रेल दुर्घटनामा ज्यान गुमाउनेका सङ्ख्या आठ पुग्यो, चालिसजना भन्दा बढी यात्री घाइते

0
366

सिलगढी, १७ जूनः फाँसीदेवाको खण्डको रङ्गापानीमा भीषण रेल दुर्घटना परी कम्तिमा आठजना यात्रीले ज्यान गुमाएका छन् भने लगभग चालिस जनाभन्दा बढी यात्री घाइते भएका छन् ।

अगरतलाबाट सियालदाहतर्फ गइरहेको कञ्चनजङ्घा एक्सप्रेसलाई मालगाडीले पछिबाट जोडले ठक्कर दिँदा यो भीषण दुर्घटना भएको हो ।

यो मर्मान्तिक दुर्घटना आज बिहान करिब साढे आठ बजे भएको हो ।

दुर्घटनाको चपेटमा परी धेरै यात्री घाइते भएको बताइएको छ । घाइतेहरूलाई उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ । यो समाचार तयार लेखुन्जेलसम्म राहत एवं उद्धार कार्य जारी थियो ।

यसैबिच, प्रधानमन्त्री नरेन्द्र मोदीले यस मर्मान्तिक दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै प्रधानमन्त्री नेसनल रिलिभ फन्डबाट प्रत्येक मृतकका परिवारलाई दुई दुई लाख रुपियाँ र घाइतेहरूलाई पचास हजार रुपियाँ गरी अनुग्रह राशि दिने घोषणा गरेका छन् ।

अर्कोतर्फ, रेल मन्त्री अश्विनी वैष्णवले प्रत्येक मृतकका परिवारलाई दश लाख रुपियाँ, गम्भीर घाइते भएकाहरूलाई अढाई लाख रुपियाँ र सामान्य घाइते भएकाहरूलाई पचास हजार रुपियाँ अनुग्रह राशि दिने घोषणा गरेका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here