केन्द्रिय मन्त्री स्मृति ईरानी र सुब्रमण्यम स्वामी दार्जीलिङ आउने!

0
1221

दार्जीलिङ, 18 फरवरीः आउँदो 23 फरवरीका दिन भाजपा नेतृ एवं केन्द्रिय मन्त्री स्मृति ईरानी र भाजपाका  सांसद सुब्रमण्यम स्वामी दार्जीलिङ आउने भएका छन्।

उनीहरूले त्यस दिन यहाँको दार्जीलिङको मोटर स्ट्याण्डमा आयोजना गरिने एक जनसभालाई सम्बोधन गर्नका साथै दार्जीलिङमा हुने परिवर्तन ऱ्यालीमा पनि भाग लिने पार्टीको रणनीति तयार पार्ने 17 सदस्यीय राज्य कमिटीका सदस्य मनोज देवानले जानकारी गराएका छन्।

यद्यपि, उनले राज्यका विभिन्न स्थानमा नै चुनाउ विषय लिएर पार्टीका विभिन्न कार्यक्रम रहेका कारण अन्तिम चरणमा दार्जीलिङ पहाड़ आउने शीर्ष नेतृत्वहरू परिवर्तन हुनसक्ने पनि उनले बताए।

उनले आउँदो 22 फरवरीका दिन कालेबुङबाट शुरू हुने परिवर्तन यात्रा दार्जीलिङ, खरसाङ अनि सिलगढ़ी भएर अन्य स्थान जाने कार्यक्रम रहेको पनि उनले बताए।

भाजपाको परिवर्तन यात्रा कालेबुङमा 22 फरवरी, दार्जीलिङमा 23 फरवरी, खरसाङमा 24 र 25 फरवरी सिलगढ़ीमा हुने पनि उनले जानकारी गराए।

उल्लेखनीय छ, भाजपाले बङ्गालभरि नै विधानसभा चुनाउका लागि आफ्नो कसरत शुरू गरिसकेको छ।

यसै क्रममा अब भाजपाले दार्जीलिङ पहाड़का तीनवटा आसन पनि हत्याउने प्रयास गरिरहेको छ।

यसबारे एक प्रश्‍न गर्दा देवानले भने, “भारतीय जनता पार्टीको दार्जीलिङ जिल्ला समितिले पहाड़का तीनैवटा आसनमा भाजपाकै उम्मेद्वार उठाउनुपर्छ भन्ने चाहेको छ। तरै, पनि भाजपाले पहाड़का घटक दलहरूसित मिलेर चुनाउ लड्ने पनि तयारी गरिरहेको छ।”

उनका अनुसार समयको मागअनुसार नै पार्टीले दार्जीलिङ पहाड़का तीनवटा आसनमा उम्मेद्वारबारे छलफल गर्नेछ।

पहाड़का तीनवटा आसनमाथि आफ्नो अधिकार जमाउन अनि यहाँका जनतालाई रिझाउनका लागि पार्टीले विशेषरूपले दार्जीलिङका सांसद राजु बिष्टलाई सबैभन्दा अघिल्लो पङ्क्तिमा राखेको छ।

यसैले अब आउँदो विधानसभा चुनाउमा भाजपा सांसद राजु बिष्टले दार्जीलिङ पहाड़का तीनवटा आसनमाथि नै बेसी ध्यान दिने राजनैतिक विश्‍लेषकहरूको अनुमान छ।

यद्यपि, पार्टीले दार्जीलिङ पहाड़मा स्मृति ईरानीजस्ता स्टार प्रचारकहरूलाई पनि ल्याउन जारी राख्नेछ। तर, स्टार प्रचारकहरूले यसपालि दार्जीलिङ पहाड़का जनतालाई रिझाउन कुन मुद्दा र सङ्कल्प ल्याएर आउने हो, त्यो आगामी दिनमा नै स्पष्ट हुनेछ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here