पोर्टो, १८ फरवरीः च्याम्पियन्स लिगको प्रिक्वार्टरको पहिलो लेगमा इटालियन जाइन्ट युभेन्टस् पोर्तुगेली क्लब पोर्टोविरुद्ध १-२ को गोलअन्तरले पराजित भएको छ।
युभेन्टस् आफ्नै गल्तीले हारेको हो। खेल शुरू भएको दोस्रो मिनटमै डिफेन्डरले डिबक्सभित्र गरेको गल्तीका कारण युभेन्टसले पहिलो गोल खाएको थियो। यो गोल इरानी फर्वर्ड मेहदी तरेमीले गरेका थिए।
त्यसपछि पुनः दोस्रो हाफको पहिलो मिनटमै मौसा मरेगाले गोल गरी पोर्टोलाई २-० को अग्रता दिलाएका थिए।
यद्यपि खेलको ८२औँ मिनटमा युभेन्टसका युवा स्टार फेडरिको किइजाले सुन्दर गोल गरी गोलअन्तरलाई छोट्याए।
पोर्टोको बलियो डिफेन्सअघि युभेन्टसका रोनाल्डो, मोराटाहरूको केही सीप चलेन। दुवैले फितलो प्रदर्शन गरे।
खेलका अधिकांश समय बललाई आफ्नो नियन्त्रणमा राखे तापनि युभेन्टसले हार भने टार्न सकेन।
अब दोस्रो लेग युभेन्टसको घरेलु मैदानमा आउँदो ९ मार्चका दिन खेलिनेछ।
अवे गोलका कारण युभेन्टस् केही सहज स्थितिमा त छ। तर, क्वार्टर फाइनलमा पुग्नका लागि युभेले दोस्रो लेगमा कम्तीमा १-० नभए योभन्दा फराकिलो जीत निकाल्न पर्नेछ।