सिन्कोना बगानको विषय लिएर 19 नोभेम्बर कोलकातामा बैठक

0
1657

दार्जीलिङ, 17 नोभेम्बरः आउँदो 19 नोभेम्बरका दिन सिन्कोना बगानको पदोन्नत्ति, स्थायीकरण र अन्य विभिन्न विषय लिएर कोलकातामा बैठक डाकिएको जीटीए बीओएका अध्यक्ष अनित थापाले बताएका छन्।

थापाका अनुसार पछिल्लो 3 नोभेम्बरका दिन राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीसँग उनीहरूले जीटीएको तर्फबाट अन्य विविध समस्यासँगै  सिन्कोना बगानका विभिन्न समस्याको निवारण विषय छलफल गरेका थिए भने बैठकमा मुख्यमन्त्रीले यस विषयमा सकारात्मक आश्वासन दिएकी थिइन्।

यसैले आउँदो 19 नोभेम्बरका दिन हुने बैठक 3 नोभेम्बरका दिन मुख्यमन्त्रीसँग भएको छलफलकै प्रतिफलको रूपमा आफूहरूले लिएको उनले बताएका छन्।

‘चिया उद्योगसितै सिन्कोना उद्योग पनि दार्जीलिङ पहाड़को विश्वप्रसिद्ध एवं ऐतिहासिक उद्योग हो। यो उद्योगसित हाम्रा मानिसहरूका गाँस, बास र कपाससितै हाम्रा पौरखी पुर्खाहरूका पौरख र इतिहास पनि लुकेका छन्’, आज एक प्रेस विज्ञप्ति जारी गर्दै अनितले भनेका छन्, ‘दार्जीलिङ पहाड़को अस्थिर राजनैतिक परिवेशसितै विविध समस्याले खस्किँदै गइरहेको सिन्कोना उद्योगको पुरानो गरिमा फर्काइल्याउन हामी प्रतिबद्धताको साथमा काम गरिरहेका छौँ। सिन्कोना बगानमा लामो समयदेखि थाँतीमा रहेका पदोन्नति, स्थायीकरण, बदली काम तथा अन्य सबै समस्याको समाधान गरी सिन्कोना बगानवासीले यस उद्योगका लागि बगाएको पसिनाको मूल्य तिर्ने हाम्रो उद्देश्य हो।’

19 नोभेम्बरका दिन सिन्कोना बगानका विविध समस्याको समाधान सूत्र निकाल्न नै बैठक भइरहेका बताउँदै थापाले यस बैठकले सिन्कोनावासीको अनुहारमा खुशीको किरण ल्याउनेछ भन्ने कुरामा आफू विश्वस्त रहेको पनि बताएका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here