दार्जीलिङ, 18 जनवरी: विमल गुरुङपन्थी गोर्खा जनमुक्ति मोर्चाका एक शीर्ष नेता, केन्द्रिय समिति सदस्य तिलकचन्द रोकाले आज पार्टीका सम्पूर्ण पदसँगै साधारण सदस्यबाट पनि राजीनामा दिए।
तिलक चन्द रोका गोजमुमोका एक सशक्त अनि शीर्ष नेता थिए, जसको राजीनामाले विमल गुरुङपन्थी गोजमुमोलाई गतिलै धक्का लागेको छ।
“वर्ष 2013-देखि 2020-सम्म हुनसम्मको प्रताड़ना दिने, गोर्खाल्याण्डप्रेमीहरूका निर्मम हत्या गर्ने पार्टीकी शीर्ष नेतृलाई नै फेरि मुख्यमन्त्री बनाउने पार्टी अध्यक्षको घोषणा वा निर्णयलाई कदापि स्वीकार गर्न सकिँदैन” राजीनामा दिनुको कारण खुलाउँदै उनले थपे, “2017-को आन्दोलनमा पुलिसको गोली लागेर शहीद बन्ने गोर्खाल्याण्डप्रेमीहरूका शव आफ्नै हातले उठाएको छु, ती शहीदहरूका शरीरबाट बगेको खून अझै आँखाअघि आइरहन्छ। हाम्रा ती युवाहरूमाथि गोला चलाउने पुलिसलाई ग्यालेन्ट्री अवार्डले सम्मान जनाउने पार्टीलाई नै फेरि सरकारमा ल्याउने कुरा मनले मान्दैन।’’
रोकाका अनुसार त्यस आन्दोलनको समय उनले पनि धेरै प्रताड़ना सहे, उनीविरुद्ध सबैभन्दा बेसी 149 वटा मुद्दा लागेको थियो।
उनले आफूमाथि लागेको मुद्दामाथि प्रकाश पार्दै भने-“आन्दोलनकालमा सबैभन्दा बेसी मुद्दा ममाथि लागेको थियो, तर म-भन्दा धेरै कम्ती मुद्दा लाग्ने व्यक्ति वा नेताहरूले आफ्नो घर फर्किनका लागि राज्यको सत्तारूढ़ दलसित सम्झौता गरेका छन्”, उनले थपे, “आन्दोलन हामीले गरेको हो, त्यसैले मुद्दा हामीमाथि लागेको हो। यदि ती मुद्दाहरूका लागि सङ्घर्ष गरेर अदालतमा आत्मसमर्पण गरेको भए, केही महीनापछि जेलबाट छुट्टिने पनि थियो अनि यति ठूलो सम्झौता गर्नुपर्ने अवस्था नै आउने थिएन।”
पार्टीमा कानूनी सल्लाहकारका रूपमा पनि रहेका रोकाले पार्टी अध्यक्ष विमल गुरुङविरुद्ध अधिकाधिक 114 वटा मुद्दा रहेको पनि जानकारी गराए।
“पार्टीमा मेरो नीति वा सिद्धान्त मिल्न सकेन। त्यसैले पार्टीबाट राजीनामा दिनु नै उचित हो’’, तिलकचन्द्र रोका थपे।