-योगिता राई
ऐ! आकाशबाट सबैलाई देख्न सक्ने घाम!
ऐ! बिनारोकटोक सबैसम्म पुग्न सक्ने हावा!
भनिदिनू उसलाई।
मैले खूब जतनसित
राखेकी छु उसलाई।
यसरी
बिहानको चियाको
पहिलो चुस्कीमा।
सम्झना गर्दै गर्दा
अनायासै फक्रेको
ओठको मुस्कानमा।
नुहाउन लागेको
बाल्टीभरि पानीमा।
उसैको मुहार छोएर-छोएर पनि
धित नमर्ने मेरो आँखाका नानीमा।
मैले दिनभरि गुनगुनाइरहने हरेक
गीतमा।
मलाई हराइराखेर गएको उसको जीतमा।
र
छ्येसुममा बलिरहने छ्योमीको प्रकाशमा।
स्मृतिका चराचरी उड़िरहने आकाशमा।
राखेकी छु
उसको ओठको प्रसाद थापेर
तीर्थ नुहाएका यी औँलामा।
र
उसका औंलाहरूसँग कति
रमाएका केशराशिहरूमा।
उसले बोलेका ती सबै कुरामा
जो मभित्र सुरक्षित छन्।
जसरी सुरक्षित हुन्छन्
नफुट्याइएका कटुसका दाना।
र,
अब,
सोधिदिनू उसलाई।
“सम्झनामा राख्नेछु”
भनेर लगेको
आधा टुक्रा मलाई
कसरी राखेको छ? भनेर।
जीवित छ ?
कि मरिसके?
(दार्जीलिङ)