निशिथ प्रमाणिकको नागरिकतामाथि उठ्यो प्रश्न, कङ्ग्रेस सांसदले लेखे प्रधानमन्त्रीलाई पत्र

0
975

कोलकाता, १८ जुलाईः केही दिन अघि केन्द्रीय गृह राज्य मन्त्री बनेका निशिथ प्रमाणिकको नागरिकतालाई लिएर प्रश्न उठेको छ।

कङ्ग्रेसका राज्यसभा सांसद रिपुन बोराको आरोपका अनुसार प्रमाणिक बङ्ग्लादेशका नागरिक हुन्।

साथै प्रमाणिकको नागरिकताबारे जाँच गर्न अनुरोध गर्दै यी कङ्ग्रेस सांसदले प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र लेखेका छन्।

पत्रमा उनले यो गम्भीर विषय रहेकाले जाँच हुनुपर्ने पनि आग्रह गरेका छन्।

राज्यसभा सांसद रिपुन बोराले प्रधानमन्त्रीलाई पत्र लेखेपछि केन्द्रीय गृहमन्त्री निशिथ प्रमाणिकको नागरिकतालाई लिएर राजनीति तातिएको छ।

एकातिर तृणमूल कङ्ग्रेसले पनि यी कङ्ग्रेसको सांसदका कुरालाई समर्थन गरेको छ भने अर्कोतिर भाजपाले यदि कङ्ग्रेस सांसद र तृणमूल कङ्ग्रेसका नेताहरू निशिथ प्रमाणिक बङ्ग्लादेशी नागरिक रहेका कुनै प्रमाण भए, देखाउन भनेको छ।

भाजपाका अनुसार यस्ता बिनातथ्य र आधारको आरोपको कुनै अर्थ छैन।

बङ्गालका दुई मन्त्री ब्रात्य बसु र इन्द्रनील सेनले पनि निशिथ प्रमाणिकको नागरिकतालाई लिएर प्रश्न उठाएका छन्।

“यदि कोही विदेशी नागरिक मन्त्री बनेको खण्डमा भारतको सुरक्षा बाधित हुनसक्छ”, प्रम मोदीलाई राज्यसभा सांसद रिपुन बोराले लेखेका पत्र पोस्ट गर्दै ब्रात्य बसुले भनेका छन्।

त्यस्तै इन्द्रनील सेनले भनेका छन्, “निशिथ प्रमाणिकविरुद्ध धेरै गम्भीर आपराधिक मामिला लम्बित छन्।”

तृणमूल कङ्ग्रेसका यी दुई मन्त्रीले लगाएको आरोपको प्रमाण दिनुपर्ने भाजपाको भनाइ छ।

भाजपाका प्रवक्ता शमिक भट्टाचार्यले भनेका छन्, “राज्यका दुई जिम्मेवार मन्त्रीले आफ्नो बयानलाई सही ठहऱ्याउने प्रमाण दिनुपर्नेछ। यो भाजपालाई बदनाम गर्ने कोशिश हो।”

उल्लेखनीय छ, असम कङ्ग्रेसका नेता रिपुनले प्रम मोदीलाई लेखेका पत्रमा निशिथ बङ्ग्लादेशका नागरिक भएको दावी गरिएको छ। उनको जन्मस्थान पलाशबाड़ीको हरिनाथपुर बताइएको छ।

यी कङ्ग्रेस सांसदको दावीका अनुसार कम्प्यूटर कोर्स गर्नका लागि बङ्ग्लादेशबाट पश्चिम बङ्गाल आएका उनी कोचबिहारमा बस्न थाले। त्यसपछि उनी पहिला तृणमूल कङ्ग्रेस र पछि भाजपामा सामेल भए। भाजपाको टिकटमा प्रमाणिक सांसद निर्वाचित भए।

यति मात्र होइन, कोचबिहारनिवासी रहेका दावी गर्दै निशिथ प्रमाणिकको दस्तावेज पनि कीर्ते रहेको कङ्ग्रेसका राज्यसभा सांसद रिपुन बोराको आरोप छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here