-जीतबहादुर सुनार
१४ जनवरी २०२२। बाघडुग्रा एयरपोर्ट। बिहान १० बजेको समय। छोरी र ज्वाइँलाई छोड्न भनी आएका हामी। म र श्रीमती। जहिले पनि एयरपोर्ट जाने काम हुन्छ, हामीलाई हतारै भएको हुन्छ। फ्लाइट नछुटे पनि सधैँ काँटाकाँटामा नै पुग्ने बानी बसिसकेको छ। सधैँ ढिलो –कहिले बाटामा हुने घुइँचोले त कहिले गाडीमा आइलाग्ने अप्रत्याशित समस्याले। यस्ता अप्ठ्यारा छल्न आज निकै छिटो निस्क्यौँ हामी। झण्डै एक-डेढ घण्टाअघि। तर आज भने न बाटाको घुइँचोले भेटियो, न गाडीले केही समस्या देखायो। एयरपोर्ट पुग्दा ट्वाक्कै दुई घण्टा समय हातमा रहेको थियो। त्यसैले एयरपोर्ट बाहिर बसिरहेका थियौँ, गफ्फिँदै। छोरी र ज्वाइँले पनि भित्र पस्ने हतार देखाएनन्।
बाघडुग्रा एयरपोर्ट आफ्नै सुरमा छ। विभिन्न मानिस, विभिन्न पोसाक। कोही नाडी-घडीमा आँखा टाँस्दै हतार-हतार यताउति दगुरिरहेका छन् त कोही एयरपोर्ट परिसरभित्र पस्ने सुरले हातमा आई कार्ड र टिकट च्यापेर आ-आफ्ना लगेज च्यापेर लाममा उभिएका छन्। एक-दुईजना वर्दीधारी सुरक्षाकर्मी साथमा अजङको डरलाग्दो कुकुर लिएर यताउति हिँडिरहेका देखिन्छन्। २६ जनवरी छेउमै आइपुगेकाले बाघडुग्रा एयरपोर्ट सुरक्षाप्रति निक्कै सतर्क रहेको सजिलै आभास हुन्छ। हामी बसेको केही पर गोल बाँधेर तीन-चारजना मानिस बसी आपस्तमा कुराकानी गरिरहेको मेरा आँखामा पर्छ। ती एउटै परिवारका हुन् जस्तो लाग्छ। बीस-बाइस वर्षकी एउटी युवती, लट्ठी समातेर बसेको एउटा अधबैँसे मानिस, त्यस युवतीको बाबु होलान्, एउटी काली-काली दुब्ली आइमाई, १४-१५ वर्षको एउटा केटो र त्यो केटोभन्दा पनि उमेरले केही सानी केटी एउटी। त्यस युवतीका भाइ-बहिनी होलान् भन्ने अडकल काट्छु। किन हो कुन्नि मेरा आँखा त्यस युवतीको अनुहारबाट हट्नै खोजेका छैनन्। उसलाई अवश्य कतै देखेको हुनुपर्छ। तर, कता? मस्तिष्कमा जोड दिन्छु। स्मृतिलाई पछि धकेल्न खोज्छु। अहँ, सम्झना हुन्न। तर त्यस युवतीलाई पक्कै पनि कतै देखेको हुनुपर्छ जस्तो लागिरहेको छ। देखेको मात्रै होइन, ऊसित कुराकानी पनि गरेको हुनुपर्छ।
एकछिनपछि छोरी र ज्वाइँ बिदा लिएर सुरक्षा-जाँचका लागि एयरपोर्ट परिसरभित्र पस्छन्। हामीलाई खल्लो-खल्लो लाग्छ। यस्तै त हो छोरीको जात। आउँदा रमाइलो लाग्छ। फर्किँदा मन कटक्क दुखेर आउँछ। जे न होस् उनीहरू आफैँमा सुखी छन्, उनीहरूको भविष्य यसरी नै सुखमय होस्, यस्तै कामना गर्दै गाडीका लागि पार्किङ लटतिर जानुअघि ट्वाइलेट जाने मन हुन्छ। एयरपोर्टको हाताबाहिर छेउमै छ एउटा ‘पे ट्वाइलेट’। ठिक त्यही बेला मगजमा ट्वाङ्ङ शब्द एउटा ठोकिन्छ -‘पे ट्वाइलेट! पे ट्वाइलेट!’ हठातै मस्तिष्क छङ्ङ हुन्छ। हलुको लाग्छ। यहीँ चर्पीघर यानि पे ट्वाइलेटमा त भेटेको थिएँ त्यस युवतीलाई। ३-४ महिना अघिको कुरो। छोरालाई पुऱ्याउन एयरपोर्ट आएका थियौँ। म र श्रीमती। छोरालाई बिदा गरेर फर्किँदा श्रीमतीले ट्वाइलेट जाने इच्छा गरेकी थिइन्। उनलाई ट्वाइलेट लैजाँदा भेट भएको हो ती युवतीसँग। सबै आलो भएर आउँछ यतिखेर। दिन सधैँ जस्तो नै थियो। असामान्य केही थिएन। आज छोरीलाई बिदा गरेर फर्कँदा जति खल्लोखल्लो लागिरहेको छ त्यस्तो त्यतिखेर भएको थिएन। छोरो पुणेमा जागिर खान्छ। आयो। केही दिन बस्यो। अनि फर्क्यो। फेरि आउँछ। सबै सामान्य कुरा नै त हुन् यी। यस्ता सामान्य कुराहरूमाझ एउटा असामान्य घटनाको सम्मुख हुनुपरेको थियो त्यतिखेर। ट्वाइलेट पस्ने ढोकाछेउ एउटा पुरानो टेबलमा दुई हात राखेर एउटा सानो टुलमाथि बसेकी थिई एउटी ठिटी। सुइजरमाथि हलुको पहेँलो रङको स्वेटर लाएकी। गहुँगोरी, तर बान्की परेको अनुहार। मलाई असहज लागिरहेको थियो। पे ट्वाइलेटमा रुपियाँ बुझ्ने कुनै पुरुषव्यक्ति हुनुपर्ने। आइमाईमान्छे भएको थोरै भेटिएको छ। पे ट्वाइलेट बेहोरेर हामी दुवै फर्केपछि मैले रुपियाँ दिन खोजे। मसँग छुट्टा थिएन। सयको नोट नै दिनुपऱ्यो। तर ऊसित पनि सयको छुट्टा थिएनछ। धर्मसङ्कटमा परेको थिएँ म। के गर्ने?
मेरो अवस्था बुझेर उसैले मलाई भनी, ‘केही छैन अङ्कल, पछि कहिले दिनुहोला नि। के गर्ने त!’
तर मलाई भने अप्ठ्यारो लागिरहेको थियो। एक त चर्पीघर जस्तो ठाउँ। त्यसमाथि सेवामा एउटी ठिटी। कुनै करमा परेर नै त यहाँ काम गर्नुपरेको होला ! त्यसैमा ज्याला चुक्ता नगरी कसरी जाने ? म अक्करमा परेको थिएँ।
मलाई घोरिएको देखेर उसले एक खेप फेरि दोहोऱ्याई, ‘हुन्छ अङ्कल, धन्दा नमान्नुस्। फेरि फेरि आउँदा दिँदा हुन्छ नि !’
हुन त काम कुनै पनि सानो वा ठुलो हुँदैन। तर त्यस युवतीको कुरा गर्ने शैलीले मलाई कता कता आकर्षित गरिरहेको थियो। केही सङ्कोचका साथ मैले सोधिपठाएँ, ‘नानी, एउटा कुरो सोधूँ, नराम्रो मान्दिनौ त?’
‘भन्नुस् न अङ्कल। किन नराम्रो मान्नु र !’ उसले मेरो आशयको पूर्वाभास गरिसकेकी रहिछ। त्यसैले एउटा झिनो मुस्कान उसका ओठमाझ कोरिएको थियो।
‘हुन त कुनै काम पनि सानो हुँदैन। तर मैले के जान्न चाहेको भने तिमीले किन यही काम रोजेकी। अरू काम पनि त छन्।’
‘अङ्कल, हाम्रो आर्थिक अवस्था राम्रो छैन। यो काम मेरो होइन। यहाँ बाबाले काम गर्नुहुन्थ्यो। हाम्रो घरमा कमाउने व्यक्ति बाबा मात्र हुनुहुन्छ। परिवारमा म छु। मपछि एउटा भाइ छ। ऊपछि एउटी बहिनी। दुवै पढ्दै छन्। आमा प्राय: बिरामी रहनुहुन्छ। मात्र बाबाको नोकरीको भर। तर, एक महिनाअघि बाबाको एक्सिडेन्ट भयो। कामबाट फर्किँदा बाटामा एउटा ट्याक्सीले हानेर भाग्यो। दाहिने खुट्टै भाँच्चिएछ। तुरुन्तै अस्पताल लगियो। प्लास्टर गर्नु पऱ्यो। त्यसैले एक महिनादेखि बाबा घरमै बस्नुपरेको छ। बाबाको ठाउँमा यहाँ अर्को मान्छे राखियो भने बाबा ठिक भएपछि फेरि यो नोकरी नभेट्ने हुँदा बाबा जाती नहुँदासम्म म काममा बसिदिनुपरेको हो। निको भएपछि फेरि बाबाले काम गर्नुहुन्छ।’
‘ओह!’ यति नै निस्केको थियो मेरो मुखबाट। तर त्यस ठिटीको सरल बोली र निरीह अनुहारले अझै केही बुझाउने चेष्टा गरे झैँ लागिरहेको थियो मलाई।
यस घटनाको केही दिनसम्म ऊप्रति मेरो ध्यान आकृष्ट रहिरह्यो – दुर्घटनाले व्यथित बाउ, रोगी आमा, आश्रित बहिनी-भाइ। एउटा असहायपनको जालोमा बेह्रिएकी त्यस ठिटी।
फेरि समयको अर्को एउटा मोडमा यतिखेर बाघडुग्रा एयरपोर्टमा त्यो युवती आमा-बाबुहरूसँग केही पर कुराकानीमा व्यस्त छे। पे ट्वाइलेटतिर हिँडेका मेरा पाइला त्यस युवती भएतिर अनायासै डोरिन्छन्। एकै छिनमा चालै नपाई म उनीहरूको अघि पुग्छु। कतै केही भुल त भएको छैन ! ट्वाइलेटमा काम गर्ने ती युवती यहाँ ! म उसलाई राम्ररी ठम्याउन खोज्छु। ठहर ठिकै गरेको रहेछु। उही नै रहिछ ती ठिटी। म केही बोलूँ त्योभन्दा अघि नै उसले मसिनो हाँसो हाँसेर भन्छे, ‘अङ्कल तपाईं!… नमस्कार। सञ्चै हुनुहुन्छ ?’ फेरि मेरो उत्तरको प्रतीक्षा नगरी आमा-बाबुतिर फर्किन्छे, ‘यहाँ अङ्कल हुनुहुन्छ। काममा भेट भएको थियो। बहुत जाती हुनुहुन्छ अङ्कल।’
म उसका आमा-बाबुतिर हेर्दै जम्ल्याहा हात पार्छु। फेरि उसको ‘सञ्चै हुनुहुन्छ ?’-को उत्तर नदिई उसलाई नै सोध्छु, ‘बाबा काममा लाग्नुभो’?’
‘लाग्नुभयो अङ्कल। एक महिना भयो। लट्ठीको भरमा हिँड्नुहुन्छ। अझै केही दिन लट्ठी छुट्दैन होला। बिस्तारै ठिक होला नि !’ उसले यताउति हेर्दै भन्छे।
‘अनि तिमी यहाँ एयरपोर्टमा !कतै जाँदैछ्यौ ?’ म सोध्छु।
‘होइन अङ्कल। कोलकाताबाट मेरी साथीकेटी एउटी आउँदै छे। उसैलाई रिसिभ गर्न आएका।’ उसले सहज भावमा उत्तर दिन्छे।
‘कोलकाताबाट…?’
‘कोलकाता किङ्स्टन ल’ कलेजमा एउटै स्ट्यान्डर्डमा पढ्छौँ हामी। सेकेन्ड इयरमा। अहिले बिदा चल्दैछ। दुई-चार दिन घुम्न आउँदैछे। त्यसपछि हामी सँगै फर्किन्छौँ।’ उसले बुझाउने चेष्टा गर्छे।
‘ल’ कलेजमा… तिमी ल’ पढ्दै छ्यौ ?’ म छाँगोबाट खसे झैँ हुन्छु। ल’ पढ्ने केटी ट्वाइलेटमा बसेर ज्याला थाप्छे – मेरा आँखाअघि एउटा अचम्मको रिल घुमेर जान्छ। उसप्रति मन पग्लेर आउँछ अनि उसको आँटलाई म मनमनै सलाम गर्छु।
‘हो अङ्कल। मलाई बाबाले निकै मिहिनेत गरेर, एक-एक पैसा जगेडा गरी ल’ पढाउँदै हुनुहुन्छ। बाबाको इच्छा – पढेर म एक दिन ठुलो उकिल बनूँ र भाइ-बहिनीको पनि भविष्य बनाउन सकूँ।’
‘धेरै धेरै आशीर्वाद छ नानी तिमीलाई। तिम्रो नाउँसम्म सोध्न बिर्सेछु म।’
मेरो नाउँ दीपा हो…दीपा साहनी। बाबाको नाउँ किशनलाल साहनी। घर बागडुग्रा एयरपोर्ट मोडमा छ। राजकुमार होटलको पछिल्तिर। भ्याएदेखि कहिले आउनुहोला नि ! मेरो मोबाइल नम्बर लिनुहोस् ल।’
मेरो पाइन्टको गोजीमा हातका औँला त्यो दिन उसलाई दिन बाँकी रहेको दस रुपियाँको नोटसँग खेलिरहेका छन्। तर त्यो निकालेर उसलाई दिने आँट भने भएको छैन। यतिखेर मैले आफ्नो हेक्का मात्रै गुमाइसकेको थिइनँ, पे ट्वाइलेट जान पनि बिर्सिसकेको रहेछु। मैले पर्सबाट सय रुपियाँको नोट एउटा निकाली उसका हातमा राखेर भनेँ, ‘दीपा नानी! यो घर फर्किँदा आउने साथीसँग बसी कफी खानका लागि।
फर्किँदा श्रीमतीलाई सोध्छु, ‘एक-एक कप कफी खाने?’
‘पर्दैन। घरै गएर खाँदा हुन्छ।’ उनले भनिन्। गाडीभित्र बसेका हामी कफीको बाफले आँखाका परेली भिजे-भिजे जस्तो लाग्छ। कुन्नि किन हो जाडाको यो दिनमा आकाशमाथि चढिरहेको घाम नचर्केर न्यानो न्यानो लागिरहन्छ।