दिल्लीमा बैठक सम्पन्न, पीपीएस र जनजातिबारे पहल शीघ्रै

0
1434

दार्जीलिङ, 17 दिसम्बरः केन्द्रिय गृहराज्य मन्त्री जी. किशन रेड्डीले दार्जीलिङका पहाड़का घटक दलहरूका प्रतिनिधिहरूसँग आज नयाँ दिल्लीमा बैठक गरे।

बैठकमा 11 जातगोष्ठीलाई केन्द्रिय जनजातिको मान्यता प्रदान र दार्जीलिङ पहाड़, तराई अनि डुवर्सको दीर्घकालीन समस्याको स्थायी राजनीतिक समाधानबारे छलफल भएको बताइएको छ।

जानकारीका अनुसार बैठक करिब डेढ़ घण्टासम्म चलेको थियो।

भने पछिल्लो लोकसभा चुनाउमा भाजपाले आफ्नो सङ्कल्प-पत्रमा उल्लिखित दुइवटा मुद्दालाई पूरा गर्ने प्रतिबद्धता जाहेर गरेको स्मरण गराउँदै यी दुइवटै मुद्दालाई शीघ्रै समाधान गर्नुपर्ने माग घटक दलका प्रतिनिधिहरूले गरेका थिए।

 गोरामुमो प्रवक्ता महेन्द्र छेत्रीका अनुसार आज बैठकमा केन्द्रिय गृह राज्यमन्त्री रेड्डीले 11 जातगोष्ठीलाई जनजातिको मान्यता प्रदान यसको प्रक्रिया तीव्र पार्न आरजीआईलाई पत्र पठाउने साथै आउँदो संसद सत्रमा बिल ल्याउने तथा स्थायी राजनीतिक समाधानका लागि चाँड़ै वार्ता शुरू गर्ने बताएका छन्।

गृह राज्यमन्त्रीले आजकै बैठकलाई यसको शुरुआतसमेत बताएका छन्।

अखिल भारतीय गोर्खा लीग (प्रताप खाती गुट)-का कार्यकारी अध्यक्ष प्रताप खातीले पनि आजको बैठकमा उल्लिखित निर्णय भएको पुष्टि गरेका छन्।

“हामीलाई तक्निकी कुरामा नअल्झाइयोस्। शीघ्र हाम्रा यी दुई मुद्दालाई समाधान गरियोस् भन्ने हामीले बैठकमा माग राखेका छौँ”, जनसंवादसँग टेलिफोनिक कुराकानीअवधि उनले भने।

आजको बैठकमा सांसद राजु बिष्ट, भाजपाका राष्ट्रिय महासचिव एवं बङ्गाल प्रभारी कैलाश विजयवर्गीय र दार्जीलिङका भाजपा विधायक नीरज जिम्बा पनि उपस्थित थिए।

त्यसैगरी पहाड़का घटकहरू क्रमैले गोरामुमोबाट अध्यक्ष मन घिसिङ र प्रवक्ता महेन्द्र छेत्री, क्रामाकपाबाट अध्यक्ष आरबी राई र किशोर प्रधान, अभागोली (प्रताप खाती गुट)-बाट प्रताप खाती, सुमेटि मोर्चाबाट विकास राई, गोरानिमोबाट अध्यक्ष दावा पाख्रिन तथा दार्जीलिङ जिल्ला भाजपाबाट जिल्ला अध्यक्ष (सङ्गठन) डा. कल्याण देवान बैठकमा उपस्थित थिए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here