रियल बन्यो ला लिगा च्याम्पियन

0
1237
फोटोः याहू स्पोर्ट्स।

म्याड्रिड, १७ जुलाईः रियल म्याड्रिड ला लिगा च्याम्पियन बनेको छ।

बिहीबार मध्यराति खेलिएको लिगको ३७औं खेलमा भेलारियललाई २-१ गोलले पराजित गरेपछि रियलले ला लिगाको उपाधि उचालेको हो।

कोरोना महामारीको ब्रेकपछि यो रियलको लगातार दशौं जीत थियो।

रियलका लागि दुवै गोल फ्रेञ्च स्ट्राइकर करिम बेन्जेमाले गरे। उनले खेलको २६औं र ७७औं मिनटमा गोल गर्दा भेलारियलका भिसेन्ट इबोराले ८३औं मिनटमा सन्त्वाना गोल फर्काएका थिए।

अर्कोतिर रियललाई अङ्क तालिकामा पछ्याइरहेको बार्सिलोना भने एघारौं स्थानको ओसासुनाविरुद्ध १-२ को गोलअन्तरले पराजित भयो।

उपाधिका लागि भाग्यको साथ पर्खिरहेको बार्साको यो अपत्यारिलो हारसँगै उपाधि जित्ने धमिलो आशामा धक्का लागेको हो।

रियलले २०१६-१७ पछि पहिलोपटक ला लिगाको उपाधि जितेको हो।

रियललाई च्याम्पियन लिगमा रेकर्ड ह्याट्रिक उपाधि दिलाउने जिदानले पहिलो कार्यकालमा २०१६-१७ मा ला लिगाको उपाधि पनि जिताएका थिए।

त्यसपछि भने बार्सिलोनाले लगातार दुईपटक उपाधि उचालेको थियो। तर यसपालि उसको उपाधि ह्याट्रिकको सपना अधुरै रह्यो।

यससँगै रियल ३४औं पटक ला लिगा च्याम्पियन बनेको छ, त्यहीं बार्सिलोनाले २६औं पटक ला लिगाको उपाधि उचालेको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here