दार्जीलिङ, 18 मार्च : चियाकमानका मालिकपक्षले दुई किश्ती गरी यसै महिनाको 31 मार्चसम्म बक्यौता राशि दिने बताएपछि गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो)-को श्रमिक सङ्गठन दार्जीलिङ तराई-डुवर्स प्लान्टेशन लेबर युनियन (डीटीडीपीएलयू)-आफ्नो अड़ानबारे केही नरम देखिएको छ।
यसभन्दा अघि चियाश्रमिक तथा सबस्टाफ-स्टाफहरूको बक्यौता राशि यथाशीघ्र दिनुपर्ने माग गर्दै 31 मार्चसम्मको अल्टिमेटम दिएको थियो। यदि यो अवधिभित्र मालिक पक्षले बक्यौता राशि नदिए चियापत्ती बिक्रीका लागि बाहिर लैजान नदिने चेताउनी दिएको थियो।
बक्यौता राशि नदिएकै कारण धेरजसो चियाकमानमा फर्स्ट फ्लशको पत्ती टिपाइ शुरु भएकै छैन। उल्लेखनीय छ, मालिक पक्षले बक्यौता राशि नदिएकै कारण डीटीडीपीएलयूले यसै महिनाको 7 तारिखदेखि चियापत्ती बिक्रीका लागि बाहिर लैजानमा रोकेको थियो।
यसबारे बोल्दै डीटीडीपीएलयुका महासचिव भरत ठकुरीले भने, “यो समस्या समाधानका लागि एउटा बैठक बसिएको थियो, जसमा मालिकपक्षले मार्च र जुलाईमा गरी दुई किश्तीमा बक्यौता राशि दिने कुरालाई हामीले अस्वीकार गरेका थियौं। यसपछि दुई दिनपछि टेलिफोन गरी 20 मार्चमा पहिलो किश्ती र 31 मार्चको दिन दोस्रो किश्तीमा दिन सहमत भएको छ।”
उनका अनुसार डीटीडीपीएलयूले यसबारे मालिकपक्षलाई सकारात्मक आश्वासन दिएको छ, तर मालिकपक्षले आफू वचनलाई पूरा नगरे युनियनले चियापत्ती बाहिर लैजान मात्र होइन, तर पत्ती टिप्नसमेत नदिने कुरा स्पष्टसँग बताएको छ। ठकुरीका अनुसार 40 प्रतिशत चियाकमानमा अझै बक्यौता राशि दिएको छैन।