दार्जिलिङ, १७ सेप्टेम्बरः जीटीए रिलिफ फन्डमा जमा राशिमा थप पैसा थपेर दशैँ अघि नै चियाश्रमिकहरूलाई वितरण गर्नुपर्ने माग हाम्रो पार्टीले दोहोऱ्याएको छ ।
आज यस्तै माग गर्दै हाम्रो पार्टीका अध्यक्ष एवं दार्जिलिङ सदर-३ का सभासद् अजय एड्वर्ड्सले जीटीए चिफ अनित थापालाई पत्र लेखेका छन् ।
यस पत्रको प्रतिलिपि राज्यकी मुख्यमन्त्री र जीटीएका प्रिन्सिपल सेक्रेटरीलाई पनि पठाइएको छ ।
पत्रमा अजय एड्वर्ड्सले स्पष्ट लेखेका छन् – ‘जीटीए रिलिफ फन्डमा जमा राशिमा थप पैसा थपेर दशैँ अघि नै पहाडका ८७ वटा चियाकमानका श्रमिकहरूलाई वितरण गरियोस् ।’
स्मरणरहोस्, जीटीए रिलिफ फन्ड कोरोनाको वैश्विक महामारीअवधि पहाडका चियाश्रमिकहरूलाई भनेर उठाइएको हो । यो फन्डको स्थापना अनित थापा नै गरेका हुन् । त्यसबेला उनी जीटीए बोर्डका एड्मिनिस्टेटर थिए ।
त्यसबेला उनले जीटीए रिलिफ फन्डमा जति राशि हुनेछ, त्यति नै राशि जीटीएले थपेर चियाश्रमिकहरूलाई वितरण गरिने घोषणा गरेका थिए, तर आजसम्म श्रमिकहरूलाई यो राशि वितरण गरिएको छैन ।
यसैले पनि विभिन्न राजनीतिक पार्टीले समय समयमा जीटीए रिलिफ फन्डको मुद्दालाई उठाउँदै आइरहेका छन् ।
पछिल्लो समय हाम्रो पार्टीले जीटीए रिलिफ फन्डको मुद्दालाई प्रमुखतासँग उठाउँदै आइरहेको छ ।
हिजै मात्र हाम्रो पार्टीको श्रमिक सङ्गठनले दार्जिलिङ प्रेस गिल्डमा एक पत्रकार सम्मेलनको आयोजन गरी जीटीए रिलिफ फन्डमा जमा राशि दशैँ अघि नै चियाश्रमिकहरूलाई वितरण गर्नुपर्ने माग गर्दै यसो नगरिएको खण्डमा आन्दोलनमा ओर्लिने चेताउनी समेत दिएको थियो ।
उल्लेखनीय छ, जीटीए रिलिफ फन्डमा २ करोड १२ लाख ५७ हजार ९१५ रुपियाँ जमा भएको छ । अनित थापाले घोषणा गरेअनुसार जीटीएले यति नै राशि थपेको खण्डमा ४ करोड २५ लाख १५ हजार ८२६ रुपियाँ हुनेछ ।