दार्जीलिङ, १८ जुलाई : बिहीवार सांसद राजु विष्टले सदनमा पर्जापट्टाको मुद्दा उठाए। सदनमा विष्टले आफ्नो क्षेत्रका करिब ८० प्रतिशत मानिसहरूको आफ्नो जमिनको पर्जापट्टा नरहेको बताए। साथै यी मानिसहरूले आफ्नो जमिनको पर्जापट्टा पाउनुपर्ने बताउँदै यसका लागि चाँड़ोभन्दा चाँड़ो कार्य हुनुपर्ने माग गरे। ताकि उनीहरू लाभान्वित बन्न सकुन्।
आफ्नो संक्षिप्त सम्बोधनमा उनले भने, ‘‘मेरो सम्पूर्ण क्षेत्रमा गोर्खा आदिवासी, राजवंशी, कोचे-मेचे र टोटो अधिक सङ्ख्यामा छन्। करिब ८० प्रतिशत मानिसहरूसँग आफ्नो जमिनको पर्जापट्टा अहिलेसम्म छैन।’’
उनले थपे, ‘‘अङ्ग्रेजले धेरै चलाखीपूर्ण तरिकाले यी मानिसहरूलाई आफ्नो अधिकारको जमिनबाट टाढ़ा राख्यो। अङ्ग्रेजले उनीहरूमाथि जुन अन्याय-अत्याचार गऱ्यो, अहिलेको बङ्गाल सरकारले त्यस्तै कार्य गरिरहेको छ। उनीहरूमध्ये धेरजसो चियाकमानमा बस्छन्। अन्य वनबस्तीमा बस्छन् र केही डीआई फन्ड जमिनमा बस्छन्।’’ उनले अङ्ग्रेजले लगाएको डिस्ट्रिक्ट इम्प्रुभमेन्ट फन्ड नै बङ्गालको तृणमूल सरकारले लगाएर अन्याय अत्याचार गरिरहेको बताए।
विष्टले आफू दार्जीलिङका प्रतिनिधि रहेकोले एक मिनट ज्यादा बोल्नु दिनुपर्ने माग गरेका छन्। ‘‘बङ्गालमा लोकतन्त्र छैन। त्यसैले सबै कुराका लागि हामी तपाईंसम्म आउनुपर्छ’’, तृणमूल सरकारमाथि कटाक्ष गर्दै शुरुमै उनले भनेका थिए।