कोरोना भाइरसः विष्टको पत्र केन्द्रिय स्वास्थ्य मन्त्रीलाई

0
1201

दार्जीलिङ, 18 मार्चः सांसद राजु विष्टले केन्द्रिय स्वास्थ्य मन्त्री डा. हर्षवर्धनलाई एक पत्र पठाएर दार्जीलिङ पहाड़लगायत उत्तर बङ्गाल क्षेत्रमा कोरोना भाइरसको परीक्षण केन्द्र स्थापना गर्नुपर्ने माग गरेका छन्।

यसका साथै उनले आफ्नो संसदीय क्षेत्रमा ह्याण्ड सेनिटाइजर र मास्कको अभावबारे पनि ध्यानाकर्षण गराएका छन्।

सांसद विष्टले विशेषगरी दार्जीलिङ, खरसाङ, कालेबुङ, मिरिक, बिजनबारी, मिरिक, नक्सलबारी, सिलगढ़ी, फाँसीदेवा र चोपड़ा आदि क्षेत्रका मानिसहरू ह्याण्ड सेनिटाइजर र मास्क किन्न असमर्थ बनेको बताएका छन्।

किनभने यी क्षेत्रहरूमा सेनिटाइजर र मास्कको अभाव रहेको विष्टले  अवगत गराएका छन्।

यसका साथै उनले दार्जीलिङ पहाड़ी क्षेत्र संवेदनशील ‘चिकन नेक’ क्षेत्र रहेकोले क्षेत्रका मानिसहरूमा कोरोना भाइरसले ठूलो आतङ्क सिर्जना गरेको पनि पत्रमा बताएका छन्। यसैगरी उनले दार्जीलिङ पहाड़मा कोरोना भाइरसको उच्च जोखिम रहेको पनि बताएका छन्।

अर्कोतिर, उनले केन्द्रिय स्वास्थ्य मन्त्रीलाई उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पतालमा चाँड़ोभन्दा चाँड़ो कोरोना भाइरस टेस्ट सेन्टर स्थापना गर्नुपर्ने माग गरेका छन्। 

उनले केन्द्रिय स्वास्थ्यमन्त्रीसँगै केन्द्रिय गृहमन्त्री अमित शाह, विदेश मामिला मन्त्री डा. एस जयशङ्कर र बङ्गालकी मुख्यमन्त्री ममता ब्यानर्जीलाई पनि उल्लिखित विषयमा पत्राचार गरिसकेको विष्टले बताएका छन्।

यसैबीच, कोरोना भाइरस सङ्क्रमित रहेको शङ्कामा पाँचजना बिरामीलाई उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पतालको  आइसोलेशन वार्डमा राखिएको छ।

जानकारीका अनुसार यी पाँचैजना बिरामीको टेस्ट रिपोर्ट आएको छैन। टेस्ट रिपोर्ट आएपछि उनीहरू कोरोना सङ्क्रमित हुन् या होइनन्, त्यो पुष्टि हुनेछ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here