नयाँ दिल्ली, १७ जून : तृणमूल कङ्ग्रेस सुप्रिमो एवं बङ्गालकी मुख्यमन्त्री ममता ब्यानर्जीलाई ठूलो झट्का लागेको छ। आज नौपाराका तृणमूल विधायक सुनिल सिंहसहित १२ पार्षद् भाजपामा सामेल भएका छन्।
आज दिल्लीस्थित भाजपाको मुख्यालयमा विधायक सुनिल सिंह १२ पार्षद्ले भाजपाको झण्डा समाएका हुन्। लोकसभा चुनाउमा भाजपाले बङ्गालमा १८ संसदीय सीट जितेपछि तृणमूल कङ्ग्रेस छोड़्ने नेताहरूको सङ्ख्या बाक्लिएको छ। तृणमूल छोड़्नेहरू भकाभक भाजपामा सामेल भइरहेका छन्।
आज भाजपामा सामेल भएपछि विधायक सिंहले भने, ‘पश्चिम बङ्गालका जनता सबैको साथ, सबैको विकास चाहन्छन्। यो मोदीको सरकार हो। र हामी राज्य (बङ्गाल)-मा यही सरकार बनाउन चाहन्छौं। ताकि पश्चिम बङ्गालको विकास गर्नसकियोस्।’
स्मरणरहोस्, यसभन्दा अघि तीनजना विधायक र ५० भन्दा अधिक पार्षद्ले तृणमूल कङ्ग्रेस त्यागेर भाजपाको झण्डा समातेका थिए।
यसअवसरमा भाजपाका बङ्गाल प्रभारी कैलाश विजयवर्गीय, प्रदेश अध्यक्ष दिलीप घोष र दिग्गज नेता मुकुल राय पनि उपस्थित थिए।