मिलाएँ। नम्बर एउटै थियो।
मैले पनि कल गरेँ, फोन त्यही मधिसेनीले उठाई। तर मैले आफ्नो कुरा भीमलाई भनिन। उल्टा, भीमको नजरदेखि लुकाएर खाँदै गरेको रोयलस्टेग ह्विस्की खन्याएर त्यो आङदेम्बे बहिनीले हातमा प्यारले लेखेकी ‘बी’ अक्षर मेट्दै भीमलाई नै व्यङ्ग्य हानेँ – ‘तँल्लाई त त्यो आङदेम्बे बहिनीले मज्जाले थाङ्नामा सुताए छ हगि, भीमे!’
……………………………………………………
दुई कुलुङ्गेको लागि त्यो यात्राको एपिसोड जिन्दगीमा ठूलो धोको नै भएछ। जे होस्, यात्रा संस्मरणको वर्णन रोचक ढंगमा उतारिएको छ। बधाई।