कालेबुङ, 18 जूनः निर्माणाधीन सेवक-रम्फू रेल लाइनमा दुर्घटना हुँदा दुई मजदुरको मृत्यु हुनका साथै पाँच अन्य घाइते भएको जानकारी पाइएको छ।
हिजो राति करिब 10.30 बजे मल्ली र तारखोला बिचमा रहेको भालुखोलामा निर्माणाधीन टनल-10 -निर्माणको काम चलिरहेको समयमा यो दुर्घटना भएको रेल परियोजना निर्माण कम्पनी इर्कोनका महाप्रबन्धक टीटी भोटियाले जानकारी गराएका छन्।
उनका अनुसार घटनापछि तत्कालै सातजना मजदुरलाई उद्धार गरी कालेबुङ जिल्ला अस्पतालमा उपचारका लागि लैजाँदै गर्दा बाटैमा दुईजनाको मृत्यु भएको हो।
भोटियाका अनुसार गम्भीर घाइते भएका दुईजना मजदुरलाई कालेबुङ जिल्ला अस्पतालबाट सिलगढ़ी रेफर गरिएको छ भने घाइते भएका अन्य तीनजनाको उपचार कालेबुङ जिल्ला अस्पतालमा चलिरहेको छ।
अर्कोतिर, कालेबुङकी जिल्लाशासक आर. विमलाका अनुसार मृतकद्वयको नाम साल्खु मुर्मु र नरेश सवन रहेका छन्, उनीहरू दुवै झारखण्डनिवासी हुन्।
यसैगरी घाइतेहरूमा सुफल हेम्ब्रेम, सुकेश्वर सिंह, ठाकुर दास र अशोक सिंह (सबै झारखण्डनिवासी) तथा बिहारनिवासी कुन्दन सिंह रहेका छन्।