धेरैभन्दा धेरै युवा सेनामा भर्ना भए जीआरडी नसर्ने!

0
2384

दार्जीलिङ, 18 जनवरीः  गोर्खा रिक्रुटमेन्ट डिपो (जीआरडी)-लाई बचाउनका लागि अधिक सङ्ख्यामा भर्नामा  भर्ती हुनुपर्ने खाँचो देखिएको छ। वास्तवमा अधिकभन्दा अधिक सङ्ख्यामा युवाहरू भर्ना भए मात्र जीआरडी पहाड़मा यथावत रहने भएको छ।

दार्जीलिङको घूमस्थित जीआरडीलाई बचाइ राख्नका लागि पनि यस केन्द्रबाट  धेरैभन्दा धेरै युवा सेनामा भर्ना हुन आवश्यक रहेको दार्जीलिङका भूतपूर्व सैनिकहरूले अघिबाटै बताइसकेका छन्।

यसैले दार्जीलिङको घूमस्थित जीआरडीमा आउँदो 12 र 13 फरवरीको दिन हुने सेना भर्नामा युवाहरूलाई अधिकाधिक सङ्ख्यामा उपस्थित भई भाग लिने गोर्खा भर्ना कार्यालयले आह्वान गरेको छ।

दार्जीलिङ र कालेबुङ जिल्लाका युवाहरूका लागि हुने यस भर्नाका लागि इच्छुक युवा उम्मेद्वारहरूका शैक्षिक योग्यता दशौं श्रेणी उत्तीर्ण भएको हुनपर्छ भने उनीहरूका माध्यमिक वा यसै समान परीक्षामा समग्रमा 45 प्रतिशत अङ्क प्राप्त गरेको हुनुपर्छ भने प्रत्येक विषयमा 33 प्रतिशत अङ्क ल्याएको हुनुपर्छ।

यति मात्रै होइन, यो भर्नाका लागि उच्छुक उम्मेद्वारहरूका उमेर 17 वर्ष 6 महीनादेखि 21 वर्षसम्म, ओजन 48 किलोग्राम, उँचाइ 157 सेण्टिमिटर, छाती सामान्य अवस्थामा 77 सेण्टिमिटर, फुलाउँदा 5 सेण्टिमिटर बढ्नुपर्ने प्रावधान पनि राखिएको छ।

जसअनुसार, दार्जीलिङ र सिलगढ़ी तहसिलका लागि 12 फरवरीको बिहान 4 बजेदेखि 6 बजेसम्म अनि कालेबुङ सदर, खरसाङ र मिरिक तहसिलका लागि 13 फरवरीको दिन भर्ना हुने भएको छ। यस सेना भर्नामा आवेदन गर्न चाहने उम्मेद्वारहरूले आफ्नो विवरण अनलाइनमार्फत् रिक्रुटिङ डाइरेक्टोरेटको वेबसाइट www.joinindianarmy.nic.in-मा पठाउन सक्नेछन्।

उल्लेखनीय छ, केही दिनअघि मात्र गोर्खा भूतपूर्व सैनिक कल्याण सङ्गठन ताम्साङ-पेम्बोङ शाखाले कुनै पनि जीआरडी दार्जीलिङबाट अन्यत्र सर्नसक्ने आशङ्का व्यक्त गर्दै यसको मूल कारण यहाँबाट अत्यन्त कम सङ्ख्यामा युवाहरू सेना भर्ना हुनु नै हो भन्ने बताएको थियो।

यसैले दार्जीलिङको जीआरडीलाई यहाँ नै रोकेर राख्नका लागि यस डिपोबाट अधिकाधिक सेनामा भर्ना हुन आवश्यक रहेको पनि यो भूतपूर्व सैनिक सङ्गठनको भनाइ थियो।

गोर्खा भूतपूर्व सैनिक कल्याण सङ्गठनको भनाइ थियो-दार्जीलिङबाट वार्षिक सेनामा 1,000 जनाको भर्ना हुनपर्ने हो, तर यहाँबाट बर्सेनि बलैले 200 देखि 300 जना मात्र सेनामा भर्ना भएर गइरहेका छन्। यसैकारण यो डिपो राख्नुको औचित्य नदेखेपछि नै भारतीय सेनाले जीआरडीलाई यहाँबाट हटाउन चाहेको हो।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here