-अजित वियोगी
थाहा छैन प्रेम कसरी हुन्छ ? प्रेम यसरी हुन्छ भनेर थाह भयो भने त्यो प्रेम हुँदैन ।अरू नै केही हुन्छ । यसरी थाह नभएरै प्रेम हुनु सायद प्रेम हुँदो हो । यो जीवनले जीवन रहेसम्म कति जनालाई ? कसरी ? कहिलेसम्म? प्रेम गरिरहन्छ थाह छैन । मलाई यति चाहिँ थाह छ कि कमसेकम यो जुनीसम्म त मलाई थाह हुने नै छैन।
कति प्रेम बिर्सिएँ ।प्रेम थिए’ रनै बिर्सिएका प्रेमहरू सम्झिएँ । यसरी नै अफिसमा बसेर गुगलमा दैनिक समाचार बुलेटिन सेरोफेरो फटाफटका लागि केही खबर सङ्कलन गर्दै थिएँ । खासै केही पाएकै थिइनँ । ब्रेकिङ र ट्रेन्डिङमा केवल कोरोनाकै समाचारहरू स्क्रोल भइरहेका थिए । कोरोनाको भ्रामक सूचनाबाट लाचार समाचारबाट म तर्किएँ । गुगलबाट फेसबुक फिडतिरै फर्किएँ।
फेसबुक फिडमा न्युज खोज्नकै लागि विभिन्न सोशल मिडियाका पेज नियाल्दै थिएँ ।अरूथोक म स्किप गर्दै गइरहेको थिएँ, अचानक मोबाइलको स्क्रिनमा सरिरहेको/चलिरहेको हात रोकियो । तल सर्नै सकेन अर्थात स्क्रोल नै भएन।
नेपालका कवि नवीन प्यासीले एउटा पोस्ट भर्खरै सेयर गरेका रहेछन् । त्यो पोस्टमा न उनको कविता थियो, न उनका केही काव्यिक हरफसितका फोटाको चडकधडक नै । पोस्टमा थियो मलाई नै हेरिरहेको जस्तो तस्विर, जो अझ केही क्षण हेरिरहे छुनमुनाइ हाल्नेछ । आफ्ना गीत गुनगुनाइ हाल्नेछ । त्यस्तो तस्विर मुन्तिर कालो बोल्ड अक्षरमा लेखिएको थियो ‘रहेनन् वरिष्ठ गायक प्रेमध्वज प्रधान।‘
प्रेमध्वज प्रधानको फोटोमा अडिएर यताउता गरिरहेका औँलाले उनको तस्विर सुम्सुमाउन खोजेको मात्र के थिएँ पोस्टको लिङ्क खोलिएर काला शब्दहरु छरिए। छरिएका शब्दहरू सङ्गालिएर मनै भङ्गाल्ने वाक्य बनिएका थिए । ती वाक्यहरूले दुनियासामु समाचार सञ्चार गरिरहेका थिए- ‘वरिष्ठ गायक प्रेमध्वज प्रधानको निधन भएको छ । ८३ वर्षीय गायक प्रधान लामो समयदेखि न्युरो सम्बन्धी समस्यासँग जुधिरहेका थिए । यही समस्याका कारण सुन्धरास्थित न्युरो अस्पतालमा भर्ना भएका प्रधानको उपचारको क्रममा निधन भएको परिवारले पुष्टि गरेका छन्।‘
म स्तब्ध भएँ । त्यहाँबाट तल हेरिनँ । पढिनँ। अब पढ्न नै के बाँकी रह्यो र ! लेखिएका अक्षर/शब्द/वाक्य रहेर के भयो र जब प्रेमध्वज नै बाँकी रहेनन् । एकमनले फेरि लाग्छ प्रेम कहिल्यै मर्दैन। प्रेम मऱ्यो भने संसार रहँदैन । त्यसैले संसारमा ‘प्रेमध्वज’ अग्लिएर फरफराइरहनेछ।
अफिस कोठामा खेसाङ, हाङ्खिम, मदन बल, पेमा, विवेक गोले थिए । कोही एकआपसका गफमा थिए । कोही मोबाइलकै धुनमा । मैले एक्कासी भने घुम्तीमा नआऊ है-का गायक बितेछन् !
सबैको अत्यासको स्वर थियो ‘ल्या !… कहिले ? कतिबेला ??
मैले केही नबोली मेरो फोन बिस्तारै खेसाङलाई दिएँ । यतिञ्जेल सबै फेसबुक/युट्युब खङ्गाल्न थालिसकेका थिए । म पनि दिमागमा उनका गीतहरू स्मरणस्वरूप सङ्गाल्न थालिसकेको थिएँ।
खेसाङले उनको निधनको समाचार कोठामा सबैले सुन्ने गरी पढिरहेको… थियो। छेउमा विवेक गोलेको फोनमा युट्युबबाट खोतलेर पर लैजाऊ फूलहरू…, यता हाङ्खिमकोमा पनि गोरेटो त्यो गाउँको…बजिरहेको थियो।
प्रेम गरेको मान्छेलाई सम्झँदा कति धेरै याद एकैचोटि आउँदारहेछन् । सम्झना गर्न समय लाग्दोरहेनछ। मैले सम्झिएँ -कञ्चनजङ्घा एफएमबाट कुनै रात प्रेमध्वजको गीत नमान लाज यसरी कति आनन्दले सुनेको थिएँ।
एकदिन तिहारको अवसरमा एउटा सङ्गीतमय साँझको आयोजन भएको थियो जहाँ म उद्घोषकको भूमिकामा थिएँ । त्यसबेला गायकहरूलाई मञ्चमा बोलाउने क्रममा मैले अनायासै एउटा गीत गाएको थिएँ । त्यो गीत थियो-
घुम्तीमा नआऊ है
आँखा तिमी जुधाउन
बाँधिए माया फेरि
गाह्रो हुन्छ फुकाउन।
म कुनै गायक थिइनँ र होइन पनि । चाहेर हुन सक्दिनँ पनि । त्यसदिन मलाई गायकहरूका भिडमा गायक बन्ने रहर थियो । थाह छैन रहरले यही गीत नै किन गाउन दियो । मलाई अझै पनि त्यही रहर थाह गर्ने रहर लागिरहन्छ।
त्यही गीतबाटै प्रेमध्वजसँग प्रेम भएको हो मेरो । न कहिले देखेँ । न भेटेँ । मात्र सुनेर/सुनिरहेर नै प्रेम बसेको हो उनीसँग। साहित्यकार विजयकुमार एकठाउँ भन्छन् –प्रेम गर्न कसैलाई भेट्नै किन पर्छ र प्रेम वाइन्साइडेट पनि त हुन्छ।
प्रेम भएपछि त भएको भएकै हुँदोरहेछ, निरन्तर…। सम्बन्धमा निरन्तरता र निस्वार्थ नै प्रेम हो, जस्तो उनका गीतहरूसँग भएको थियो। गीतहरू थिए प्रेमध्वज । प्रेमध्वज नै गीतहरू।
यस्तै केही सोचाइमा थिएँ । सेरोफेरो फटाफटमा यो समाचार पनि समावेश गर है भन्दै खेसाङले झकझकायो । समाचार खोजिरहेको मैले आज कस्तो समाचार पाएँ । पत्रकारले उसले चाहेजस्तो मात्र समाचार सुनाउन पाउँदैन । यस्तो समाचार नहुनु नि भएपनि सत्य नहुनु नि भन्ने लागिरह्यो । मलाई त्यस्तो लागिरहनु मेरो सोचाइ भ्रमयुक्त थियो । यथार्थ भने भ्रममुक्त थियो। भग्न मानस शोकमग्न बन्यो ।