गान्तोक, 17 जुलाई : राज्यका लोकसभा सांसद इन्द्रहाङ सुब्बाले बुधवार सदनमा सिक्किमका लागि अघिबाटै प्रस्तावित वैकल्पिक मार्गको निर्माणकार्य चाँड़ोभन्दा शुरु गर्नुपर्ने सड़क एवं यातायात मन्त्रालयसमक्ष माग गरेका छन्।
2015-16 मा नै प्रस्तावित बङ्गालको बाग्राकोट हुँदै कालेबुङ भएर सिक्किम जोड़िने 242 किलोमिटरको वैकल्पिक मार्गको निर्माणकार्य मन्त्रालयले चाँड़ोभन्दा चाँड़ो पूरा गरेमा सिक्किमले बर्खे मौसममा भोगिरहेको यातायात अवरुद्धको गम्भीर र जटिल समस्याबाट निजात पाउने यी युवा सांसदले सदनमा बुझाए।
उनका अनुसार वैकल्पिक मार्ग निर्माणपछि यदि एउटा राजमार्ग बन्द भएको खण्डमा पनि अर्को राजमार्ग खुला रहनेछ। जसको फलस्वरूप सिक्किमको यातायात सुचारु रहनेछ। उनले आफ्नो सम्बोधनमा वैकल्पिक राजमार्गको सामरिक र आर्थिक महत्त्व पनि बुझाउने कोशिश गरे।
“सिक्किमलाई भारतका अन्य राज्यसँग जोड़्नका लागि राष्ट्रिय राजमार्ग 10 को रूपमा केवल एउटै मात्र राजमार्ग छ। यदि यो राजमार्ग बन्द भएको खण्डमा सिक्किमका लागि धेरै समस्या सिर्जना हुनेगर्छ”, सदनमा बोल्दै सांसद सुब्बाले थपे, “सिक्किममा पाँच महिनाभन्दा बढ़ी समयसम्म मनसुन रहन्छ। यहाँ अत्यधिक पानी पर्ने हुनाले धेरै पैह्रो जानेगर्छन्। पैह्रोकै कारण यो राजमार्ग प्रायः प्रायः मनसुनको समयभरि बन्द रहनेगर्छ। अहिले पनि धेरै ठाउँ पैह्रो गएको कारण राष्ट्रिय राजमार्ग 10 घरी घरी बन्द भइरहेको छ।”
सुब्बाले सिक्किम पर्यटनमाथि निर्भरशील राज्य रहेकोले बारम्बार यातायात बन्द हुँदा यसको सोझो असर राज्यको पर्यटन व्यवसायमा पनि परिरहेको बताए। यति मात्र होइन उनले सिक्किम तीन देशको सीमासँग जोड़िएको राज्य रहेको औ सबैभन्दा संवदेनशील सीमा चीनसँग रहेकोले मन्त्रालयले केवल राष्ट्रिय राजमार्ग 10 को वैकल्पिक मार्ग निर्माण मात्र होइन। तर, चीन सीमासँग पुग्ने उत्तर सिक्किमका मार्गहरूको अवस्था सुधार्नका लागि पनि मन्त्रालयले समुचित पहल गर्नुपर्ने मन्त्रालयसमक्ष माग गरे। राष्ट्रिय सुरक्षा र सामरिक दृष्टिले पनि यी सबै मार्गहरूको अवस्था सुधार्न अत्यावश्यक रहेको इन्द्रहाङ सुब्बाले सदनमा बताए।
“सिक्किम सड़क सम्पर्कमा पूर्णरूपले आश्रित राज्य हो। सिक्किमका लागि एउटै राजमार्ग छ। त्यसको अवस्था पनि अत्यन्त सोचनीय छ। सिक्किममा रेल सेवा छैन। एउटै भएको हवाई सेवा पनि मौसमको कारण अहिले बन्द छ”, उनले थपे। अर्कोतिर, सांसद इन्द्रहाङ सुब्बाले राष्ट्रिय राजमार्ग 10 को दुरवस्था र यसको वैकल्पिक राजमार्ग निर्माणको मागलाई संसदमा उठाएकोमा सत्तारूढ़ एसकेएम पार्टीले स्वागत जनाउनका सांसदप्रति आभार प्रकट गरेको छ।
उल्लेखनीय छ, सिक्किमका लागि जीवनरेखा मानिएको एनएच 10 को अवस्था अत्यन्त सोचनीय र जोखिमपूर्ण छ। प्रत्येक वर्ष बर्खे मौसममा यो राजमार्गमा घरीघरी यातायात ठप्प हुनेगरेकोले सिक्किमलाई सिलगढ़ीसँग जोड्ने वैकल्पिक राजमार्ग निर्माणको माग धेरै वर्षदेखि उठेको हो। यसका लागि बाघपुल भएर बाग्राकोट कालेबुङ हुँदै सिक्किमलाई जोड़्ने वैकल्पिक राजमार्गको निर्माणको प्रस्ताव 2015-16 मा नै मन्त्रालयले लिए तापनि अझैसम्म निर्माणकार्यको कार्य शुरु नै भएको छैन। केही दिन अघि मात्र कालेबुङको कृषक कल्याण सङ्गठनले पनि उक्त वैकल्पिक मार्गको निर्माणकार्य चाँड़ोभन्दा चाँड़ो शुरु गर्ने माग गर्दै मन्त्रालयलाई पत्राचार गरेको थियो।