गौतम देवले दार्जीलिङ पहाड़ र गोर्खाको इतिहास पढ़ुन् : विष्ट

0
1520
राजु विष्ट (फाइल फोटो)।

खरसाङ, 18 सेप्टेम्बर : राज्यका पर्यटन मन्त्री एवं तृणमूल कङ्ग्रेस नेता गौतम देवले  मङ्गलवार मिरिकमा  एनआरसीलाई लिएर दार्जीलिङ पहाड़का गोर्खाहरूको सन्दर्भमा दिएको बयानलाई दार्जीलिङ सांसद राजु विष्टले तीखो शब्दमा निन्दा गर्दै दार्जीलिङ पहाड़ र गोर्खाहरूको इतिहास पढ़्ने सुझाउ दिएका छन्। विष्टका अनुसार गौतम देव र तृणमूल कङ्ग्रेस सरकारले दार्जीलिङ पहाड़वासी कस्तो दृष्टिले हेर्छन् भन्ने कुरा उक्त बयानले स्पष्ट भएको छ। ‘दार्जीलिङ पहाड़, तराई अनि डुवर्सका मूल निवासी गोर्खा, राजवंशी, आदिवासी, कोचे, मोचे, राभा टोटो र बङ्गाली हुन् भन्ने कुरासँग गौतम देव एकदमै अनभिज्ञ छन्’, सांसदले भनेका छन्, ‘यो क्षेत्रको इतिहास र यहाँका गोर्खाहरूको इतिहास अविभाज्य छ। म मन्त्री गौतम देवले दिएको बयानको निन्दा गर्दछु।’

अर्कोतिर, उक्त बयानअवधि मन्त्री देवका छेउछाउमा बसिरहेका गोर्खाहरूलाई हेरेर आफू आश्चर्यचकित बनेको उनको भनाइ छ। ‘म गौतम देवलाई सोध्न चाहन्छु, के तपाईंका छेउछाउमा बसेका गोर्खाहरूले पनि एनआरसी लागू भएको खण्डमा दार्जीलिङ पहाड़ छोड़्न पर्नेछ? जीटीए र विकास बोर्डहरूलाई चलाउनका लागि असंवैधानिक तरिकाहरूले नियुक्त गर्नेहरूको भाग्य के हुनेछ’, विष्टले प्रश्न गरेका छन्।

तृणमूल कङ्ग्रेसले गोर्खाहरूलाई बाहिरबाट आएका नागरिकको रूपमा हेर्नेगरेको पनि उनले बताएका छन्। साथै देवको बयानलाई पहाड़का सबै राजनीतिक पार्टीले एकस्वरमा विरोध गर्नपर्नेछ।

‘एनआरसी भारतीय नागरिकहरूको सुरक्षाका लागि लागू गरिँदैछ’, विष्टले भनेका छन्, ‘रोहिङ्ग्या र बङ्ग्लादेशी अनुप्रवेशकारीहरूको सुरक्षा र अधिकारका लागि होइन।’ उनले दार्जीलिङका एक जनप्रतिनिधिको रूपमा आफू पश्चिम बङ्गालमा एनआरसीलाई कठोरतापूर्वक लागू गर्नुपर्ने पक्षमा रहेको र यसलाई स्वागत गर्ने बताएका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here