- विरही काइँला
बि.सं. २०६०/७/१५ शनिबारका दिन काठमाडौँको प्रज्ञा प्रतिष्ठान भवनमा आफूलाई याक्थुम्बा भन्न रुचाउने लिम्बू जातिको च्याब्रुङ नाच प्रदर्शन भइरहेको थियो । नाचको आयोजन किरात याक्थुङ चुम्लुङ नेपालले गरेको थियो । दार्जिलिङ गोर्खा पार्वत्य परिषद्का कलाकारहरूले गीतसँग नाच प्रस्तुत गर्दैथिए। गायिका डेजी बराइली र साथीहरूका स्वरमा केसाम ६ मात्राको बोल थियो – युमा सामलाई सेवारो । थेबा सामलाई सेवारो।
मेरो छेउमा बसेका मित्रले बिस्तारै भन्यो –गीत गाउँदै च्याब्रुङ गजबले पो नाचिँदो रहेछ ।”
“गाउँ-घरमा देख्नु भएन ?”
“गाउँ-घरमा त च्याब्रुङ नै नाचिन्थ्यो तर गीत चाहिँ गाइएन ।”
“किन नि ?”
“गीत हुँदैन भन्थे ।”
“यहाँ त गीत गाउँदै नाच्दै छन् त ?”
“यो पहिलोपटक देखेको हुँ ।”
जजसले पहिलोपटक गाउँदै च्याब्रुङ नाचेको हेरे, तिनीहरू सबै छक्क परे । दार्जिलिङ सहरको क्यापिटल हलमा पहिलोपल्ट २० जून २००१ –मा दार्जिलिङ गोर्खा पार्वत्य परिषद्को सूचना एवं संस्कृति विभागका कलाकारहरूले च्याब्रुङ नाच प्रस्तुत गर्दा भारतीय लिम्बू सङ्गठनका सचिवले सिलगढीबाट प्रकाशित हुने एउटा नेपाली दैनिक समाचार पत्रमा च्याब्रुङ ताल बाजा हो यसमा गीत गाइँदैन भनेर विज्ञप्ति नै छापेका थिए।
त्यसबेला च्याब्रुङ नाच्दा गीत गाउने चलन उति थिएन । ६ मात्राको युमा सामलाई सेवारो र ८ मात्राको थेप थेप लुङमा फालेलुङमा गीतदेखि च्याब्रुङ नाच्ने क्रममा नाचसँगै गीत गाउने प्रचलन बढेर गयो । यसरी गीत गाउँदै च्याब्रुङ नाचको अभियान दार्जिलिङ गोर्खा पार्वतीय परिषद्का तत्कालीन शासक सुवास घिसिङले चलाएका थिए । दार्जिलिङ गोर्खा पार्वतीय परिषद्को कार्यक्रममा च्याब्रुङ नाच प्रर्दशन गरिन्थ्यो । घिसिङको निर्देशनमा पश्चिम बङ्गालका विभिन्न स्थानसँगै पूर्वाञ्चल राज्यहरूमा च्याब्रुङ नाच पुगेको थियो ।
सुवास घिसिङले दार्जिलिङ गोर्खा पार्वतीय परिषद्को सूचना एवं संस्कृति विभागमा दार्जिलिङबाट ८ र मिरिकबाट २ गरी कुल १० जना च्याब्रुङ नृत्यकार नियुक्त गरेका थिए । च्याब्रुङ नृत्यका लागि सरकारी नियुक्ति पाउने यिनीहरू प्रथम लिम्बू कलाकारहरू हुन् भन्दा कुनै अपवाद नहोला । किनभने दार्जिलिङ सरह सुखिम, असमलगायत पूर्वाञ्चल राज्यहरूमा लिम्बूहरू बसोबास गर्छन् । नेपालको पूर्वीय क्षेत्र लिम्बूवान नामले प्रख्यात छ। तर त्यहाँको सरकारले च्याब्रुङ नृत्यकारको नियुक्त गरेको छैन।
लोकगायक नवीन कुमार खड्काको सुवास घिसिङसँग भेटपछि उनले पनि च्याब्रुङ गीत गाउन शुरू गरे । त्यसपछि नवीन कुमार खड्का, कमलबहादुर खत्री, पुस्ताका खड्का र मनु नेम्बाङका स्वरमा बाँसैको झ्याङमा चरीलाई लाई गोविन्द आङबुङ, नवीन कुमार खड्का, पुस्ताका खड्का र मञ्जु सम्बाहाङफेका लाखिरो पारी कठैबरीजस्ता च्याब्रुङ गीतहरू म्युजिक नेपालले बजारमा ल्याएको थियो ।
याक्थुम्बाहरूको प्रमुख बाजालाई के भनिन्छ । याक्थुम भाषामा के-भनेको च्याब्रुङ हो । च्याब्रुङको उत्पत्तिबारे विभिन्न आख्यान छन् ।
कतिले ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका ६ लेलेपको केघिङदेनलाई यसको उत्पत्तिस्थल मानेका छन् भने कतिले केसामी नाम्सामीको कथासँग जोडेको पाइन्छ। नाम्सामी (मानव)-ले केसामी (चितुवा)-को छाला सुकाएको ठाउँ सेहोनाम्लाङ (छालासुकुवा) पाँचथरमा छ । तर, थेबासाम मुन्धुम अनुसार करवाँपितको भोग दिएपछि पिचवा र लोरिङदेनले त्यसको छालाले जोडसँग हावा चल्दा हँहँहँ गरेर जिस्कने धोन्द्रो परेको खमारिको रूख (हङगेसिङ)-लाई ढालेर दुईतिर मोहोरी के बनाए । जिस्कनुलाई लिम्बुमा के पनि भनिन्छ । केलाई हातको पञ्जाले हिर्काउँदा त्याङ आवाज निस्केछ। लिम्बूमा त्याङ भनेको आएँ हो । “त्याङ” आवाजलाई “के” को साम अर्थात आत्मा मानिएको छ । यसर्थ केसामको अर्थ च्याब्रुङको आत्मा वा शक्ति हुन्छ ।
थेबासाम थेप्मा अनुष्ठान सम्पन्न गर्ने क्रममा नारासेमा गर्दा गाइने केसाम ६ मात्राबाट शुरू गरेर ८ मात्रामा अन्त गरिन्छ, जस्तै-
“हायु.. आल्ल चुङसला लबे थङसला तोक्पे ।।
“हायु… हङग्ये सिङग्ये पिथिक्ये मुयेत काम काम ।।
“हायु.. कामग्ये युङग्ये इङजाङ जाङ तुख्खे लाक्खे खेत खेत ।।”…भन्दै फेदाङबाले मुन्धुम गाउँदा लोरिङदेन र पिचवा चाहिँ च्याब्रुङ भिरेर मूलखाँबोलाई देब्रेतिर पारेर दाहिनेबाट फन्को लगाएर “ति या हा” भन्दै नाच्ने गर्छन् ।
यसरी नै नयाँ घरमा थक थाम थाम विवाहमा मेत काम काम तालमा पनि मूलखाँबोका वरिपरि च्याब्रुङ नाचिने परम्पराको मुन्धुमबाहेक बेग्ला बेग्लै छन् । फेदाङ्बा र तुम्याहाङले च्याब्रुङलाई ‘के’ भने पनि साम्बा र येबाले यसलाई ’नियारा’ भन्ने गर्छन् ।
च्याब्रुङ ताल बाजा हो । च्याब्रुङको तालमा कदम चालेर नाच्दा कहिले हातले, कहिले शरीरको अङ्गद्वारा जलचर-थलचरको अभिनय गरिन्छ ।
पुतलीदेखि हात्तीसम्मको अनुकरण गर्दै च्याब्रुङ नाचिन्छ । यस्ता नाचहरूमा कुसरक्पा (साधारण) नाच एउटा हो ।
कुसरक्पा नाच एउटा भएपनि नाचिने तरिका चाहिँ ठाउँ अनुसार अलिक फरक छन् । यो नाच पाँचथर, चौबिस र छथरतिर १ २ ३ गर्दै १६ कदमसम्म अगाडि अनि त्यति नै कदम पछाडि सरेर नाचिने गरिन्छ । ताप्लेजुङका ताम्ब्राङ, साँगु र मेवाखोलातिर भने अलिक फरक छ । त्यतातिर कुसरक्पा १ २ ३ गर्दै ८ कदम अगि सर्दै नाच्ने चलन छ । अर्को लाम्दाक नाचमा ५ कदम अघि मात्र कदम चालिने गरिन्छ ।
हिजोआज सुनिता थेगिम, मनु नेम्बाङ, ब्रबिम सेर्मा, अग्नि लावती, इन्द्र सुशील, सृजना चबेगु, सुमन लिम्बू, निरन्ता नेम्बाङ आदि धेरै गायक,गायिकाको स्वरमा च्याब्रुङ गीतहरू बजारमा पाइन्छन् । च्याब्रुङ नाच कम छायाङ्कन गरिएको भए पनि अत्यधिक लोकप्रिय गीत सुनिता थेगिमको खेप्सेम्मे खेप्सेम्मे तेङजुम्से, नेही निङ्वा मेबोनेन् साप्ला मेन्निते हो भन्न सकिन्छ । लिम्बूहरूमा हुँदै नभएका चलन दुल्हाले दुल्हीको
सिउँदोमा सिन्दुर लगाइदिएको दृश्यको विरोध हुँदाहुँदै पनि दर्शकहरूले विराट् कला समूह कल्चरल डान्स ग्रुपको आदुमेरो आदाङबासे चासुक्ले तङनामओ च्याब्रुङ नाचलाई मन पराइ दिए ।
अहिले आएर एउटै लर्कोमा युवक-युवतीहरू तालमा ताल मिलाएर केसाम गाउँदै च्याब्रुङ नाच्ने गर्छन् । केसाम गाउनेहरूमा दिलीप फुरुम्बो, जे.पी. नेम्बाङ, शान्ता केरुङ, रीता फुरुम्बो, पुनम सम्बाहाङ्फेको नु मुइङ केसाम लोकप्रिय छ ।
तान्छोगेन ताजेङ इङ्वा कासे । आदुमे फुङ्ये नीङ्वा तासे । केसाम गीतमा युवा जागरण समाज, मोराहाङ-तेह्रथुमका कलाकारहरूले सुन्दर कुसरक्पा नाच प्रदर्शन गरेका छन् ।
यसरी नै सुकेटारको सिरेटो,जाडो रोक्नु रापैले, चुह्लोमाथि फलाम ओधानी भन्ने गायक डी.बी. लिम्बूको नेपाली गीतमा समाज सुधार समूह चुलाचुली इलामका कलाकारहरूले च्याब्रुङ नाचलाई अझ फराकिलो बनाएका छन् । यसरी नेपाली गीतहरूमा पनि च्याब्रुङ भिरेर नाच्ने कलाकारहरूले शिरबन्दी च्याट्टै निधारैमा, कति सुहाको । रिसानी भए माफी पाउँ” गीतमा सुन्दर नृत्य प्रस्तुत गर्दै आएका छन् । यो च्याब्रुङ नाचको लागि शुभ सङ्केत नै मान्न पर्छ।
अहिले आएर च्याब्रुङ नाच प्रस्तुत गर्दा नृत्यकारलाई भिर्न सजिलाका लागि यसको बनावटमा सानो र छोटो बनाउन थालिएको छ । यस्ता च्याब्रुङको आवाज राईको सिली नाचमा प्रयोग गरिने ढोलको जस्तो हुन्छ । यसलाई च्याब्रुङ भनेर नाचिए पनि यो ढोल हो, च्याब्रुङ होइन । लिम्बूहरूले ढोल होइन च्याब्रुङ बजाउँदा सात गाउँ परसम्म सुनिन्छ । यसैकारण लिम्बूको साँस्कृतिक बाजा च्याब्रुङको छुट्टै महत्त्व छ ।