कालेबुङ, 18 मई : चर्चित कवि राजेन्द्र भण्डारीको कविता सङ्ग्रह इतिहासको बाडुली शनिबार लोकार्पण भएको छ। आज कालेबुङको वार्सिप सेन्टरमा आयोजित एक कार्यक्रमबीच भण्डारीको इतिहासको बाडुली लोकार्पण भएको हो।
कार्यक्रममा विशेष रूपले उपस्थित वरिष्ठ कवि मनप्रसाद सुब्बा, सङ्गीतकार मधुसुदन लामा, लेखक एवं जनआन्दोलन पार्टीका अध्यक्ष डा. हर्कबहादुर छेत्री, कृतिका स्रष्टा राजेन्द्र भण्डारी, कथाकार प्रदीप गुरुङ, लेखक रूद्र पौडेल, कथाकार देव भण्डारी, थीरुप्रसाद नेपाल र प्रकाशक उमेश उपमाले संयुक्त रूपमा लोकार्पण गरेका थिए।
उपमा प्रकाशनले प्रकाशित गरेको यो कविता सङ्ग्रह इतिहासको बाडुलीमा कविता मात्र छैनन्, तर पुस्तकका अन्तिम पृष्ठतिर कवि भण्डारीले इतिहास र विचार पनि राखेका छन्।
उनले आफ्नो कविता सङ्ग्रहलाई बासभूमिको अन्तर्कथा बताएका छन्। ‘हाम्रो बासभूमिको सङ्घर्षभित्र के के कुराहरू छन् त भनेर मैले निजी विचार लेखेका कुराहरू इतिहासका बाडुलीमा छन्’, उनले कार्यक्रममा आफ्नो कुरा राख्दै भने, ‘मेरो यो सङ्ग्रह इतिहास होइन, तर हामीले इतिहास पनि पढ़्नुपर्छ भनेर जानकारी दिने सङ्केत मात्र गरेको हुँ।’
कविता-समीक्षक सुधीर छेत्रीले राजेन्द्र भण्डारीले बासभूमिको खोजी, त्यसप्रतिको सङ्घर्षलाई कविताको रूप दिएको बताएका छन्। उनले आज भण्डारीको कवितामाथि टिप्पणी राखेका थिए।
त्यस्तै टीबी छेत्रीले राजेन्द्र भण्डारीको कविता लेखनमाथि सिक्किमेली पाठकहरूको धारणा र कवि टीका भाइले इतिहासको बाडुलीभित्र समेटिएका इतिहास र विचारमाथि आफ्नो विचार राखेका थिए।
कार्यक्रममा मनप्रसाद सुब्बा, ज्ञानेन्द्र यक्सो र बासुदेव पुलामीले कविता वाचन गरेका थिए। यसअवसरमा कालेबुङ, दार्जिलिङ, खरसाङ, सिलगढ़ी, डुवर्स र सिक्किमका साहित्यकारहरूको उपस्थिति थियो।
उल्लेखनीय छ, सरल र आकर्षक भाषाशैलीमा अत्यन्त गम्भीर र प्रभावशाली कविता लेख्ने राजेन्द्र भण्डारी भारतेली नेपाली साहित्यका शीर्षस्थ कवि हुन्। उनका यसअगावै ‘हिउँदा यी चिसा रातका पर्दाहरूमा’, ‘क्षर अक्षर’, शब्दहरूको पुनर्वास प्रकाशित छन्।