सिक्किमका आईआरबी जवानले दिल्लीमा गरे आफ्ना तीन सहकर्मीको हत्या

0
1015
साङ्केतिक तस्विर (साभार-इन्टरनेट)

गान्तोक, १८ जुलाईः दिल्लीमा कार्यरत सिक्किमका एक आईआरबी जवानले आफ्नै तीनजना सहकर्मीलाई गोली हानेर हत्या गरेका छन् ।

यो घटना आज दिल्लीको हैदरपुर पानी प्रसोधन केन्द्रमा भएको हो, जहाँ उनीहरू तैनाथ थिए । जानकारीका अनुसार आईआरबी जवान लान्स नायक प्रवीण राईले आफ्ना तीन सहकर्मी लान्स नायक पिन्छो नामग्याल भोटिया, कन्स्टेबल इन्द्रलाल छेत्री र कन्स्टेबल धनहाङ सुब्बालाई गोली प्रहार गरी हत्या गरेका हुन् ।

आरोपित प्रवीण राईले दिल्ली पुलिससमक्ष आत्मसमर्पण गरेका छन् भने पुलिसले यस घटनाको अनुसन्धान शुरू गरेको छ ।

लान्स नायक प्रवीण राईले आफ्ना तीन सहकर्मीलाई गोली हानेर हत्या गर्नुका कारण भने खुलिएको छैन ।

अर्कोतर्फ, डीआईजी रेञ्ज (गान्तोक) टाशी वाङ्गेलले एक पत्रकार सम्मेलन डाकेर जानकारी गराएअनुसार  हैदरपुर पानी प्रसोधन केन्द्रमा पाँचजना आईआरबी जवान तैनाथ थिए । एकजना जवान केही टाढा भएका कारण उनी गोली लाग्नबाट बचे ।

यसैबिच, सिक्किमका मुख्यमन्त्री पीएस गोलेले यस घटनाले आफू स्तब्ध अत्यन्त दुःखित बनेका बताएका छन् भने ज्यान गुमाएका जवानहरूका आत्माशान्तिका लागि प्रार्थना गर्नका साथै शोकाकुल परिवारप्रति समवेदना प्रकट गरेका छन् ।

मुख्यमन्त्रीले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत लेखेका छन्, ‘दिल्लीमा कार्यरत भारतीय आरक्षित बाहिनी (आईआरबी)  सिक्किमका तीनजना जवान- लायन्स  नायक पिन्छो नामग्याल भोटिया, कन्स्टेबल इन्द्रलाल क्षेत्री र कन्स्टेबल धनहाङ सुब्बालाई आफ्नै दलभित्रका सदस्य, लायन्स नायक प्रवीण राई ‘बी’-ले हैदरपुर पानी प्रशोधन केन्द्र, रोहिणीमा गोली हानी हत्या गरेको खबरले म स्तब्ध अनि अत्यन्तै दुःखी बनेको छु । अभियुक्त प्रवीण राई ‘बी’-ले  कानूनसमक्ष आत्मसमर्पण गरिसकेको छ र हाल प्रहरी हिरासतमा छ । म आन्तरिक हृदयबाट दिवङ्गतहरूका आत्माको चिरशान्तिका लागि प्रार्थना गर्दछु साथै शोक सन्तप्त परिवार तथा आफन्तजनमा हार्दिक समवेदना प्रकट गर्दछु ।’

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here