बन्द पानीघट्टा चियाकमानमा स्वास्थ्य जाँच र वस्त्र वितरण

0
1386

सिलगढ़ी, 18 जनवरीः अल इण्डिया वुमन्स कन्फरेन्स भैरवी सामाजिक महिला सङ्घले संयुक्त रूपमा शनिवार बन्द रहेको पानीघट्टा चियाकमानस्थित गिरमिट लाइनमा त्यहाँका श्रमिक तथा उनीहरूका परिवारका लागि निःशुल्क स्वास्थ्य जाँच शिविरको आयोजन गर्नका साथै वस्त्र पनि वितरण गरे।

जानकारीका अनुसार यसअवसरमा स्थानीय 200 भन्दा बढ़ी मानिसले आफ्नो आँखालगायत स्वास्थ्य जाँच गराएका थिए, जसमा स्वास्थ्य जाँचसँगै  स्वास्थ्य सरसफाइबारे पनि स्थानीय मानिसहरूलाई जानकारी गराइएको थियो।

स्वास्थ्यसम्बन्धी यस जागरूकता कार्यक्रममा विशेषगरी महिलाहरूलाई मासिक धर्मबारे जानकारी गराइएको थियो।

शिविरमा उपस्थित डाक्टरहरूले ती उपस्थित महिलाहरूलाई मासिक धर्मको समय अन्य बेला पनि सरसफाइमा ध्यान दिनका लागि सुझाए। यदि सरसफाइमा ध्यान नदिएमा अथवा लापरवाही अपनाइएमा डरलाग्दा रोगहरूका शिकार हुनसक्ने पनि बताए।

यसअवसरमा बोल्दै  अल इण्डिया वुमन्स कन्फरेन्स दार्जीलिङ शाखाकी  सचिव गुणकेश्वरी प्रधानले भनिन्, “यहाँका श्रमिकहरूका आर्थिक अवस्था अत्यन्त कमजोर रहेको हामीले पायौं। यसका साथै उनीहरूका लागि कानुनी सचेतना पनि अत्यावश्यक रहेको ठानेका छौं। यसैले हामी अर्को शिविर यहाँ आयोजन गर्दा श्रमिकहरूलाई कानुनी मामिलामा सचेत बनाउने कार्य गर्नेछौं।

अर्कोतिर, भैरवी सामाजिक महिला सङ्घकी उपाध्यक्ष दुर्गाश्री देवानले 2015 सालदेखि बन्द रहेको पानीघट्टा चियाकमानका पीड़ित श्रमिकहरूलाई केही भए पनि सहयोग गर्नका लागि यो शिविर आयोजन गरिएको बताइन्।

बाँच्न जीविकोर्पाजनका लागि स्वस्थ रहनु अनिवार्य कुरा हो”, उनले भनिन्, “यसैले आज हामीले यहाँ निःशुल्क स्वास्थ्य जाँच शिविर आयोजन गरी निःशुल्क औषधि वितरण गर्ने सोच बनाएका हौं।

यसै सङ्घकी अध्यक्ष पुष्पलता ठकुरीका अनुसार निःशुल्क स्वास्थ्य जाँच शिविरमा मिरिक सिलगढ़ी डाक्टरहरू उपस्थित रहेर श्रमिकहरूका स्वास्थ्य जाँच गरेका थिए।

यसैबीच, शिविरमा उपस्थित एक श्रमिक फुलमणि लाकड़ाले यस सहयोगका लागि दुवै संस्थाप्रति आभार प्रकट गरिन्। साथै श्रमिकहरूका दयनीय अवस्थालाई ध्यानमा राखेर सरकारले जतिसक्दो चाँड़ो कमान खोलाउनका लागि गम्भीरपूर्वक पहल शुरु गर्नुपर्ने माग गरिन्।

स्मरणरहोस्, 2015 –मा दशैंको  मुखैमा बन्द भएको यस चियाकमानका श्रमिकहरूको अवस्थामा प्रतिदिन दयनीय बन्दै गइरहेको छ। यद्यपि आजका दिनसम्म यस कमान खोलाउनका लागि ठोस पहल हुनसकेको छैन।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here