एसपीएले गऱ्यो 9 उम्मेदवारको घोषणा

0
1061
घोषित 9 उम्मेदवारसँग एसपीएका नेतृत्वहरू।

गान्तोक,18 मार्चः सिक्किम प्रोग्रेसिभ अलायन्स (एसपीए)-ले सोमवार विधानसभा र लोकसभा चुनाउको निम्ति आफ्ना नौजना उम्मेदवारहरूको नाम घोषणा गरेको छ।

राजधानीमा सोमबार आयोजित एक पत्रकार सम्मेलनमा एसपीएले लोकसभासँगै आठ विधानसभा क्षेत्रका उम्मेदवारहरूका नाम सार्वजनिक गरेको हो।

एसपीएका प्रवक्ता डीबी बस्नेतले प्रथम चरणमा एसपीएले 9 उम्मेदवारको नाम घोषणा गरेको जानकारी दिए। आगामी केही दिनमा चरणबद्ध रूपमा अन्य नामहरू पनि सार्वजनिक गरिने बस्नेतले जनाए। एसपीएले लोकसभा आसनको निम्ति सिक्किम युनाइटेड फ्रण्ट (एसयूएफ) -का अध्यक्ष नरेन्द्र अधिकारीलाई आफ्नो उम्मेदवार बनाएको छ।

यसैगरी, राङगाङ-याङगाङ निर्वाचन क्षेत्रका लागि  निवर्तमान विधायक तथा सिक्किम राज्य मञ्च (एसआरएम) पार्टीका अध्यक्ष आरएन चामलिङ र गान्तोक निर्वाचन क्षेत्रको निम्ति सिक्किम नेशनल पिपल्स पार्टी (एसएनपीपी)-का अध्यक्ष दिले नामग्याल बर्फुङपालाई उम्मेदवार चयन गरिएको छ।

एसपीएका अन्य उम्मेदवारहरूमा अप्पर तादोङको निम्ति सिक्किम सङ्ग्राम परिषद् (एसएसपी)-का तारा भट्टराई, खामदोङ-सिङतामको निम्ति गोपाल खतिवड़ा (एसएनपीपी), पश्चिम पाण्डामको निम्ति विकास दर्जी (एसएनपीपी), नाम्चेबुङको निम्ति फिपराहाङ सुब्बा (एसआरएम), दरामदिनको निम्ति देतेम्पा शेर्पा (एसआरएम) र रिनाकको निम्ति रमेश खनाल (एसयूएफ) सामेल छन्।

एसपीएकी अध्यक्ष तथा पूर्व लोकसभा सांसद दिलकुमारी भण्डारीले विपक्षीहरू एकजुट बनेर चुनाउमा आउनुपर्छ भन्ने सिक्किमे जनताको इच्छा अनुरूप एसपीए गठन गरिएको बताइन्। सिक्किमका जनताले पनि परिवर्तन चाहेको र 25 वर्षे सरकार अब धेरै भयो भन्ने विचार व्यक्त गरिरहेको उनको भनाइ थियो। सिक्किमका जनता परिवर्तनको पक्षमा रहेको कुरा जनतासितको भेटघाटको क्रममा आफूले थाहा पाएको उनले दाबी गरिन्।

“सिक्किममा प्रजातन्त्रसित खेलाइँची भएको धेरै भयो। आउँदो चुनाउ सिक्किमको निम्ति निर्णायक हुनेछ। सिक्किमका जनताले परिवर्तन चाहेका छन् कि छैनन् भन्ने कुराको छिनोफानो आगामी चुनाउले गर्नेछ”, उनले बताइन्।

यसपालिको चुनाउलाई उनले ‘वाटरसेड इलेक्शन’-को रूपमा सङ्केत गरिन्। गोवाका मुख्यमन्त्री मनोहर पर्रिकरको निधनमा एसपीएको तर्फबाट उनले शोक प्रकट गरिन्। गठबन्धनका अर्का वरिष्ठ नेता तथा निवर्तमान विधायक आरएन चामलिङले एसपीएलाई दागबिनाको गठबन्धन बताउँदै यसलाई सन्देह गर्न नहुने मन्तव्य राखे।

“जनताका आशा, भरोसा, इज्जत र सम्मानलाई धोका दिनेछैनौं, सम्झौता गर्नेछैनौं”, उनले भने। एनएनपीपीका अध्यक्ष र एसयूएफका अध्यक्षले पनि पत्रकारहरूलाई सम्बोधन गरे। 

उल्लेखनीय छ, हालै गठन भएको एसपीएमा राज्यका चार राजनीतिक दल एसआरएम, एसएनपीपी, एसएसपी र एसयूएफ सामेल छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here