काबुलमा पति फँसेपछि चिन्तित पत्नी

0
981

दार्जिलिङ, 17 अगस्तः तालिबानले अफगानिस्तानलाई कब्जा लिएपछि त्यहाँ उत्पन्न डर र अराजकताले दार्जिलिङ पहाड़लाई पनि चिन्तामा पारेको छ, किनभने अफगानिस्तानमा दार्जिलिङ पहाड़का धेरै युवा कार्यरत छन्।

यता, दार्जिलिङको आलुबारीनिवासी चन्द्रकुमार थापाकी 38 वर्षीया पत्नी वन्दना राई थापा र 14 वर्षीया छोरी चिन्तित बनेका छन्। उनीहरूले अहिले चिन्तामै दिन-रात काटिरहेका छन्।

चन्द्र कुमार थापा अफगानिस्तानको राजधानी काबुलमा रहेको एउटा कम्पनीमा सुरक्षाकर्मीका रूपमा कार्यरत छन्, जो हाल त्यहीं फँसेका छन्।

चन्द्रकुमार थापासँगै काबुलको यस कम्पनीमा दार्जिलिङका 40 जना जति कार्यरत रहेको पनि चन्द्रकुमारकी पत्नी वन्दना राई थापाले बताएकी छन्।

काबुलमा चन्द्र कुमार थापा जस्तै अन्य धेरै नेपाली नागरिक पनि फँसेका छन्।

यसैबिच, चन्द्रकुमार काम गर्ने कम्पनीले उनीहरूलाई दुबईसम्म हवाई सेवामार्फत् पुऱ्याइदिने आश्‍वासन दिएका कुरा 17 अगस्तका बिहान चन्द्रकुमारले आफ्नी पत्नीलाई फोनमार्फत जानकारी गराएका छन्।

उनले दिएको जानकारीअनुसार, त्यस कम्पनीमा 40 जना जति दार्जिलिङका युवाले काम गरिरहेका छन्।

यसबाहेक काबुलमा रहेका अन्य कम्पनीहरूमा पनि सयौँ नेपाली कार्यरत रहेका छन्। यद्यपि, वन्दनाले काबुलमा काम गर्ने नेपालीहरूको पहिलो टोलीलाई दुबईमा ल्याइसकिएको जानकारी गराउँदै दुबई जाने दोस्रो टोलीमा आफ्नो पति चन्द्रकुमार थापा पनि सामेल रहने भएको बताएकी छन्।

अफगानिस्तानबाट जति सक्दो छिट्टो भाग्ने क्रममा अन्य देशका नागरिकहरूसँगै नेपाली नागरिकहरू पनि धेरै सङ्ख्यामा छन्।

यसैले अफगानिस्तानबाट आफ्नो घर फर्किन चाहने दार्जिलिङ पहाड़का नागरिकहरूलाई आफ्नो घरसम्म ल्याउनका लागि एड्वर्ड फाउण्डेशन र दार्जिलिङ इनिसिएटिभले पनि आफ्नो पक्षबाट सक्दो प्रयास गरिरहेका छन्।

यसैले यी दुई संस्थाले हेल्पलाइन नम्बर पनि शुरू गरेको छ, जसको नम्बर 85091-26800 छ।

यदि कसैलाई सहयोगको खाँचो परिरहेको छ भने यस नम्बरमा सम्पर्क गर्न सकिनेछ; ताकि यी संस्थाहरूले देशको विदेश मन्त्रालयसम्म यो सूचना पुऱ्याएर सहयोग उपलब्ध गराउने प्रयास गर्नेछ।

यसरी नै दार्जिलिङका सांसद राजु बिष्टले विदेशमन्त्री डा. एस. जयशङ्करलाई एक पत्र पठाएर अफगानिस्तानमा फँसिएका भारतीयहरूलाई त्यहाँबाट उद्धार गरेर देश फर्काउन विशेष अपील गरेका छन्।

यसका साथै उनले अफगानिस्तानमा दार्जिलिङ पहाड़, तराई अनि डुवर्सका कैयौं नागरिक पनि फँसिएका बताएका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here