मेल्ली आचिङस्थित एसएसबी क्याम्पका 7 जवान कोरोना सङ्क्रमित

0
1359

गान्तोक, 17 जुलाईः पश्चिम सिक्किमको मेल्ली-आचिङस्थित एसएसबी क्याम्पमा रहेको क्वारेन्टाइन सेन्टरबाट आज एकैसाथ 7 जना एसएसबी जवानको कोरोना जाँचमा रिपोर्ट पोजिटिभ आएको छ।

पश्चिम सिक्किमको खेचीपेरी नजिक रहेको 72 बटालियन एसएसबी क्याम्पबाट 7 जनाको रिपोर्ट पोजिटिभ आएपछि उनीहरूलाई गेजिङस्थित आयुष अस्पतालमा स्थापित आइसोलेशन वार्डमा सारिएको छ।

त्यसैगरी जिल्ला प्रशासनद्वारा सतर्कता अप्नाउँदै एसएसबी क्याम्पलाई पूर्णरूपमा सिलबन्दी गरी कन्टेनमेन्ट जोन घोषित गरिएको छ।

यस क्याम्पबाट यसअघि पनि एकजनाको कोरोना रिपोर्ट पोजिटिभ आएको थियो। जिल्ला प्रशासनले स्थानीय मानिसहरूलाई पेलिङमा रहेका कुनै पनि एटीएम मशिनको प्रयोग केही दिनका लागि नगर्न अपील गरेको छ।

यसैगरी पश्चिम जिल्ला प्रशासनले एसएसबी क्याम्प वरिपरि बफर जोनमा पर्याप्त मात्रामा पुलिसकर्मी खटाएको छ।

अर्कोतिर, राज्य प्रशासनले रिनाक र रङ्गेलीपछि अब पश्चिम सिक्किमको मेल्ली-आचिङस्थित 72 बटालियन एसएसबी क्याम्पलाई कन्टेनमेन्ट जोन घोषित गरेको छ।

पश्चिमका जिल्लापाल कर्मा आर. बोन्पोले एक आदेश जारी यस्तो घोषणा गरेका हुन्।
यहाँको एसएसबी क्याम्पमा पनि कोरोना भाइरस पोजिटिभ मामिला भेटिएकाले सङ्क्रमण फैलिने सम्भावनालाई ध्यानमा राखी यस क्षेत्रलाई कन्टेनमेन्ट जोन घोषणा गरिएको छ।

यस क्याम्पबाट 17 जुलाईका दिन पोजिटिभ मामिला रिपोर्ट गरिएको छ।

यस एसएसबी क्याम्पका वरिपरि 10 मिटरको क्षेत्रलाई पनि बफर जोन घोषित गरिएको छ। आदेशका अनुसार आउँदो 31 जुलाईका दिनसम्म यस क्षेत्रलाई कन्टेनमेन्ट जोन घोषित गरिएको छ।

जिल्लापालले जिल्ला पुलिसलाई यस क्षेत्रको कड़ा निगरानी गर्न तथा मानिसहरूको आउजाउमाथि  कड़ा दृष्टि राख्न निर्देश दिएका छन्।

जिल्लाका चिफ मेडिकल अफिसरले क्यारेन्टाइनमा रहेका मानिसहरूको निगरानी गर्न अनि छुट्टी दिनअघि सबैको जाँच गर्ने कुरा सुनिश्चित गर्न निर्देश दिएका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here