कोलकाता, 15 दिसम्बरः आउँदो वर्ष हुने बङ्गाल विधानसभाको चुनाउलाई लिएर खिचातानी र घमासन अहिलेदेखि बढ़्न शुरू भएको छ। चुनाउ हुन अझै करिब 6 महिनाको समय छ।
विधानसभा चुनाउ जति जति नजिकिँदैछ जाँदैछ, उति उति तृणमूल सुप्रिमो ममता ब्यानर्जीको टाउको दुखाइ बढ़्दैछ। अहिले ममताअघि ‘एकातिर टाल्यो अर्कोतिर फाट्यो’ भन्ने स्थिति छ।
तृणमूल कङ्ग्रेसका प्रभावशाली नेता सुवेन्दु अधिकारीले हिजै विधायक पद छोड़िसकेका छन्। पछिल्ला केही महिनायता पार्टीप्रति विद्रोही देखिएका सुवेन्दुको भाजपामा सामेल हुने बाटो खुल्ला भएको छ।
सुवेन्दु मात्रै होइनन्, तर तृणमूल कङ्ग्रेसका केही नेता पनि भाजपामा सामेल हुने सम्भावना व्यक्त गरिँदैछ।
उनीहरू आउँदो शनिबार भाजपामा सामेल हुने सम्भावना छ।
सूत्रका अनुसार विधायक पदबाट राजीनामा दिएपछि हिजै बेलुकी सुवेन्दु अधिकारीले तृणमूल सांसद सुनिल मण्डलसँग भेटवार्ता गरे। यस भेटवार्ताअवधि तृणमूल विधायक जितेन्द्र तिवारी र अन्य केही नेता पनि उपस्थित थिए।
सुनिल मण्डलले पार्टी नेतृत्वमाथि प्रश्न उठाइसकेका छन्। त्यस्तै जितेन्द्र तिवारी पनि पार्टीप्रति असन्तुष्ट देखिएका छन्। केही दिनअघि स्मार्ट सिटीको निहुँमा परोक्ष रूपमा प्रधानमन्त्री नरेन्द्र मोदीको प्रशंसा गर्नका साथै आफ्नै पार्टीको खिचातानीमा प्रश्न उठाएका थिए।
उल्लेखनीय छ, चुनाउअघि तृणमूल कङ्ग्रेसप्रति असन्तुष्ट बन्ने नेताहरूको सूची प्रतिदिन लम्बिँदै जाँदैछ। अहिलेसम्म आधा दर्जनभन्दा धेरै नेताले कि तृणमूल छोड़िसकेका छन्, कि त छोड़्ने मन बनाएर खुल्ला रूपमा पार्टीविरुद्ध बोलिरहेका छन्।
यसैले पनि विधानसभा चुनाउअघि नै तृणमूल कङ्ग्रेसको समस्या गहिरिँदै गइरहेको छ।
सुवेन्दु अधिकारीबाहेक शीलभद्र दत्ता, जोतु लाहिरी, राजीव ब्यानर्जी, जितेन्द्र तिवारीसमेत धेरै नेता/विधायकले आफ्नै पार्टीनेतृत्वविरुद्ध आवाज उठाइरहेका छन्।
तृणमूल कङ्ग्रेसभित्र अन्तर्कलह बढ़िरहेको समयमै भाजपाको उजुरीपछि डिप्टी इलेक्शन कमिश्नर सुदीप जैन आज बङ्गालको दुइदिने भ्रमणमा आउँदैछन्।
आज 15 जिल्लाका अधिकारीहरूसँग उनको बैठक छ। जानकारीका अनुसार यस बैठकमा चीफ सेक्रेटरी, होम सेक्रेटरीसमेत अन्य वरिष्ठ अधिकारी पनि सामेल हुनेछन्।
स्मरणरहोस्, भाजपाको एक प्रतिनिधि टोलीले दिल्लीमा चुनाउ आयोगसमक्ष बङ्गालको स्थितिबारे उजुरी गर्नका साथै राज्यमा आचार संहिता लागू गर्ने अनुरोध पनि गरेको थियो।