प्लास्टिकजन्य फोहोर सङ्कलनका लागि वाहनहरूमा गार्बेज ब्याग अनिवार्य

0
1753

दार्जीलिङ, 17 दिसम्बरः अबउसो दार्जीलिङ शहरमा गुड़्ने वाहनहरूले फोहोर सङ्कलनका लागि अनिवार्य रूपमा गार्बेज ब्याग राख्नपर्नेछ। यात्रुहरूले जहीं त्यहीं फोहोर नफ्याँकुन् भन्ने उद्देश्यले वाहनहरूमा गार्बेज ब्याग राख्न अनिवार्य गरिएको हो।

यसका साथै दार्जीलिङ शहरलाई प्लास्टिकमुक्त बनाउनका लागि पनि यसो गरिएको बताइएको छ। किनभने वाहनका यात्रुहरूले प्लास्टिकजन्य फोहोर र पानीका बोतलहरू सड़क किनार जहींत्यहीं फ्याँक्ने गरेका छन्। दार्जीलिङ पुलिसको यो अभियान क्लिन दार्जीलिङ, ग्रीन दार्जीलिङकै एक अंश हो।

यसैक्रममा प्लास्टिकमुक्त दार्जीलिङ बनाउने उद्देश्यले नै आज हेडन हलद्वारा तयार पारिएका करिब 400 वटा जुटका ब्याग (झोला) यहाँका वाहनहरूलाई मङ्गलवार वितरण गरिएको छ, जसको उद्देश्य यी वाहनहरूले यो झोलालाई आ-आफूसँग राखुन् तथा यात्रुहरूले खाएका थोकहरूका प्लास्टिकजन्य प्याकेटहरू तथा पानीका बोतलहरू सड़क किनारमा नफ्याँकेर  यसै झोलामा राखुन् भन्ने हो।

उल्लेखनीय छ, हालसम्म यात्रीहरूले चकलेट, कुरकुरे, पानी आदि खाएर त्यसका प्लास्टिकहरू जताततै फ्याँक्ने गरेका छन्।

यो झोला (गार्बेज ब्याग) हेडन हलका स्वयंसेवीहरूले बनाएका हुन्। एउटा झोलाको मूल्य  250 रुपियाँ तोकिएको छ। यसै विषयमा आज दार्जीलिङ सदर ट्राफिक ओसी दोर्जी शेर्पाले पत्रकारहरूसँग कुराकानी गर्दै भने “प्रायः नै यात्रीहरूले कुनै चीज खाएपछि त्यसको खोल आदि वाहनको झ्यालबाट बाहिर फ्याँक्ने गर्छन्, जसको कारण जताततै प्लास्टिक आदि थुप्रिने गरेको छ। तर यहाँका प्रत्येक वाहनले आ-आफूसँग एउटा झोला राखे, त्यसले दार्जीलिङलाई केही हदसम्म भए पनि मैला हुनबाट जोगाउन सहयोग प्रदान गर्नेछ।”

उनका अनुसार आउँदा दिनहरूमा पुलिस, सरकारी गाड़ी साथै सम्पूर्ण निजी गाड़ीमा पनि यस्तो झोला राख्न अनिवार्य गरिनेछ। साथै वाहनहरूले झोला राखे/नराखेको त्यो पनि जाँच गर्ने उनको भनाइ छ।

पुलिस अधिकारी शेर्पाका अनुसार आज एकदिनमा यस्ता 400 झोला वितरण गरिएको छ। यसका साथै दार्जीलिङका विभिन्न सिण्डिकेटमा गरी 1,883 वाहन रहेको र सबै वाहनले यस्तो झोला अनिवार्य राख्नुपर्ने बताएका छन्।

यसैबीच, घूम-जोरबङ्लो-डाली मोटर सिण्डिकेटका सदस्य ज्योति थापासित प्रश्न गर्दा उनले भने, “अहिलेसम्म वाहनमा गार्बेज ब्याग आदि राख्ने चलन नै थिएन। तर अब दार्जीलिङ ट्राफिक पुलिसले यसको थालनी गरेको छ, यसबाट दार्जीलिङलाई केही हदसम्म भए पनि सफा राख्नमा सहयोग पुग्ने आशा गरिएको छ। यसैले यो ब्याग वितरण भएको खबर प्राप्त हुनसाथ हामी यहाँ आएका हौं।”

उनले आफ्नो सिण्डिकेटमा 184 वटा गाड़ी रहेको बताउँदै प्रत्येक गाड़ीले नै यो गार्बेज ब्याग राख्ने भएको पनि बताए। यसरी नै तकदा-ग्लेनबर्न मोटर सिण्डिकेटका अध्यक्ष तोप्गे भोटियाले सम्पूर्ण यात्रीले कुनै पनि चीज खाएपछि त्यसका खोल वा प्लास्टिक, कागज आदि गाड़ीमा राखिएको यो झोलामा हालिदिउन् भन्ने अपील गरेका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here