गान्तोक, 17 जुलाईः गान्तोकनिवासी नीलम गुरुङ र तेञ्जिङ धोनेयोको गीत ‘ह ह माले’- आज (शुक्रबार) रिलिज भएको छ।
सावने सङ्क्रान्तिको उपलक्ष्यमा यस गीतलाई 93.5 रेड एफएममार्फत् श्रव्य रिलिज गरिएको हो। यस गीतले धान रोपाइँलाई केन्द्र गरी ग्रामीण जीवनशैली, कार्य र त्यहाँको परिवेशलाई समेटेको छ।
विशेषगरी यस गीतमा शहरी परिवेशमा हुर्की-बढ़ी गरेकाहरूमा गाउँप्रतिको मोह र सम्झनाको अभिव्यक्ति छ। फरक प्रकारले सिर्जना गरिएको ‘ह ह माले’-मा बिर्सिँदै गइरहेका ‘उकाली बाटो’, ‘गोरेटो’, ‘चौतारी’, ‘उम्रेको पानी’, ‘बाँसको धारा’, ‘पिढ़ी’, ‘चुह्लाको आगो, ‘भुटेको मकै’, ‘बाजु-बोज्यू’, ‘असारे हिलो’ जस्ता शब्दहरूले गीतलाई थप मिठासपूर्ण बनाएका छन्।
एकप्रकारले भन्नु पर्दा यो गीत ‘गाउँको मोह’-प्रति हो। ‘गाउँतिरै फर्क’ भन्ने गीतको सन्देश छ। यस गीतका शब्दकार नीलम गुरुङ हुन्। तेञ्जिङ धोन्योसँग उनकै स्वर छ। सङ्गीत युग्याल योल्मोको रहेको छ। समग्रमा ‘ह ह माले’ ग्रामीण बिम्बको सजीव गीत बनेको छ। उल्लेखनीय छ, नीलम गुरुङ मूलतः कवयित्री हुन्। यद्यपि हास्य अभिनय र गायनमा पनि उनको विशेष रुचि छ। त्यसैगरी तेञ्जिङ धोन्योले आफ्नो गायनकलाको सबल उपस्थिति रियालिटी शो ‘दिल है हिन्दुस्तानी’-बाट दिइसकेका छन्।