सिलगढ़ी, 16 दिसम्बर: विभिन्न कारणले प्रतिवर्ष उत्पादन खट्दै गएपछि सुनको भाव पाउने दार्जीलिङको सुन्तला बारी सङ्कटमा परेको छ। विश्वप्रसिद्ध दार्जीलिङ सुन्तला खेती मासिँदै जान थालेपछि सुन्तला कृषकहरूले यसको सट्टामा वैकल्पिक खेतीतर्फ ढल्कन शुरु गरेका छन्।
कृषकहरूका अनुसार कीरा, फङ्गल इन्फेक्शन र जलवायु परिवर्तनले सुन्तला खेतीमाथि नराम्रो असर पारिरहेको छ। प्रतिवर्ष सुन्तलाका बोटहरू सुक्दै गइरहेका छन्। जसको कारण करिब 50 प्रतिशत सुन्तलाको उत्पादन घटेको छ।
उल्लेखनीय छ, सुन्तला खेती दार्जीलिङ र कालेबुङ जिल्लाका कृषकहरूको आयको एक प्रमुख स्रोत हो। तथापि प्रतिवर्ष यसको उत्पादन घट्दै गइरहेको छ।
यी दुवै जिल्लाका धेरजसो कृषकले सुन्तलाको खेतीलाई छोड़ेर अन्य खेतीतर्फ ध्यान दिन थालेका छन्। कृषकहरूका अनुसार सुन्तलाको उत्पादन मात्र होइन, तर प्रतिवर्ष आकार पनि घट्दै गइरहेको छ।
कृषकहरूका अनुसार कीरा र फङ्गल इन्फेक्शन तथा जलवायु परिवर्तनको कारण सुन्तला खेती मासिँदै गएको हो। यसका साथै सरकारले पनि सुन्तलाको खेतीलाई बचाउनका लागि कृष्कहरूलाई समुचित सहयोग नगरेको उनीहरूको भनाइ छ। यद्यपि सम्बन्धित विभागका अधिकारीहरू कृषकहरूको यस्तो कुरासँग सहमत छैनन्।
उनीहरूका अनुसार कृषकहरूको सुन्तला खेतीप्रति सामान्य लापरवाही, प्रबन्धनहीनता र बोटहरू पुरानो भएकै कारण सुन्तलाको उत्पादन र आकार दुवै घटेको बताउँछन्।
यसै सन्दर्भ मिरिक थर्पुनिवासी पीके साम्पाङले पछिल्लो वर्षको तुलनामा यो वर्ष सुन्तलाको उत्पादन र आकार दुवै घटेको बताएका छन्। आकार र उत्पादन दुवै घटेकै कारण उनले यो वर्ष आफ्नो बारीको सुन्तला बेचेका छैनन्।
“यो वर्ष मात्र यस्तो भएको होइन। प्रतिवर्ष यस्तै भइरहेछ”, उनी भन्छन्। उनकै जस्तो भनाइ सुनिल गुरुङको पनि छ। उनको मिरिक बस्तीमा सुन्तलाको ठूलो बारी छ। तर गुरुङको पनि प्रतिवर्ष सुन्तलाको खेती मासिँदै गइरहेको छ।
पहाड़का कृषकहरूको एक प्रमुख आयआर्जनको स्रोत रहेको भए तापनि सुन्तलाको खेतीलाई बचाउन सरकारी पक्षबाट कुनै प्रकारको सहायता प्राप्त नभइरहेको उनको गुनासो छ।
यसैबीच, दार्जीलिङको बड़ा मङ्गवा बस्तीनिवासी टीएन घिसिङ पनि मासिँदै गइरहेको सुन्तलाको खेतीलाई बचाउन राज्य सरकार र जीटीएको सम्बन्धित विभागमार्फत् कुनै प्रकार सहयोग प्राप्त नभइरहेको बताउँछन्।
घिसिङको बड़ा मङ्गवामा करिब 7 ऐकड़ जमिनमा सुन्तलाको खेती छ। तर उनको सुन्तलाको खेती पनि प्रतिवर्ष मासिँदै गइरहेको घिसिङ बताउँछन्।
“कीरा र फङ्गल इफेन्कशनले सुन्तलाका उत्पादन मात्र होइन तर आकार पनि घट्दै गइरहेको छ” घिसिङ थप्छन्, “यस्तै अवस्था रहिरहे भविष्यमा दार्जीलिङ पहाड़मा सुन्तलाको एउटै पनि बोट पाइनेछैन।”
अर्कोतिर , गोर्खाल्याण्ड टेरिटोरियल एड्मिनिस्ट्रेशनको बागवानी विभागका वरिष्ठ वैज्ञानिक अधिकारी माधव छेत्रीले विभागले पूर्ण सहयोग नगरेको कुरालाई सही मान्दैनन्। यद्यपि विभाग र कृषकहरूबीच उचित सामञ्जयता नभएको भने स्वीकार गर्छन्।
उनका अनुसार दार्जीलिङ र कालेबुङ जिल्लाका तल्लो क्षेत्रमा सुन्तलाको उत्पादन घटे तापनि 4000 देखि 5000 फुट उँचाइमा रहेका क्षेत्रहरूमा सुन्तलाका खेती उस्तो घटेको छैन। छेत्रीका अनुसार अहिले नै सुन्तलाको उत्पादन घटे/नघटेको थाहा पाइँदैन। यो वर्षको अन्त्यसम्म मात्र यसबारे थाह पाइन्छ।
“सुन्तलाको बोटको आयु करिब 35 वर्ष हो। तर पहाड़का धेरजसो सुन्तलाको बोट 35 वर्षभन्दा बूढ़ो छ। यसैले उत्पादन र आकार त घट्ने नै हो”, उनले भने। यद्यपि पछिल्ला केही वर्षयता भने सुन्तलाका उत्पादन र आकार दुवै घटेको कुरालाई उनी स्वीकार्छन्। यसका साथै बागवानी विभाग र सिन्कोना प्लाण्टेशनको तर्फबाट जीटीएलाई ‘साइट्रस कायाकल्प’ प्रस्ताव अघिबाटै बुझाइसकेको उनको भनाइ छ।
यसैबीच स्मल अरेञ्ज फार्मर्स एसोसिएशन अफ् दार्जीलिङका संस्थापक अध्यक्ष एलबी देवानले सुन्तला खेतीमा यो समस्या 1973 सालदेखि देखिएको बताएका छन्। त्यसबेलै विश्वप्रसिद्ध दार्जीलिङको सुन्तला खेतीलाई बचाउनका लागि मिरिक सुन्तला उत्पादन समिति स्थापना गरिएको थियो।
यसका साथै 1984 सालमा मिरिकमा नै सुन्तला खेतीलाई लिएर एक सङ्गोष्ठी आयोजन गरिएको थियो, जसमा कीरा, भाइरस र फङ्गल इन्फेक्शनबाट सुन्तला खेतीलाई बचाउने उपाय विशद् चर्चा गरिएको थियो।
देवानका अनुसार उक्त सङ्गोष्ठीमा विधानचन्द्र कृषि विश्वविद्यालय र बागवानी विभागका विद्वान्हरू उपस्थित थिए, जसले कृषकहरूलाई सुन्तला खेती र यसमा लाग्ने रोगहरूबारे विस्तृत जानकारी गराएका थिए।